• १० मंसिर २०८१, सोमबार

सहिदका परिवारद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

blog

सुर्खेत समाचारदाता

सुर्खेत, साउन २८ गते । कर्णाली प्रदेश प्राप्तिका लागि ज्यानको आहुति दिने सुर्खेतका सहिदका परिवारले तत्कालीन सरकारले सहिदका परिवारसँग गरेको सहमति पूरा नगरेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रदेश प्राप्तिमा सहिद हुने चार जना सहिदका परिवारमध्ये सुर्खेतका तीन परिवारले मुख्यमन्त्री यामलाल कँडेललाई विगतमा सहिदका परिवारलाई गर्ने सम्मान तथा जीविकोपार्जन जस्ता सहमति अहिलेसम्म पनि पूरा नगरेको भन्दै ध्यानाकर्षणपत्र बुझाएका छन् । 

सहिदका परिवारले तत्कालीन समयमा किरिया खर्च र सहिद घोषणाबापत १० लाख राहत प्राप्त गरेका थिए । त्यसबाहेक घरको एक सदस्यलाई रोजगारी दिने, परिवारको जीविकोपार्जनका कार्यक्रममा सहभागी गराउने, चोक तथा सडकका नाम सहिदको नामबाट नामकरण गर्ने जस्ता विषयमा प्रदेश सरकार र परिवारबिच सहमति भएको थियो तर अहिलेसम्म ती सहमति कार्यान्वयन हुन सकेका छैनन् । 

२०७२ साल सङ्घीयताको रेखाङ्कनमा कर्णालीलाई सुदूरपश्चिममा गाभिएपछि असुन्तष्ट भई सुर्खेत, जुम्लालगायतका जिल्लामा आन्दोलन भएको थियो । आन्दोलनका क्रममा सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवार तथा जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो । उनीहरूलाई सरकारले सहिद घोषणा गरी परिवारको शिक्षादीक्षा र भरणपोषण गर्ने प्रतिबद्धता जनाएको थियो । प्रदेश प्राप्तिको नौ वर्ष पुग्दा पनि सहिदका परिवारसँग गरिएको सहमति पूरा नभएको भन्दै परिवारजनले विभिन्न माग राखी मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

उनीहरूले तत्कालीन समयमा सहिदका परिवारसँग गरिएको सहमति अक्षरशः कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । यस्तै स्थानीय पाठ्यक्रममा सहिदको जीवनी समावेश गर्नुपर्ने, सहिद स्मृति भवनका लागि जग्गाको व्यवस्थापन गर्नुका साथै सहिदसँग सम्बन्धित क्रियाकलाप सञ्चालनका लागि नियमित बजेटको व्यवस्थापन गर्नुपर्ने, तत्कालीन समयमा सरकारले सहिदका परिवारसँग गरेको वाचा अनुसार सहिदको सालिक स्थापना, मुख्य नाका, पार्क, चोक तथा सडक सहिदका नामबाट नामकरण गर्नुपर्ने, कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा चारै जना सहिदको सालिकसहित सहिद गेट निर्माण गर्नुपर्ने माग गरेका छन् । 

यस्तै प्रदेश मातहतमा रहेका सबै सरकारी कार्यालयमा सहिदका तस्बिर अनिवार्य रूपमा राखी सम्मान गर्नुपर्ने, सहिदका परिवारको जीविकोपार्जनका लागि कम्तीमा एक सदस्यलाई स्थायी रोजगारीको व्यवस्थापनका साथै सहिदका परिवारका लागि शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यकीय विषयको सुनिश्चितता गर्नुपर्ने माग राखिएको छ । ध्यानाकर्षणपत्रमा सहिद याम बिसीका बुवा शेरबहादुर बुढा, सहिद टीकाराम गौतमका छोरा अमृत गौतम र सहिद गोपालसिंह रजवारका छोरा दीपक रजवारले हस्ताक्षर गर्नुभएको छ । 

सहिद याम बिसीकी बहिनी भगवती बिसीले प्रदेश सरकारले सहिदका परिवारसँग गरेको सहमति पालना नगरेका कारण ध्यानाकर्षणपत्र बुझाइएको बताउनुभयो । सहिदकै कारण छुट्टै कर्णाली प्रदेश र प्रदेश राजधानी प्राप्त गर्न सकिएको तर प्रदेश सरकारले सहिदको सम्मान नगर्न नसकेको जिकिर गर्नुभयो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यामलाल कँडेलले ज्यानको आहुति दिने सहिद तथा अन्य सबै तह र तप्काको बलबाट कर्णाली प्रदेश प्राप्ति भएको विचार व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले सहिदको सम्मान गर्ने बताउनुभयो ।