गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ५ गते । आगामी सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकर तथा मूल्य सीमासम्बन्धी व्यवस्था लागु हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा संशोधन गर्दै अब सूचीकृत कम्पनीको सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था गरेको हो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृतिपछि लागु हुन लागेको ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ अनुसार सेयर बजारमा दैनिक मूल्य उतारचढावको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याइएको हो ।
नेप्सेका अनुसार नयाँ व्यवस्थाले बजारलाई थप चलायमान बनाउने र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउने अपेक्षा गरिएको छ । नयाँ व्यवस्थासँगै प्रिओपन समयमा मूल्य सीमा दुई प्रतिशतबाट बढाएर पाँच प्रतिशत कायम गरिएको छ । जसले बजार खुल्दा हुने अस्वाभाविक उतारचढावलाई कम गर्ने विश्वास गरिएको छ ।
यस्तै नेप्से परिसूचकमा आधारित सर्किट ब्रेकर प्रणालीमा पनि परिवर्तन गरिएको छ । कारोबार सुरु भएको दुई घण्टाभित्र बजार सूचक पाँच प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिने भएको छ । यदि सूचक आठ प्रतिशतले घटबढ भएमा भने सो दिनको सम्पूर्ण कारोबार बन्द गरिने व्यवस्था गरिएको छ ।
यसअघि ४, ५ र ६ प्रतिशतका तीन तहको सर्किट प्रणाली रहेकोमा नयाँ व्यवस्थाले यसलाई घटाएर दुई तहमा सीमित गरेको हो । नयाँ व्यवस्थासँगै १५ प्रतिशतसम्मको मूल्य उतारचढावले सेयरको वास्तविक माग आपूर्ति अनुसार मूल्य छिटो समायोजन हुन मद्दत गर्ने भएको छ । जसले कृत्रिम रूपमा थुनिएको मूल्य प्रणालीलाई खुला बनाउने छ ।
यस्तै मूल्य दायरा बढेपछि खरिदबिक्रीका अवसर बढ्नुका साथै लगानीकर्ताले छिटो प्रवेश र बाहिरिने अवसर पाउने भएकाले कारोबारको मात्रा बढ्ने सम्भावना हुन्छ ।
साथै पहिलेको तीन तहको जटिल सर्किट प्रणाली हटाएर पाँच प्रतिशत र आठ प्रतिशतको दुई तह राखिएकाले बजार अवरोध कम हुन्छ । आवश्यक परेको बेला मात्र रोक लाग्ने हुँदा कारोबार सहज हुन्छ । नयाँ व्यवस्थाले सेबोनले नियामक ढाँचाभित्र रहेर बजारलाई थप गतिशील, लचिलो र आधुनिक बनाउने लक्ष्य लिएको छ । यसको लाभ लिन लगानीकर्ताले जोखिम व्यवस्थापनमा पनि ध्यान दिनु आवश्यक हुन्छ ।