निशा राई
धरान, वैशाख १३ गते । नेपाली कांग्रेसले देशव्यापी रूपमा सुरु गरेको जरा अभियान सुनसरी क्षेत्र नं.१ मा सुरु भएको छ ।
पार्टीमा जागरण र रूपान्तरण ल्याउन तथा स्थानीय र राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रवाह गर्न जरा अभियान आवश्यक भएको अमृत अर्यालले बताउनुभयो ।
सहभागी नेता तथा कार्यकर्ताले राखेका जिज्ञासालाई सम्बोधन गर्दै प्राप्त उचित सुझावलाई पूर्णरूपले मनन गरेर अघि बढ्ने समेत उहाँले बताउनुभयो ।
जरा अभियानका क्रममा क्रियाशील सदस्यता अद्यावधिक समेत गरिने बताउँदै पार्टीको सङ्गठनरूपी जरामा सिंचित गर्न, गोडमेल गर्न र पार्टीमा ताजगी अभिवृद्धि गर्न अभियानले मद्दत पुर्याउने केन्द्रीय प्रतिनिधि यदु विष्टले बताउनुभयो ।
राष्ट्रियता, लोकतन्त्र, सङ्घीयता, नागरिक विश्वास, सामाजिक एकता र पार्टीको जरालाई सबल बनाउने अभियानको उद्देश्य रहेको समेत उहाँले बताउनुभयो ।
केन्द्रले ल्याएको जरा अभियान र यसका उद्देश्य देश, जनता र पार्टी हितका सन्दर्भमा अत्यन्त फलदायी हुने भएको इनरुवाका नगर प्रमुख तथा कांग्रेसका सुनसरी सभापति केदार भण्डारीले बताउनुभयो ।
उहाँले दोष जति अरूलाई थोपर्ने परम्पराको अन्त्य गरी एकताबद्ध भई पार्टीलाई सुदृढ बनाउन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीभित्र जागरण, रूपान्तरण तथा सङ्गठन सुदृढीकरणका लागि अभियान महत्त्वपूर्ण रहेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो ।
पार्टीले अघि सारेको जरा अभियान उत्साह, विश्वास, जागरण, रूपान्तरण र शुद्धीकरणको एक नवीन एवम् महत्त्वपूर्ण अभियान भएको बताउँदै अभियानलाई हरेक वडा, टोल र जनस्तरसम्म पुर्याई प्रभावकारी रूपले सम्पन्न गर्न पार्टीको जिम्मेवार सबै नेता साथीको प्रमुख कर्तव्य रहेको बताउनुभयो ।
अभियानलाई सफल बनाउन अभिभुखीकरण गराई स्थानीय जिम्मेवार नेतालाई हरेक वडामा प्रतिनिधि खटाइने तथा क्रियाशील सदस्यतालाई अद्यावधिक गरी पूर्णरूपले डिजिटलाइज गर्न विद्यार्थी नेतालाई प्राविधिकको रूपमा खटाइने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य राजीव कोइराला, केन्द्रीय सदस्य गोमा पराजुली, कोशी प्रदेश प्रतिनिधि एवम् सङ्गठन विभाग प्रमुख मदन सङ्ग्रौला, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, संसदीय दल धरानका नेता तथा धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविन), क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरी, कोशी प्रदेश सदस्य किशोर राई, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापति प्रसान राई, नेविसङ्घ महेन्द्र बहुमुखी क्याम्पस एकाइ सभापति विनोद आले मगर लगायतको उपस्थिति रहेको थियो ।