काठमाडौँ, जेठ १८ गते। क्यान्सर विजेताले क्यान्सर लाग्दैमा मृत्यु नहने बताएका छन्। क्यान्सर जित्ने समूहले आयोजना गरेको ३८ औँ राष्ट्रिय क्यान्सर सर्भाइभर्स दिवसको अवसरमा सहभागी क्यान्सर विजेताले क्यान्सर लाग्दैमा मृत्यु नहुने बताएका हुन्।
कार्यक्रममा वरिष्ठ गायक क्यान्सर विजेता मिरा राणाले क्यान्सर हुँदैमा आतिन नहुने बताउनुभयो। उहाँले आत्मविश्वास बलियो बनाएर बाहिर काम गर्न निस्कनु पर्नेमा जोड दिनुभयो।
उहाँ भन्नुहुन्छ,“रोग लाग्दैमा डराउनुपर्दैन। बाहिर निस्केर काम गर्ने, साथीभाइसँग घुलमिल भएर काम गर्दा आत्मविश्वास बढ्दै जान्छ। त्यसका लागि घरको माहोल पनि राम्रो हुनुपर्छ।”
आफूलाई क्यान्सर भएको पाँच वर्षभएको बताउँदै आत्मविश्वास र हौसलाले गर्दा क्यान्सर जित्न सहज भएको उहाँको जिकिर थियो। कार्यक्रममा सहभागी क्यान्सर विजेता धुव्रप्रसाद गुरागाईले क्यान्सर रोगले कसैको मृत्यु नहुने बताउनुभयो।
उहाँ भन्नुहुन्छ,“म यो रोगलाई हौसला र आत्मविश्वास जित्नसक्छु भन्ने भावना हुने हो भने क्यान्सर रोग लाग्दैमा कसैको मृत्यु हुँदैन।”
क्यान्सर रोग पत्ता लागेको समयमा चिकित्सकले माया मारे पनि आत्मविश्वास र हौसलाले क्यान्सर जितेको १६ वर्ष भइसकेको बताउनुभयो। हाल उहाँ साइकल यात्राको माध्यमबाट क्यान्सर रोगको बारेमा जनचेतना फैलाउने कार्यमा सक्रिय हुनुहुन्छ।
उहाँ भन्नुहुन्छ, “रोगले मान्छे मर्ने भए म १६ वर्ष अगाडि नै मरिसक्थे होला। रोगले मान्छे मर्ने होइन रहेछ। रोगलागेपछि उत्पन्न हुने डर, आत्मविश्वास र हौसलाको कमीले मृत्यु हुँदोरहेछ।”
कार्यक्रममा क्यान्सर प्रभावितकी आमा गीता रानाभाटले आफ्नो बच्चा सात वर्षको हुँदा घाँटीको क्यान्सर भएको स्मरण गर्दै चिकित्सकले धेरै दिन बाच्दैन भनेर घर लैजान आग्रह गरेको सुनाउनुभयो। उहाँले छोरीको हौसला र आत्मविश्वासले गर्दा १५ वर्षसम्म पनि छोरीलाई केही नभएको सुनाउनुभयो। उहाँले यो आवधिमा छोरीका घाँटीबाट मुख र पाठेघरमा क्यान्सर देखिएको बताउनुभयो।
रानाभाटका अनुसार उहाँकी छोरी हाल इन्जिनियरिङ अन्तिम सेमिष्टरमा अध्ययनरत हुनुहुन्छ। उहाँ भन्नुहन्छ,“छोरीलाई क्यान्सर भएको १५ वर्ष भयो। त्यो बेला चिकित्सकले बचाउन नसकिने भन्दै हार मानेर घर लैजान आग्रह गरेका थिए। तर, छोरी र मैले हार मानेनौँ। अहिले छोरीको क्यान्सर शरीरका विभिन्न भागमा फैलिएको छ तर, आत्मविश्वासले गर्दा उनी क्यान्सरसँग लड्दै अध्ययनलाई अगाडि बढाएकी छन्।”
क्यान्सर रोग लाग्दैमा मानिसको मृत्यु नहुने बताउँदै रोगलाई पराजित गर्न आत्मबल र आत्मविश्वास आवश्यक रहेको रानाभाटको ठहर छ। कार्यक्रममा साेसाइटीकी अध्यक्ष प्रमिता खनालले क्यान्सरसम्बन्धी जनचेतनाको अभावले क्यान्सर रोग घातक बन्दै गएको जिकिर गर्नुभयो।
कार्यक्रममा साइकल यात्री तथा क्यान्सर विजेता नमिता बस्नेतले सोचमा क्यान्सर भएर डरले मानसिक समस्या निम्त्यिाएर बिरामीको मृत्यु हुने बताउनुभयो।
कार्यक्रममा क्यान्सर विजेता तथा साइकल यात्री नमिता बस्नेतलाई सम्मान गरिएको थियो। जुन महिनाको पहिलो आइतबार सर्भाइभ दिवसको रूपमा विश्वव्यापी यो दिवस मनाउने गरिन्छ।
नेपाल क्यान्सर सर्भाइभ सोसाइटीले पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। सोसाइटीका अनुसार विश्वमा पाँच करोड ३५ लाख मानिस क्यान्सर विजेताका रूपमा रहेका छन्।