• ५ वैशाख २०८३, शनिबार

चैतेबाली भित्र्याउन महँगीको व्यवधान

blog

महोत्तरीको औरही नगरपालिका–२ मा किसान गहुँ, रहरलगायत बाली भित्र्याउने तयारी गर्दै । तस्बिर : अजय शाह

गौशाला समाचारदाता

महोत्तरी, वैशाख ५ गते । महोत्तरी जिल्लाका किसान यतिबेला चैतेबाली अन्तर्गत गहुँ, रहरलगायत बाली भित्र्याउने चटारोमा छन् । बेमौसमी हावाहुरी र वर्षाको जोखिम बढेसँगै सम्भावित क्षति टार्न उनीहरू हतार हतारमा खेतमै खटिन बाध्य भएका हुन् । बिहानदेखि बेलुकासम्म किसान गहुँ काट्ने, थ्रेसरमार्फत दाना छुट्याउने र सुरक्षित भण्डारण गर्ने काममा व्यस्त छन् । 

यस बिचमा डिजेल तथा अन्य इन्धनको मूल्यवृद्धिले कृषि कार्यको लागत झन् बढाएको किसानको गुनासो छ । ट्याक्टर तथा थ्रेसर सेवाको भाडा महँगिँदा उत्पादन खर्च थपिएको उनीहरू बताउँछन् । 

औरही नगरपालिका–२ का किसान दिनेश यादवका अनुसार मौसमको अनिश्चितले पनि किसानलाई दबाबमा पारेको छ । “हावाहुरी र वर्षाको सम्भावना बढी हुने भएकाले बाली नष्ट हुने डरले हामी सबै परिवार खेतमै खटिएका छौँ,” उहाँले भन्नुभयो, “गहुँ छिटो काटेर थ्रेसरबाट दाना छुट्याउनु पर्छ तर इन्धनको भाउ महँगिएसँगै कृषि उपकरणको भाडा पनि बढेर थेग्नै मुस्किल परेको छ ।”

किसानका अनुसार खेत जोताइको लागत पनि अस्वाभाविक रूपमा बढेको छ । स्थानीय किसान पीडा यादवले ट्याक्टरले खेत जोत्दा प्रतिघण्टा दुई हजार दुई सय रुपियाँसम्म तिर्नु परेको छ । “इन्धन महँगिएको भन्दै सेवाप्रदायकले मनोमानी भाडा असुलिरहेका छन्, जसले साना किसानलाई बढी मारमा पारेको छ,” उहाँले भन्नुभयो ।

यसबाहेक मजदुर अभावले पनि किसानलाई थप समस्यामा पारेको छ । बाली भित्र्याउने मुख्य सिजन मै पर्याप्त कामदार नपाउँदा काम ढिलाइ भइरहेको उनीहरूको भनाइ छ । समयमै बाली भित्र्याउन नसके उत्पादनमा ठुलो क्षति हुने भन्दै किसानले सम्बन्धित निकायसँग आवश्यक सहजीकरण र सहयोगको माग गरेका छन् । यता कृषि प्राविधिकले सम्भावित हावाहुरी, असिना र वर्षालाई ध्यानमा राख्दै सकेसम्म छिटो बाली भित्र्याउन किसानलाई सुझाव दिएका छन् ।