• ११ पुस २०८१, बिहिबार

एकीकृत प्रणालीबाट चाँडो विकास सम्भव

blog

चिचिला गाउँपालिका सङ्खुवासभाका १० स्थानीय तहमध्ये भूगोल र जनसङ्ख्याको हिसाबले सबैभन्दा सानो स्थानीय तह हो । साबिकको दिदिङ र मत्स्यपोखरी गाउँ विकास समितिलाई समेटेर बनेको यस पालिकामा पाँच वटा वडा छन् । जिल्ला सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिकासँग जोडिएको यस पालिकाको मध्यभाग भएर गएको छ उत्तरदक्षिण कोशी राजमार्ग । २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा निर्वाचित गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा २०७९ सालको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुनुभयो । अध्यक्ष शेर्पासँग गोरखापत्रका सङ्खुवासभा समाचारदाता ध्यान कुलुङले गर्नुभएको कुराकानी :

यस वर्ष सङ्खुवाभामा पनि धेरै पानी प-यो । तपाईंको पालिकामा के कस्तो क्षति भयो ?

हाम्रो पालिका पनि बढी नै प्राकृतिक प्रकोप हुने पालिका हो । दुई वर्षअघि पनि १६ वटा घर पहिरोले विस्थापित नै बनाएको थियो । यस वर्ष पहिरोमा परेर दुई र चट्याङका कारण एक जनाको मृत्यु भएको छ । केही गाई वस्तु पनि मरे । पहिरोमा परेर बित्नेहरू चाहिँ हाम्रो पालिकाको जनता होइन, अरुण तेस्रोमा काम गर्न पश्चिम नेपालबाट आएका मजदुर हुन् ।  चट्याङबाट बितेका चाहिँ हाम्रै पालिकाका हुन् । प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउने पालिकाका जनतालाई पालिकाबाट केही राहत दिने तयारी गरेका छौँ । पालिकाभित्रका भत्किएका भित्री सडक मर्मत गर्ने क्रममा छौँ । यसका लागि हाम्रो आफ्नै ‘ब्याकहोइ लोडर’ (सानो डोजर) परिचालन गरेका छौँ ।

दोस्रो कार्यकालको दोस्रो आर्थिक वर्ष पनि सकियो । सोचे जस्तो काम भइरहेको छ त ?

पहिलो कार्यकालमा थुप्रै कुरा सिकियो । जनताले दोस्रो पटक पनि अत्यधिक बहुमतले विजयी गराई सेवा गर्ने अवसर दिनुभयो । स्थानीय सरकार सञ्चालनसम्बन्धी प्राप्त गरेको अनुभव, ज्ञान र सिप प्रयोग गरेर उपलब्धिमूलक र उत्पादनमूलक क्षेत्रमा काम गरिरहेका छौँ । अघिल्लो कार्यकालमा सुरु गरिएका ठुला आयोजनाको काम निरन्तर भइरहेको छ । पालिकाभित्र करिब सबै ठाउँमा सडक ट्र्याक खोलिसकिएको छ । मुख्य सडकमा कालोपत्रे गर्ने प्रक्रिया सुरु भइसकेको छ । यो कार्यकालमा दीर्घकालीन विकासका काम सुरु गरेका छौँ । 

दीर्घकालीन लाभ हुने कस्ता कार्यक्रम अगाडि बढाउनुभएको छ ?

