बबई समाचारदाता
बबई (बर्दिया), असार ३ गते । गुलरिया नगरपालिकाले १२ वटा वडामा स्वास्थ्य सेवा दिनका लागि सञ्चालन भएका आधारभूत स्वास्थ्य केन्द्रमा सहज यातायातका लागि सडक निर्माण सम्पन्न गरेको छ । नगरपालिका अन्तर्गत रहेका वडा नं. ४ को आधारभूत स्वास्थ्य केन्द्र तुलसीपुर र वडा नं. १२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र दुग्धामा यस वर्ष सडक कालोपत्रे गरिएपछि नगरपालिका अन्तर्गत रहेका १२ वटा वडाका आधारभूत स्वास्थ्य केन्द्र जोड्ने सडक कालोपत्रे गर्न नगरपालिका सफल भएको हो ।
गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले गुलरिया नगरपालिका अन्तर्गत रहेका १२ वटा आधारभूत स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सबै खालका बिरामीलाई आधारभूत स्वास्थ्य केन्द्रसम्म पुग्न सहज आवागमनका लागि कालोपत्रे गरेको बताउनुभयो । यसअघिका आर्थिक वर्षमा नौ वटा आधारभूत स्वास्थ्य केन्द्रमा सडक कालोपत्रे भइसकेको भए पनि वडा नं. ४ र ११ मा रहेका स्वास्थ्य केन्द्रमा यस आर्थिक वर्षमा सडक कालोपत्रे गरिएपछि गुलरिया नगरपालिकाको सबै स्वास्थ्य केन्द्रमा कालोपत्रे सडकले जोड्न सफल भएको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताउनुभयो ।
गुलरिया नगरपालिकामा रहेका सबै आधारभूत स्वास्थ्य केन्द्रमा सडक निर्माण भएपछि स्थानीयलाई स्वास्थ्य केन्द्र पुगेर सेवा लिन सहज भएको गुलरिया नगरपालिका–८, आशापुरका स्थानीय बासिन्दा जीवन लोधले बताउनुभयो ।
गुलरिया नगरपालिकाले गत वर्ष नै वडा नं. १ को अधारभूत स्वास्थ्य केन्द्र, वडा नं. २ को पण्डितपुर आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ३ को आधारभूत स्वास्थ्य केन्द्र कट्टी, वडा नं. ५ को आधारभूत स्वास्थ्य केन्द्र बालापुर, वडा नं. ६ को आधारभूत स्वास्थ्य केन्द्र पुरानो गाविस रोड, वडा नं. ७ को आधारभूत स्वास्थ्य केन्द्र चौगुर्जी, वडा नं. ८ को आशापुर, वडा नं.९ को आधारभूत स्वास्थ्य केन्द्र डब्बा, वडा नं. १० को आधारभूत स्वास्थ्य केन्द्र मथुरा र वडा नं. १२ को आधारभूत स्वास्थ्य केन्द्रसम्म यसअघि नै कालोपत्रे सडक पुगिसकेको छ । चितुवाको आतङ्कका कारण त्रसित बनेका बर्दियावासी चितुवा नियन्त्रणमा आएपछि हर्षित भएका छन् । चितुवा नियन्त्रणमा आएपछि राहत महसुस भएको गुलरिया नगरपालिका–५, बालापुरका मूल बडघर कालिप्रसाद थारूले बताउनुभयो ।
पछिल्लो समय बर्दियाको सदरमुकाम गुलरियामा चितुवाको बिगबिगी बढ्दै गएको छ । गत वैशाख १५ गते गुलरिया नगरपालिका–५ मा रहेको सूर्य सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा नौ वर्षीय मेलिना खड्काको मृत्यु भएको थियो । डिभिजन वन कार्यालय बर्दियाका अनुसार गत मङ्सिरयता चितुवाको आक्रमणबाट चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।