• १२ पुस २०८१, शुक्रबार

पत्रकारिताको पाठशाला

blog

नेपाली भाषामा नेपालबाटै प्रकाशित भएको पहिलो साहित्यिक पत्रिका सुधा सागरलाई आधार मान्दा नेपाली पत्रकारिताको इतिहास यतिखेर एघार दशक नाघिसकेको छ । वि.सं. १९५५ को साउनमा प्रकाशित यो पत्रिकाको तीन वर्षपछि अर्थात् १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको हो । गोरखापत्रले नेपालमा अखबारी पत्रकारिताको सुरुवात गराएर मुलुकमा पत्रकारिताको जगको ढुङ्गो बसालेको हो । त्यो जगबाट सुरु भएको इतिहासले आज बाह्र दशक पार गरेको छ । गोरखापत्रले आफ्नो उमेर १२० वर्ष पूरा गरिरहँदा नेपालमा पत्रकारिताको इतिहासले पनि यही उमेर पछ्याएको छ । यस हिसाबले हेर्दा हाम्रो देशमा पत्रकारिताको इतिहासलाई एक समृद्ध एवं सम्पन्न मान्नुपर्छ किनभने दक्षिण एसियाकै इतिहासलाई हेर्ने हो भने पनि यस क्षेत्रबाट प्रकाशित हुने सय वर्ष पुराना दसवटा दैनिक पत्रिकाभित्रै नेपालको गोरखापत्र पनि पर्छ । कुनै एउटा पत्रिका सय वर्षभन्दा बढी समयसम्म निरन्तर प्रकाशित हुनुलाई त्यस देशको पत्रकारिता अध्ययनको सम्पन्न पाठशालाका रूपमा नै लिन सकिन्छ । नेपाली पत्रकारिता क्षेत्रको यो एउटा सम्पन्न र सकारात्मक पाटो हो ।

गोरखापत्रलाई प्रायः ‘सरकारी पत्र’ भनिने एक प्रकारको पूर्वाग्रहबाट एकैछिन मुक्त भयौँ भने नेपाली भाषा, साहित्य र पत्रकारिताको एक शताब्दी पुरानो यो पत्रिकालाई नेपालकोे आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक एवं भाषिक विकासको एउटा जिउँदो इतिहास मान्न सकिन्छ । कुनै पनि देशको शिक्षा एवं जनताको चेतनास्तर र इतिहास खोज्दा हामी कम्तीमा पनि एक शताब्दीसम्म पर पुग्न सक्ने स्थिति दिन सक्ने माध्यमको विकल्पमा गोरखापत्र थियो र छ । जीवितै रहेर नेपालको इतिहास भन्न र देखाउन सक्ने एउटा माध्यम गोरखापत्रबाहेक अर्काे केही देखिँदैन । जस्तो कि यसले वि.सं. १९९० को भूकम्प आफैँले देखेर लेखेको छ अनि २००७ सालको क्रान्ति पनि । त्यसपछिका देशका अनेक परिवर्तन र समाजलाई यसले उतार्दै आएको छ । 

कोरोना महामारीले देशलाई लकडाउन गर्नेदेखि विश्वमा यसले ल्याइदिएको उथलपुथलका समाचारहरू ५० वर्षपछिका पाठकले गोरखापत्र पढ्दा त्यसको महìव के होला ? अहिले पो हरेक नागरिकका घर–घरमा मात्र होइन कि कोठाकोठामै क्यालेन्डर झुन्डिएका छन् तर त्यसबेला मानिस तिथिमिति पनि गोरखापत्रमै हेरेर थाहा पाउँथे नत्र ज्योतिषीको घरसम्मै पुग्नुपथ्र्याे भन्ने सुन्दा नै अहिले हामीलाई नै अचम्म लाग्न सक्छ । वसन्तपुरमा गोरखापत्र टाँसिएको ठाउँमा पुगेरै सरकारी सूचना नागरिकले लिन्थे भन्ने सुन्दा पनि अहिलेको मिडिया त के सोसियल मिडिया चलाउने पुस्तालाई अचम्म लाग्न सक्छ । ती इतिहास पनि गोरखापत्रका पानामा सुरक्षित रूपमा लेखिएका छन् । 

गोरखापत्र नेपाली पत्रकारिता र नेपाली भाषाको एउटा साझा पाठशाला हो । नेपालका पत्रकारले यसैमार्फत पत्रकारिता गर्न सिके । पत्रकारिता गर्न चाहनेका लागि अर्काे कार्यस्थल कहाँ उपलब्ध थियो र ? त्यसैले नेपाली पत्रकारितालाई यहाँसम्म ल्याई पु¥याउने एउटा पाको अभिभावकको दायित्व गोरखापत्रले नै पूरा गरेको छ । आजभन्दा एक सय दस वर्षअघि अर्थात् वि.सं. १९५८ वैशाख २४ गते नेपाली समाचारपत्रको पहिलो बिरुवाका रूपमा उम्रिएर बितेको शताब्दीमा नेपाली भाषा, साहित्य र पत्रकारितालाई धनी बनाउने काम गोरखापत्रले नै गर्दै आएको छ । नेपाली जनतालाई सुसूचित गर्ने र शैक्षिक चेतना भर्ने काम यो अखबारले गरेको छ । यसको प्रकाशनको उद्देश्यबाट पनि यो कुरा प्रस्ट हुन्छ । सुधारवादी राणा प्रधानमन्त्री देवशमशेर जसले ठाउँ ठाउँमा बाकस राखेर जनताको सुझाव सङ्कलन गर्ने र संसद्को स्थापना नै गर्नेसम्मको पहल सुरु गरेका थिए । तिनैले गोरखापत्रको प्रकाशन पनि जनचेतनाको साधनका रूपमा गरेका हुन् । आफ्नो यो दायित्वलाई गोरखापत्रले निर्वाह गरेको थियो भन्ने कुराको पुष्टि जनता चेतनशील भए भन्ने डरले राणा प्रधानमन्त्री चन्द्रशमशेरले गोरखापत्र प्रकाशनलाई पटक पटक बन्द गराउन खोजेको घटनाबाट पनि पुष्टि हुन्छ । 

