केदार तिमल्सिना
बनेपा, वैैैैेेैशाख १३ गते । वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रुको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले वर्षाका कारण शनिबार साँझदेखि बिपी राजमार्ग अन्तर्गत मङ्गलटारमा अलपत्र परेका यात्रुको आइतबार बिहान उद्धार गरेको हो ।
कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले रोसी खोलामा आएको बाढीले बिपी राजमार्गको विभिन्न स्थानको अस्थायी डाइभर्सन बगाएपछि शनिबार साँझदेखि मङ्गलटारमा अलपत्र परेका यात्रुको आइतबार बिहान उद्धार गरिएको जानकारी दिनुभयो।
उहाँले राजमार्गमा अलपत्र परेका यात्रुलाई मङ्गलटारबाट झोलुङ्गे पुल तारेर तेमाल गाउँपालिका हुँदै भकुण्डेसम्म उद्धार गरिएको बताउनुभयो ।उहाँले मङ्गलटारमा रोकिएका करिब ८० वटा माइक्रोका छ सय यात्रुलाई उद्धार गरिएको बताउनुभयो ।
बाढीका कारण डाइभर्सन बगाएका कारण मङ्गलटारमा रोकिएका सवारी साधनहरू काठमाडौँ र सिन्धुलीतर्फ जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । डाइर्भसन बगाएर अलपत्र परेका सवारी साधनलाई डाइभर्सन बनेपछि गन्तव्यतर्फ पठाइने प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक विष्टले वर्षा कम भएसँगै बाढीले बगाएको डाइभर्सन बनाउने काम तिव्र रूपमा अघि बढेको बताउनुभयो । उहाँले वर्षा नभएको खण्डमा साँझसम्म डाइभर्सन बनेर यातायात सुचारु हुने बताउनुभयो ।