• २३ वैशाख २०८१, आइतबार

पुनः छापिए मतपत्र

blog

काठमाडौँ, वैशाख २३ गते । स्थानीय तह निर्वाचन २०७९ मा ४३ पालिकाका लागि करिब १३ लाख मतपत्र दोहो¥याएर छापिएको छ । आयोगले अनुमानका आधारमा छापेको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि कामै नलाग्ने भएपछि दोहो¥याएर छाप्नुपरेको हो । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “यसअघि छापिएका मतपत्रमा चुनाव चिह्न अपर्याप्त भएको हुँदा पुनः छापिएको हो ।” पुनः छापिएका मतपत्रमध्ये अधिकांश मधेस प्रदेशअन्तर्गतका छन् । मधेस प्रदेशका आठमध्ये सात जिल्लाका ३६ पालिकामा आयोगले अनुमान गरेभन्दा बढी उम्मेदवारी परेको छ । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ४३ पालिकाका १३ लाख चार हजार मतपत्र पुनः छापिएको र छापिएका मतपत्र शुक्रबार बिहानैदेखि ढुवानी हुने जानकारी दिनुभयो । आयोगका अनुसार सिरहाको चार, धनुषाका नौ, महोत्तरीका तीन, सर्लाहीका छ, रौतहटका १०, बाराका एक, पर्साका तीन पालिकामा आयोगले यसअघि छापेको मतपत्रमा उम्मेदवारको चुनाव चिह्न अटाउन सकेको थिएन । 

प्रवक्ता पौडेलले नयाँ मतपत्रमा भने उम्मेदवारको अन्तिम नामावलीबमोजिम नै चुनाव चिह्न राखिएको प्रस्ट्याउनुभयो । आयोगले वैशाख १९ गते उम्मेदवारको प्रचारप्रसारका लागि नमुना मतपत्र उपलब्ध गराउँदा कतिपय स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न छुटेको थियो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार मनोज साहको चुनाव चिह्नसमेत नमुना मतपत्रमा थिएन । 

निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको चुनाव चिह्न नमुना मतपत्रमा नदेखेपछि चुनाव चिह्न समावेश गराउन साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना नै दिनु परेको थियो । पछि उहाँको चुनाव चिह्नसहितको नमुना मतपत्र छापेर जनकपुरधाम पठाइएको थियो । 

उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि छाप्नु परेको अधिकांश पालिकामा राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवारहरू बढी छन् । प्रवक्ता पौडेलले ४३ पालिकाका लागि उम्मेदवारको सूचीअनुसार ४३ प्रकारको मतपत्र डिजाइन गरिएको र सबैको लहर र समूह फरक रहेको प्रस्ट्याउनुभयो । 

त्यसैगरी ललितपुर जिल्लाको गोदावरी नगरपालिका, धादिङको गजुुरी, गल्छी र थाक्रे गाउँपालिकाको मतपत्रसमेत पुनः छाप्नु परेको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तुको कृष्णनगर नगरपालिका र मायादेवी गाउँपालिकामा समेत आयोगको अनुमानभन्दा बढी उम्मेदवारी पर्दा मतपत्र पुनः छापिएको हो । 

आयोगले काठमाडौँसहित छ महानगर र भक्तपुर जिल्लाका चार नगरपालिकाको मतपत्र छपाइ पूरा गरेको छ । मतपत्र दोहोरो छाप्नुपर्दा लागेको खर्च सम्बन्धमा भने आयोगले प्रस्ट्याएको छैन । दोहोरो मतपत्र छाप्नु पर्दा जनशक्तिसँगै कागजमा समेत आयोगको खर्च बढ्न गएको छ ।