सरकारले आफ्नो पक्षमा प्रकाशन गरेर दुरुपयोग गर्न यसको प्रकाशन सुरु भएको होइन भन्ने यथार्थ देवशमशेरले गोरखापत्रका प्रथम सम्पादक नरदेवलाई दिएको सनदबाट पनि स्पष्ट हुन्छ । वि.सं. २०५८ वैशाख ११ गते नरदेव पाण्डेलाई श्री ३ देवशमशेरले दिएको सनदमा ‘श्री ३ हरूको तारिफ नछाप्नु तर स्व. श्री ३ को तारिफ छाप्न हुन्छ’ भनिएको छ । सनद गोरखापत्रमा छाप्न हुने र नहुने भनी देवशमशेरले गोरखापत्रका सम्पादक नरदेव पाण्डेलाई लेखेर दिएको आदेश हो । यसरी उनले त्यतिबेलै श्री ३ का तारिफ नछाप्नु भनेको सरकारले आफ्नो पक्षका समाचार अर्थात् आफ्नै प्रशंसाका समाचार नछाप्नू भनेको हो । एकातिर देवशमशेरजस्ता सुधारवादी राणाले जनचेतनाका लागि गोरखापत्रको प्रकाशन सुरु गर्ने र अर्कातिर हाम्रा तारिफका कुरा नछाप्नू भनेर स्वयं प्रधानमन्त्रीले नै लेखेर दिनुले गोरखापत्रले जन्मिँदैबाट लिएको उद्देश्य के थियो भनेर हेर्न सकिन्छ तर पछि कुनै समय र कालमा त्यसो किन हुन सकेन त भन्ने प्रश्न किन उठ्छ भने यसको प्रयोग आफ्ना स्वार्थमा पनि गरिएको पाइन्छ ।

यो गोरखापत्रको गल्ती होइन, यसको सञ्चालनका पात्रहरूको हो ।नेपालको शिक्षा र चेतनास्तरको अध्ययन गर्दा नेपालजस्तो देशका सञ्चारमाध्यमको ठूलो महìव रहन्छ । किनभने पत्रकारिताको काम नागरिकलाई सूचना मात्र होइन, शिक्षा दिनु पनि हो । शिक्षा र चेतनाका वाहक हुन्– कुनै पनि देशका सञ्चारमाध्यम । बितेको शतकमा यो दायित्वको निर्वाह गोरखापत्रले नै गरेको हो । यो ऐतिहासिक योगदानलाई अहिले एउटा सरकारी पत्रिकाका रूपमा साँघुराउनु राम्रो होइन । त्यसैले अहिले सरकारले सञ्चारमाध्यम सञ्चालन गर्नु हुन्छ कि हुँदैन भनेर बहस चलाउनु भनेको सरकारले स्कुल खोल्नु हुन्छ कि हुँदैन भन्नुजस्तै हो । शिक्षा, स्वास्थ्य, सूचनालगायतका अरू कैयौँ क्षेत्रमा अझै धेरै सरकारी दायित्व बाँकी छन् । ती दायित्वको सम्बोधनको जिम्मेवारी पनि गोरखापत्र, रेडियो नेपालकै काँधमा पर्ने निश्चितै छ । आजभन्दा १२० वर्षअघि आफ्नो यात्रा थालेको गोरखापत्रले नेपाली समाजलाई एकआपसमा बाँध्ने र विदेशी समुदायसँगको सम्पर्क सूत्रको समेत काम गर्ने दायित्वलाई गोरखापत्रले कुशलतापूर्वक निर्वाह गरिआएको छ ।

हिजोआज मानिसहरू के तर्क गर्छन् भने अहिले यतिका धेरै सञ्चारमाध्यम भइसके, अब गोरखापत्र या राससजस्ता सरकार नियन्त्रित मिडियाको के आवश्यकता छ ? यो तर्क ठीक होइन । किनभने पहिलो कुरा त शिक्षा दिनुजत्तिकै सूचना दिनु पनि सरकारको दायित्वभित्रको कुरा हो । अर्काे कुरा धेरै मिडिया हुँदा धेरै थरि सूचना र विचार आउने गर्छन् । एउटै विषयका पनि धेरै थरि सूचना र विचार बजारमा छरिन्छन् । अनि त्यसमा सही के हो र राज्यका लागि आवश्यक के हो भन्नेमा नागरिक अन्योलमा रहन सक्छन् । यस्तो अभावमा उपस्थिति दर्शाउनु गोरखापत्रजस्ता जिम्मेवार मिडियाको पनि दायित्व हो । मानिसलाई कुनै कुरामा द्विविधा भयो भने देशको पाको अखबार हेरेर ढुक्क हुन सकून् । त्यस्तै सूचना प्राप्तिमा हुन सक्ने नागरिक अभावमा उपस्थिति गोरखापत्रले दर्शाउन सकोस् । त्यसैले मुलुकको पहिलो र पाको पाठशाला गोरखापत्र नेपाली पत्रकारिताको मानक बनेर रहन सकोस्, शुभकामना ।   





Author

एकराज पाठक