• ३० साउन २०८१, बुधबार

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्याको मुद्दा दर्ता

blog

पूर्व प्रधानमन्त्री शेख हसिना

ढाका,  साउन २९ गते । 

गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा को एक अदालतले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उहाँको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ । 

एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भाग्नुभएको थियो र अहिले भारतमै रहनु भएको छ । उहाँको कठोर कार्यकालको नाटकीय अन्त्यमा प्रदर्शनकारीहरूले ढाकाको सडकमा ठूलो विरोध प्रदर्शन गरेका थिए । 

उहाँको पतनसम्मको अशान्तिका साताहरूमा चार सय ५० भन्दा बढी मानिस मारिएका थिए । 

निजी नागरिकका तर्फबाट मुद्दा ल्याउनु भएका वकिल मामुन मियाले भन्नुभयो, “शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।”

उहाँका अनुसार महानगरीय अदालतले प्रहरीलाई ‘आरोपित व्यक्तिहरूविरुद्ध हत्याको मुद्दा’ स्वीकार गर्न आदेश दिएको थियो । यो बङ्गलादेशी कानूनअन्तर्गत फौजदारी अनुसन्धानमा पहिलो कदम थियो ।

अदालतमा मियाले दायर गर्नुभएको मुद्दामा हसिनाका पूर्व गृहमन्त्री असदुज्जामान खान र हसिनाको अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिरको नाम पनि समावेश गरिएको छ । यसमा हसिना सरकारले नियुक्त गरेका चार शीर्ष प्रहरी अधिकारीको पनि नाम छ । उनीहरूलाई पदबाट बर्खास्त गरिएको छ । 

उक्त मुद्दामा एक किराना पसलका मालिकको मृत्युको जिम्मेबारी सात जनालाई लगाइएको छ । जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको थियो । 

डेली स्टार अखबारका अनुसार गोलीबारी भएको छिमेकका निवासी अमिर हम्जा शातिल र पीडितका एक ‘शुभचिन्तक’ का तर्फबाट मुद्दा ल्याइएको थियो । रासस, एएफपी