• १३ साउन २०८१, आइतबार

हेटौँडामा गठबन्धन र एमाले मुख्य प्रतिस्पर्धी

blog

राममणि दाहाल

हेटौँडा, वैशाख २४ गते । हेटौँडा उपमहानगरपालिकाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सत्तारूढ गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी (एमाले) योजनाबद्ध रूपमा चुनावी मैदानमा छन् । गठबन्धन र नेकपा (एमाले)ले प्रदेश राजधानीसमेत रहेको उपमहानगरपालिकाको जितलाई प्रतिष्ठा बनाइरहेका छन् । गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार, नेता र कार्यकर्ता कोण सभा, घरदैलो र व्यक्तिगत भेटघाटमा व्यस्त छन् ।

हेटौँडा उपमहानगरपालिकामा नेकपा (एमाले)को तीन दशक लामो विरासत छ । विरासतलाई भत्काउने चुनौती सत्ता गठबन्धनलाई र जोगाउने चुनौती एमालेमाथि रहेको छ । एमाले गढका रूपमा रहेको हेटौँडामा यसअघिका तीन पटकको स्थानीय तह निर्वाचनमध्ये दुई पटकको निर्वाचनमा गठबन्धनलाई पराजित गर्दै एमालेले जित हात पारेको थियो ।

२०४९ मा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन हेटौँडा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले) एक्लाएक्लै प्रतिस्पर्धामा थिए । सो निर्वाचनमा डोरमणि पौडेल प्रमुख र हरिबहादुर महत उपप्रमुख निर्वाचित भएका थिए । निर्वाचनमा नेपाली काँग्रेस मुख्य प्रतिद्वन्द्वी थियो । २०५४ मा तत्कालीन नगरपालिकामा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तथा २०७४ को निर्वाचनमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन बने पनि नेकपा (एमाले)का उम्मेदवारले नै प्रमुख र उपप्रमुख जितेका थिए ।

२०७४ को हेटौँडा उपनगरपालिकाको निर्वाचनमा प्रमुखमा नेकपा (एमाले)का महत र उपप्रमुखमा मीनाकुमारी लामा विजयी बन्नुभएको थियो । लामा हाल नेकपा (एकीकृत 

समाजवादी)मा हुनुहन्छ । गत स्थानीय तह निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका काँग्रेसका आनन्दराम पराजुलीसँग ६१५ मत अन्तरले महत विजयी हुनुभएको थियो । पराजुली झिनो मतान्तरले पराजित हुँदै गर्दा सात हजार ५०२ मत बदर भएकोमा अधिकांश नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नमा छाप लगाएको पाइएको थियो । 

यो पटक नेकपा (एमाले)बाट संविधान सभा सदस्य अनन्त पौडेल, सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का लामा र राप्रपाबाट दीपकबहादुर सिंहसहित १८ जना चुनावी मैदानमा हुनुहुन्छ । उपप्रमुखमा नौ जना उम्मेदवार छन् । राप्रपाले उपमहानगरमा प्रमुख र उपप्रमुखसहित पालिकाको १९ वटै वडामा उम्मेदवार बनाएको छ । 

नेकपा (एमाले)का उम्मेदवार पौडेल आफ्नो पार्टीले नगरमा विगतमा गरेका विकास निर्माणका काम र पार्टीले राष्ट्रियताका पक्षमा गरेका निर्णयहरू आफूहरूले जित्ने र विगतको विरासत जोगाउने आधार भएको जिकिर गर्नुहुन्छ ।

उता राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृह जिल्लामा कुनै पनि स्थानीय तहमा उम्मेदवार नउठाएर एमालेलाई समर्थन गर्ने निर्णयले पनि एमालेलाई जितका लागि राहत मिलेको छ । साथै एमालेको नेपाल परिवार दलसँगसमेत गठबन्धन रहेको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएकी लामा आफू उपप्रमुख हुँदा निष्पक्ष रूपमा निर्वाह गरेको भूमिका, काम र गठबन्धनमा आबद्ध दलहरूको जनाधार गठबन्धनका उम्मेदवारहरूले जित्ने आधार भएको बताउनुहुन्छ । 

प्रमुखमा लामालाई महिलाको मत बढी जाने भएकोले जित्ने अर्को आधार गठबन्धनले बनाएको छ । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले गठबन्धनको सभामा मत माग्दै हेटौँडा उपमहानगरले पहिलो पटक महिला नेतृत्व पाउने अवसर रहेको बताउनुले पनि यसलाई पुष्टि गर्छ ।

