• ११ मंसिर २०८१, मङ्गलबार

खेर गइरहेको जमिनमा लटरम्म तरकारी

blog

ललित बसेल

कालीकोट, साउन १७ गते । कालीकोटको खाँडाचक्र नगरपालिका–५, तेर्सो बजारका भीमबहादुर कार्की चार/पाँच वर्षदेखि तरकारी खेतीमा संलग्न हुनुहुन्छ । क्यान्सरको बिरामी हुँदा पनि उहाँले तरकारी खेती गर्न छाड्नुभएको छैन । भिरालो जमिनको १२ रोपनी जग्गामा उहाँले आलु, फर्सी, काँक्रा, खुर्सानी, गोलभेँडा, चिचिन्डा, काउली, फर्सीलगायतका तरकारी उत्पादन गर्नुहुन्छ । त्यही तरकारी खेतीबाट उहाँले क्यान्सर हुँदा लागेको करिब १० लाख ऋण चुक्ता गर्नुभयो । थप जग्गा जोड्नुभयो । नयाँ घर बनाउनुभयो । 

क्यान्सरपीडित हुँदा पनि यही तरकारी खेतीले हिम्मत दिएको उहाँ बताउनुहुन्छ । खेर गइरहेको भिरालो जमिनमा तरकारी हुँदैन होला भन्ने लागेको बताउने उहाँले अहिले त लटरम्म फलेको तरकारी बजारमा बेच्ने गर्नुभएको छ । 

पाँच वर्षअघि जग्गामा धान, कोदो लगाउने गर्नुहुन्थ्यो तर तरकारीबाट राम्रो कमाइ हुने भएपछि धान लगाउन छाडेको बताउनुभयो । एक मौसममा उहाँले ८० क्विन्टल तरकारी बेच्ने गरेको दाबी गर्नुभयो । सबै खर्च कटाएर तीन/चार लाख रुपियाँसम्म उहाँले बचत गर्ने गरेको पनि जानकारी दिनुभयो । यस्तै उक्त स्थानका टेकबहादुर कार्कीले दैनिक १२/१३ क्विन्टल तरकारी सङ्कलन केन्द्रमा ल्याउने गर्नुभएको छ । उहाँले तेर्सो बजारनजिकका गाउँका किसान सबै तरकारी खेतीतर्फ आकर्षित भएको बताउनुभयो । पहिले कमाइका लागि भारत जानेहरू पनि तरकारी खेतीबाट राम्रो फाइदा आउन थालेपछि भारत नगई तरकारी खेतीमै लागेको उहाँले बताउनुभयो । 

गाउँका सबै किसानले तरकारी खेती गर्न थालेपछि हाल यहाँ नैनलदेव कृषि समूह गठन गरिएको छ । सो समूहमा २७ जना किसान आबद्ध छन् । समूहका अध्यक्षसमेत रहनुभएका भीमबहादुर कार्कीले प्रत्येक कृषकले एक मौसममा तरकारीबाट ५० हजारदेखि एक लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको जानकारी दिनुभयो । 

यसै गरी जुम्ला चन्दननाथ नगरपालिका–७, मिचाकी झुमा रावलले तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि मलेसियामा रहेका श्रीमान् तेजबहादुर रावललाई घर बोलाउनुभएको छ । तरकारीबाट किसान मात्र होइन, तरकारी व्यापारीले पनि राम्रो आम्दानी गर्न सफल भएका छन् । कालीकोटका किसानले तरकारी उत्पादन गरी ६० प्रतिशत जिल्लामै निर्भर गराउन सफल भएका छन् । विगतमा ८० प्रतिशत तरकारी सुर्खेतबाट लैजानुपर्नेमा अहिले त्यहीँकै किसान उत्पादन गरेपछि त्यो ४० प्रतिशतमा झारेको तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले बताउनुभयो । किसानले उत्पादन गरेको तरकारी कालीकोटका साथै जुम्लासमेत पठाउने गरिएको छ । उहाँले दुई/दुई दिनमा नौ क्विन्टल तरकारी सङ्कलन हुने र सदरमुकाम मान्म तथा जुम्ला पठाउने गरेको बताउनुभयो । मासिक २० टन तरकारी बाहिर पठाउने उहाँको भनाइ छ । कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका लैङ्गिक समानता र सामाजिक समावेशीकरण अधिकृत रुद्र आचार्यले पुरानो कर्णालीको जुम्ला, कालीकोट र मुगुमा १६५ कृषक समूहमा तीन हजार पाँच सयभन्दा बढी किसान आबद्ध भएको जानकारी दिनुभयो । किसानलाई आवश्यकताका आधारमा सिँचाइ कुलो, उन्नत बिउ, तालिम तथा अन्य प्राविधिक सहयोग गरी आत्मनिर्भर बनाउने प्रयास कार्यक्रमले गरेको उहाँले बताउनुभयो ।