• ३० साउन २०८१, बुधबार

राज्यका सबै संरचनामा दलितको समान सहभागिता हुनुपर्ने माग

blog

माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका दलित अभियानीहरू । फाइल तस्बिर

काठमाडौँ, साउन ३० गते । विगत आठ दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका दलित अभियानीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरेका छन् । 

आज दिउँसो प्रदर्शनस्थल माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गर्नुभयो ।

सङ्घीय संसद् भवन नयाँबानेश्वर अगाडि निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई मङ्गलबार प्रहरीले पक्राउ गरी आज रिहा गरेको थियो । उहाँले आठ दिनदेखि हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गर्दै आउनुभएको छ । आफ्ना माग पूरा नभएसम्म प्रदर्शनी जारी राख्ने संयोजक सुनारले बताउनुभयो । पक्राउको विरोधमा राष्ट्रिय दलित आयोगलगायत दलित समुदायका सङ्घसंस्थाले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारी सुनारका जायज माग पूरा गर्नुपर्ने माग गर्दै आएका छन् । रासस