तर गठबन्धनका दलका उम्मेदवारलाई जाने मत धेरै बदर हुने, राप्रपा नेपालको समर्थन, गठबन्धनका दलभित्रको असन्तुष्टि, बलियो जनाधार, अनुशासित कार्यकतालगायतलाई आधार मान्दै एमाले जितप्रति ढुक्क देखिन्छ । 

सत्ता गठबन्धनले एमाले विभाजनको लाभ लिने आकलन गरिएको छ । तर, एमाले विभाजन हुँदा मकवानपुरका केही पुराना र प्रभावशाली नेताहरू एकीकृत समाजवादीमा लागे पनि कति जनमत छ भन्ने यकिन भएको छैन ।

गत स्थानीय तह निर्वाचनमा मतदाता शिक्षाको अभाव र गठबन्धनप्रति छिटपुट असन्तुष्टिका कारण अधिक मत बदर केही मत गठबन्धनभन्दा बाहिर गएका कारण पराजित भएको अनुमान छ । यो पटक सत्ता गठबन्धनले मतदाता शिक्षामा जोड दिँदै काँग्रेसमा उम्मेदवारी चयनमा देखिएको असन्तुष्टि व्यवस्थापनमा कसरत गर्नुपरेको छ । अघिल्लो निर्वाचनमा झिनो मतान्तरले प्रमुखमा पराजित भएका पराजुली नगरप्रमुखको दौडमा हुनुहुन्थ्यो । तर, गठबन्धनसँगै काँग्रेसको भागमा नपरेपछि काँग्रेसमा असन्तुष्टि देखिएको हो । उक्त असन्तुष्टिको लाभ लिनेमा कसरतमा नेकपा (एमाले) र राप्रपा दुवै छन् ।

गठबन्धनबाट उपप्रमुखका उम्मेदवार बनेका राजेश बानियाँ गठबन्धनमा रहेका दलहरूको जनाधारलाई सुरक्षित र व्यवस्थित गर्दै गएको भन्दै यो पटक जनमत आफूहरूको पक्षमा आउनेमा ढुक्क हुनुहुन्छ । वडाध्यक्षसमेत भएर काम गर्नुभएका बानियाँ विगतका वडा र नगरमा विकास निर्माणलगायत सामाजिक क्षेत्रमा गरेका कामहरू आफूहरूले जित्ने बलियो आधार भएको दाबी गर्नुहुन्छ । 

यस्तै राप्रपा नेपालको मत आफूतर्फ तान्न एमाले, सत्ता गठबन्धन र राप्रपा कसरतमा छन् । राप्रपाका सिंह नेकपा (एमाले) र गठबन्धनको मत आफूतर्फ तान्ने प्रयासमा हुनुहुन्छ । 

नेकपा (एमाले)बाट उम्मेदवार बन्ने दौडमा रहनुभएका महतले उम्मेदवारी नपाएपछि असन्तुष्ट बनेका र काँग्रेसको प्रमुखमा उम्मेदवार नभएको भन्दै सिंह आफूतर्फ मत पार्न लाग्नुभएको छ । तर, २०७० सालमा संविधान सभा सदस्यमा लडेर पराजित भएपछि पार्टी निर्माण संलग्न नभएका सिंहलाई उम्मेदवार बनाएको भन्दै राप्रपाभित्र असन्तुष्टि रहेको छ । सिंहको आगमनसँगै पार्टी निर्माणमा लाग्दै आएका मधु अधिकारी र नवराज विष्ट उम्मेदवार बन्नबाट वञ्चित भएपछि राप्रपाभित्र असन्तुष्टि चुलिएको छ ।  

अघिल्लो स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरमा ८३ हजार ५३७ मतदाता रहेको ७४.३७ अर्थात् ६२ हजार १७० मत खसेको थियो । यो पटकको निर्वाचनमा मतदाता सङ्ख्या एक लाख चार हजार ४७३ पुगेको छ । हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धन र एमालेमा उम्मेदवारहरूलाई परम्परागत जनाआधारलाई जोगाउँदै लोकप्रिय मत र २० हजार ९३६ नयाँ मतदातालाई कति आफूतर्फ आकर्षित सक्छन् त्यो नै विजयको महìवपूर्ण आधार बन्ने देखिन्छ ।