भक्तिविलास पोखरेल
गाईघाट, वैशाख १३ गते । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको वाहिनीपति ट्रफी प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न भएको छ ।
नेपाली सेनाको श्री नं. १८ वाहिनी अड्डा, भुल्के (उदयपुर)को आयोजनामा वैशाख २ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा खोटाङ जिल्लामा तैनाथ श्री रणभीम गणले सर्वोत्कृष्ट नतिजा हासिल गर्दै प्रथम स्थान हासिल गरेको छ ।
यसैगरी श्री दुर्गाबक्स गण (ओखलढुङ्गा) दोस्रो र उदयपुरमा तैनाथ श्री पशुपतिप्रसाद गण तेस्रो भएका छन् ।
प्रतियोगिताको समापन गर्दै वाहिनीपति सहायक रथी विमलकुमार बस्नेतले विजयी टोली तथा खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको उच्च प्रशंसा गर्नुभयो ।
उहाँले प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई निकट भविष्यमा आयोजना हुने पृतनापति ट्रफी २०८३ मा सहभागी हुन उच्च शारीरिक क्षमता, अनुशासन र सहकार्य कायम गर्दै आवश्यक तयारी गर्न निर्देशन दिनुभयो ।
प्रतियोगितामा समावेश सामूहिक खेलतर्फ भलिबल र बास्केटबलमा श्री रणभीम गण तथा फुटबलमा श्री पशुपतिप्रसाद गण प्रथम भएका छन् ।
एकल विधातर्फ तेक्वान्दो, बक्सिङ, जुडो र सुटिङमा श्री दुर्गाबक्स गण प्रथम भएका छन् भने एथलेटिक्स र स्विमिङमा श्री रणभीम गण प्रथम भएको छ । समग्रतर्फ उत्कृष्ट नतिजा हासिल गर्दै श्री रणभीम गण प्रथम भएको नेपाली सेनाले जनाएको छ ।