• ३ असार २०८२, मङ्गलबार

पाल्पाको बाकामलाङमा प्रहरी चौकी स्थापना

blog

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी प्रहरी पोष्ट उद्घाटन गर्नुहुँदै । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), असार ३ गते ।
पाल्पाको निस्दी गाउँपालिका–१, बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा र नवलपुर जिल्लाको सिमाना भोटाहामा प्रहरी पोष्ट स्थापना गरिएको हो ।

निस्दी १ र २ का जनतालाई शान्ति सुरक्षा प्रदान, सवारी दुर्घटना न्यूनीकरण, कालीगण्डकी करिडोर भएर हुन सक्ने चोरी निकासी तथा अवैध गतिविधि नियन्त्रण गर्नका लागि प्रहरी चौकी स्थापना भएको हो । प्रहरी चौकीको उट्घाटन गर्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले शान्ति सुरक्षा कायमसँगै कालीगण्डकी करिडोर भएर हुन सक्ने चोरी निकासी एवम् अवैध गतिविधि नियन्त्रण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरी चौकी स्थापना गरिएको बताउनुभयो ।

साथै दुई जिल्लाको सिमा क्षेत्र भएर हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि सहज हुने स्पष्ट पार्नुभयो । प्रहरी चौकी समुदायको हितका लागि स्थापना गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चौकीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीले निस्दी गाउँपालिका–१ र २ का जनतालाई सेवा दिने बताउनुभयो । प्रहरी प्रधान कार्यालयले गत वैशाख १९ गते स्वीकृत प्रदान गरेसँगै अस्थायी पोष्ट स्थापनाका लागि आवश्यक तयारी गरेर चौकी स्थापना गरिएको बताउनुभयो । अपराधमुक्त समाज सबैको चाहाना भएको बताउँदै शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरी लागि रहेको जानकारी दिनुभयो ।

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले प्रहरी चौकी स्थापनासँगै वर्षौंदेखिको स्थानीयको सपना पूरा भएको बताउनुभयो । स्थानीयको माग, प्रशासनको पहलसँगै पालिकाको समन्वयले सार्थकता पाएको बताउनुभयो । उहाँले स्थापना गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्दै पालिकाले चौकी सञ्चालनका लागि आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

निस्दी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले लुम्बिनी प्रदेशको सुदूर पूर्वको निस्दीको बाकामलाङमा चौकी स्थापनासँगै नदीजन्य सामग्रीको चोरी निकासी, विकास निर्माण र शान्ति सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । निस्दी गाउँपालिकाले भाडाको घरमा सञ्चालन रहेको चौकीका लागि आवश्यक सहयोग गरेको छ । साथै गाउँपालिकाले एक वटा मोटरसाइकल समेत उपलब्ध गराउने जनाएको छ । पाल्पामा हाल १९ वटा स्थायी प्रहरी चौकी र ६ वटा अस्थायी प्रहरी चौकी छन् ।