हाम्रो जस्तो पालिकामा व्यवस्थित तरिकाले बृहत् कृषि कार्यक्रम गर्न सकियो भने राम्रो आयआर्जन गर्न सकिन्छ । त्यसैले बृहत् एकीकृत कृषि कार्यक्रम गत आर्थिक वर्षबाट नै सुरु गरिसकेका छौँ । त्यस कार्यक्रम अन्तर्गत कफी, सुन्तला, कागती र एभोकाडोको बिरुवा लगाएका छौँ । विगत वर्षमा कृषकका मागको आधारमा २०–५० बोट कागती, सुन्तला, जुनारको बिरुवा बाँडेका थियौँ तर अहिले फर्केर हेर्दा उपलब्धि नै देखिएन । अनि अर्को कुरा, त्यो प्रधानमन्त्री रोजगार कार्यक्रम छ नि, त्यसले बेरोजगार सूचीमा सूचीकृत भएकालाई ‘न्यूनतम एक सय दिन रोजगारी दिनू’ भन्छ, हामीले दियौँ पनि तर दीर्घकालीन रूपमा बेरोजगारी हट्ने सम्भावना त भएन । त्यसैले बेरोजगारी सूचीमा आबद्ध भएकाहरू समेतलाई खटाएर त्रिपक्षीय साझेदारीमा बृहत् कृषि कार्यक्रम सुरु गरेका हौँ । जसमा कृषक, गाउँपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रमको लागत साझेदारी छ । बेरोजगार सूचीमा दर्ता भएकाले खाल्डो खन्ने, गाउँपालिकाले बिरुवा खरिदमा ५० प्रतिशत अनुदान दिने, सिँचाइको व्यवस्था गर्ने र प्राविधिक जनशक्ति उपलब्ध गराउने र कृषकले मलको व्यवस्थापन र बिरुवाको लागतको ५० प्रतिशत बेहोर्ने सम्झौता गरी कार्यक्रम सुरु गरिएको हो । यो कार्यक्रमलाई निरन्तरता दिने छौँ ।

यसरी यो वर्ष जम्मा ८०० रोपनीभन्दा बढी जमिनमा ३० हजारभन्दा बढी बोटबिरुवा लगाएका छौँ । ती बिरुवा रोप्नका लागि चक्लाबन्दी खेती प्रणाली अवलम्बन गरेका छौँ । एक बगान बनाउनका लागि न्यूनतम सय रोपनी जग्गा हुनुपर्ने कार्यविधिमा व्यवस्था गरेका छौँ । यसो भयो भने उत्पादन सङ्कलन गर्नका लागि सहज हुने र प्राविधिक सहयोग पु-याउन पनि सहज हुन्छ । उत्पादन सङ्कलनका लागि कृषि एम्बुलेन्स खरिद गर्ने योजना छ । उत्पादन भण्डारणका लागि उत्तरदक्षिण कोशी सडक छेवैमा रहेको गाउँपालिका भवन परिषरमा सङ्कलन केन्द्र (भवन) निर्माण कार्य सुरु गरेका छौँ । यस कार्यक्रमले कृषकको आयस्तर वृद्धि हुने हाम्रो अपेक्षा छ । हामीले पशुपालनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएका छौँ ।

पर्यटन गुरुयोजना बनाएर काम गर्दै छौँ भन्नुभएको थियो । त्यो  निर्माण सकियो ?

कहाँ सकिनु ? माथिबाट आउनुपर्ने पैसा नै आउँदैन । मन्त्रालय र योजना आयोग धाउँदा धाउँदा अलि अलि बजेट ल्यायो, त्यसले सक्ने कुरा नै भएन । साबिक मत्स्यपोखरी गाविस अन्तर्गतका भूभागमा रहेको बृहत् मत्स्यपोखरी पर्यटन क्षेत्रका लागि त पैसा नै आउन छोड्यो । मकालु हिरक पार्कका लागि धाउँदा धाउँदा यसपालि बल्ल ५० लाख रुपियाँ प्राप्त भयो । यो योजना सम्पन्न गर्नका लागि पाँच करोड रुपियाँ लागत अनुमान गरिएको छ । यही तरिकाले हो भने त गाह्रो छ । उता साबिक दिदिङ गाविस अन्तर्गतको चमेरे गुफा–धुवाँ छाँगा (सिप्रुङमा झरना) को डिपिआर पहिले नै बनाइसकेका थियौँ । यस वर्ष बल्ल बल्ल प्रदेश सरकारबाट समपुरक अनुदानमा ६५ लाख रुपियाँ प्राप्त भएको छ । त्यसमा ३५ लाख रुपियाँ हामीले (गाउँपालिकाले) लगानी गर्ने छ । मकालु हिरक पार्कसँगै जोडिने बलुथाम डाँडा पदमार्गको काम पनि आधामै रोकिएको छ । पर्यटनमाचाहिँ पर्याप्त बजेट नआएकाले चाहे जस्तो काम गर्न सकिरहेका छैनौँ । 

सडक कालोपत्रे गर्ने काम कति भएको छ ? 

