जयमान बुढामगर
रुकुमपूर्व, असार ३ गते । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–११ स्थित दुई विद्यालयका विद्यार्थीले छाप्रोमा पठनपाठन गर्दै आएका छन् । पुथाउत्तरगङ्गा–११ स्थित दशरथ आधारभूत विद्यालय तुपा र सोही वडाकै जनजागृति आधारभूत विद्यालय दमचनका विद्यार्थी भवन अभावका कारणले हिउँद बर्खाभरि छाप्रोमा बसेर अध्ययन गर्दै आएका छन् । आधारभूत विद्यालय दमचनका कक्षा ३ र आधारभूत विद्यालय तुपाका कक्षा ५ का विद्यार्थीलाई भवन अपुग भएपछि छाप्रोमै राखेर पठनपाठन गराइराखेको विद्यालयले जनाएको छ ।
यी दुई विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म पठनपाठन हुने गरेको छ । आधारभूत विद्यालय दमचन २०६८ र आधारभूत विद्यालय तुपा २०५० सालमा स्थापना भएका हुन् । आधारभूत विद्यालय तुपाका प्रधानाध्यापक जिता दर्लामीले भवन अभावका कारण छाप्रो निर्माण गरी पढाइ भइरहेको बताउनुभयो । प्रअ दर्लामीले भन्नुभयो, “हिउँदमा हिउँ पर्छ, बर्खामा झरी परिरहन्छ पानी चुहिने, चिसो हुने समस्या त सामान्य जस्तै भइसकेका छन् । पानी चुहिँदा वरपर सरेर भए पनि पढाइ गर्नै पर्छ ।
भवन निर्माणका लागि नजिकको सरकार गाउँपालिकालाई निरन्तर माग राखेको भए पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । त्यसै गरी आधारभूत विद्यालय दमचनका प्रधानाध्यापक चम्फा घर्तीले पनि धेरै पटक भवन निर्माणका लागि माग राखेको तर कहीँबाट पनि सुनुवाइ नभएको दुखेसो पोख्नुभयो । गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर १० तक भन्ने ठाउँको नजिकमा यी दुई विद्यालय रहेका छन् । प्रअ घर्तीले भन्नुभयो, “छाप्रोले न घाम छेक्छ न पानी नै । भौतिक संरचना नै व्यवस्थित नहुँदा शैक्षिक सुधारमा चुनौती भइरहेको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिकाका शिक्षा शाखाका प्रमुख रामप्रसाद खड्काले भवन अपुग रहेका विद्यालयमा भवन निर्माणका लागि प्राथमिकतामा रहेको बताउनुभयो । खड्काले यस गाउँपालिका भित्रका अधिकांश विद्यालयमा अझै पूर्ण रूपले भवन निर्माणको काम पूरा हुन नसकेको बताउनुभयो । भवन अभाव रहेका विद्यालयमा यस आर्थिक वर्षमा भवन निर्माणका लागि पहिलो प्राथमिकता राखिएको खड्काको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले पनि क्रमिक रूपमा भवन निर्माणको काम भइरहेको दाबी गर्नुभयो । अध्यक्ष घर्तीमगरले गाउँपालिकासँग कम बजेट हुने र प्रदेश र सङ्घीय सरकारसँग माग राख्दा पनि सीमित मात्रको योजना आउने गरेकाले आवश्यकता अनुसारका भवन निर्माण हुन नसकेको बताउनुभयो । जीर्ण भवन र भवन अपुग रहेका विद्यालयमा भवन निर्माणका लागि पहिलो प्राथमिकतामा नै राखिएको उहाँको भनाइ छ ।