यहाँका भित्री सडकको ट्र्याक खोल्ने काम करिब सकिएको छ । अब कालोपत्रेको तयारी गरिरहेका छौँ । त्यसमध्ये चिचिला बजार जिरो प्वाइन्टदेखि वडा नम्बर ४ को मत्स्यपोखरी हुँदै वडा नम्बर ५ जोड्ने सडकलाई कालोपत्रे गर्ने योजना बनाएका छौँ । यसका लागि वडा नम्बर ४ का वडाध्यक्ष बालकुमार तामाङले विशेष भूमिका खेलिरहनुभएको छ । सम्भवतः आउँदै गरेको हिउँदबाट काम सुरु हुन्छ । यो सडक छिमेकी सभापोखरी गाउँपालिका जोड्ने सडक पनि हो । हाम्रो पालिकाको सबै वडा जोड्ने चक्रपथको परिकल्पना गरेर सडक पूर्वाधार निर्माण गरेका छौँ । भविष्यमा यो चक्रपथ कालोपत्रे गर्ने लक्ष्य छ ।

यस शैक्षिक सत्रबाट १० जोड दुईको कक्षा सञ्चालन गर्ने कुरा पनि गर्दै हुनुहुन्छ ?  चिचिला जस्तो सानो पालिकामा यो सम्भव छ ?

सम्भव वा असम्भव त भविष्यले बताउला । चिचिला गाउँपालिकामा अहिले पनि चार वटा माध्यमिक विद्यालय सञ्चालनमा छन् । त्यसमध्ये सबैभन्दा पुरानो वडा नम्बर ४ मा रहेको सरस्वती माविमा सबैभन्दा धेरै विद्यार्थी छन् ।  त्यसैले त्यहाँ दस जोड दुई कक्षा सञ्चालन गर्ने तयारी गरेका हौँ । चिचिला गाउँपालिकाको ठुलो लगानी शिक्षामा छ । हिजो शिक्षक अभावमा पालिकाको स्रोतबाट नियुक्ति गर्दा होस् या भौतिक पूर्वाधारको क्षेत्रमा । यहाँको आवश्यकतालाई दृष्टिगत गरेर नै हिजो हाम्रो घोषणापत्रका समेत गाउँपालिकामा दस जोड दुई सञ्चालन गर्ने भनेका थियौँ । यस माविमा मात्र नियमिततर्फ नै १० जना विद्यार्थीले गत एसइई उत्तीर्ण गरेका छन् भने ३७ जनाले पुरक परीक्षा दिँदैछन् । पुरकबाट पनि राम्रै सङ्ख्यामा विद्यार्थी उत्तीर्ण होलान् । पहिले नै एसइई सकेर कक्षा ११ मा पढ्न टाढा जान नसकेका पनि गाउँमा छन् । अब भन्नूस् त, कक्षा ११ सञ्चालनको आवश्यकता हो कि होइन ?

समृद्धि हासिल गर्न के गर्नुपर्ला ?

हामी गाउँपालिकाका जनप्रतिनिधिहरू सबै युवा छौँ, तसर्थ केही गरौँ भन्ने सोचका छौँ । हाम्रा कर्मचारीले इमानदार भएर मेहनत गरेका कारण गत वर्षको कार्यसम्पादन मूल्याङ्कनमा योे पालिका जिल्ला प्रथम भएको छ भने कम बेरुजु आउनेमा जिल्लाको दोस्रो स्थानमा छ । गलत आशय नराखी सेवाभावले काम ग-यौँ भने उपलब्धि हासिल हुने रहेछ । आगामी वर्षमा सबै क्षेत्रमा जिल्ला प्रथम हुने हाम्रो लक्ष्य छ ।

अर्को महìवपूर्ण कुरा, अब नेपालमा एकीकृत प्रणालीबाट विकास नगरे समृद्धि आउन धेरै समय लाग्ने छ । जे कुरा पनि एकीकृत प्रणालीबाट ग-यौँ भने थोरै लागतले पनि ठुलो काम गर्न सकिन्छ । अबको समयमा एकीकृत बस्ती व्यवस्थापन अनिवार्य छ । सुरक्षित ठाउँमा बस्ती बसाउने र उब्जनीयुक्त ठाउँलाई एकीकृत खेती लगाउने ग-यो भने मानिसलाई चाहिने आधारभूत आवश्यकता पूर्ति गर्न सहज हुने छ । तसर्थ निकट भविष्यमा नै बस्ती पनि एकीकृत बनाउने काममा लाग्ने छौँ ।