• १६ चैत २०८०, शुक्रबार

प्रेस स्वतन्त्रता दिवस

blog

३१ वर्षअघि अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसङ्घद्वारा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा  मनाउने निर्णय गरिएको थियो । त्यसैअनुसार मे ३  अर्थात् वैशाख २० गतेलाई विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । मिडिया क्षेत्रका विभिन्न सरोकारवालालाई आ–आफ्नो दायित्व स्मरण गराउने दिवसका रूपमा यो दिनलाई औंँल्याउन सकिन्छ । आधुनिक विश्वमा नागरिकलाई सुुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको छ । प्रेसको भूमिका सङ्कुचित हुने अवस्था आउन नदिन विश्वव्यापी रूपमा यो दिवस मनाउन थालिनु प्रेसप्रति विश्वव्यापी प्रतिबद्धतासमेत हो । 

मुख्य रूपमा विश्वभरिका राष्ट्रका सरकारलाई प्रेस स्वतन्त्रताप्रतिको सम्मानको प्रतिबद्धताको स्मरण गराउने अवसर पनि हो– विश्व प्रेस स्वतन्त्रता दिवस । साथै सञ्चार माध्यमसँग आबद्धलाई व्यावसायिक आचारसंहिता परिपालना तथा प्रेस स्वतन्त्रताबारे झकझकाउने अवसरका रूपमा पनि यो दिनलाई लिने गरिन्छ ।  आफ्ना समाचार, लेख तथा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकारको योगदान स्मरण गरिने हुनाले पनि यो दिन महत्त्वपूर्ण मान्न सकिन्छ । प्रत्येक वर्ष मनाइने यो दिवसको यस वर्षको नारा ‘प्रविधि नियन्त्रित मिडिया’ राखिएको छ । यस वर्षको नारालाई सञ्चार माध्यममा प्रविधिको प्रचुरतालाई प्राथमिकता प्रदान गरिएको रूपमा अथ्र्याउन सकिन्छ । 

प्रेस स्वतन्त्रताबिना सुदृढ लोकतन्त्रको परिकल्पना गर्नु असम्भवप्रायः होे, स्वतन्त्र प्रेस नै लोकतन्त्रको मर्म तथा मेरुदण्ड हो । लोकतन्त्र तथा स्वतन्त्र प्रेसलाई एकै सिक्काका दुई पाटाका रूपमा पनि लिन सकिन्छ । विश्वभर नै लोकतन्त्रलाई सही दिशामा डो¥याउन स्वतन्त्र प्रेसको निकै महŒवपूर्ण भूमिका रहिआएको तथ्यमा कुनै विवाद पाइँदैन । मुलुकमा सुशासन प्रवद्र्धन प्रेसको प्रभावकारी भूमिकामा मात्र सम्भव छ । त्यसका लागि आर्थिक अनियमितता नियन्त्रण आवश्यक हुन्छ । प्रेसले शक्तिको दुरुपयोग गरी आर्थिक अनियमितता गरेको कुरा सार्वजनिक गरिदिन्छ र त्यसले शक्तिको दुरुपयोग गर्नेका लागि सजग हुने माध्यम बन्छ ।

प्रेसले  विकास निर्माणलाई प्रवद्र्धन गर्छ भने  सामाजिक सद्भावको  अभिवृद्धिसमेत गर्छ । त्यसैले स्वतन्त्र प्रेसको निकै अर्थपूर्ण भूमिका रहिआएको पाइन्छ । विश्व प्रेसको इतिहासलाई केलाउँदा सरकार तथा प्रेसबीचको सम्बन्ध सधैँ मित्रवत् रहेको पाइँदैन । प्रेसले सरकारका अनियमितता उजागर गर्ने प्रयास गरिरहेको हुन्छ भने सरकार प्रेसलाई नियन्त्रणमा राख्न सदैव यत्न गर्छ । सरकार र प्रेसबीचको द्वन्द्वको मूल चुरो भनेकै यही हो । यस प्रकारको द्वन्द्वको अवस्थाबाट सरकार तथा प्रेस दुवैलाई नकारात्मक असर परिरहेको हुन्छ । यस अर्थमा यो दिवसले दुवै पक्षलाई उपयुक्त वातावरण सिर्जनामा सहयोगी हुने अपेक्षा गर्न सकिन्छ ।  प्रेसको अधिकारलाई सुनिश्चित गरेको पाइन्छ । 

मुलुकमा सकारात्मक प्रभाव पार्ने हरेक क्षेत्रको उत्थानका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने राज्यले स्वतन्त्र प्रेसका लागि उपयुक्त वातावरण सिर्जना गरिदिनुपर्ने दायित्वलाई गहन रूपमा लिनु आवश्यक छ । सरकारले कानुन बनाएर प्रेसलाई नियन्त्रणमा राख्नुको बदला बढी जिम्मेवार बन्ने वातावरण निर्माण गरेर स्वनियमनतर्फ प्रोत्साहित गर्न जरुरी छ । सरकारले आफ्नो दायित्व पूरा गर्नुपर्ने आवाज उठिरहँदा प्रेसले पनि स्वतन्त्र प्रेसको वातावरण तयार गर्न आफ्नो हिस्साको दायित्व पनि पूरा गर्नु नै पर्दछ । आचारसंहिताको परिपालना प्रभावकारी रूपमा हुनु जरुरी छ । यसका लागि सामाजिक तथा नैतिक रूपमा प्रेस  स्वयं उत्तरदायी तथा मर्यादित हुनु अनिवार्य छ । यसैगरी पत्रकार आचारसंहिता तथा पत्रकारिताका स्थापित मान्यता स्थापित गर्नुका अतिरिक्त सामाजिक विश्वास अभिवृद्धि गर्ने दिशामा प्रेस आबद्धहरूले अग्रसर  हुनु वाञ्छनीय छ ।

नेपालमा लोकतन्त्र स्थापनाका लागि प्रेसले निर्वाह गरेको भूमिका उच्च छ । असहज अवस्थामा प्रेसले उच्च भूमिका निर्वाह गरे पनि सहज अवस्थामा सरकारहरूले प्रेसलाई आफ्नो प्रसार यन्त्रका रूपमा लिने गरेको पाइन्छ । स्वतन्त्रतालाई सीमाङ्कन गर्ने प्रयास भइरहेको हुन्छ । स्वतन्त्र र मर्यादित प्रेसको थप विकासका लागि सरकारले रचनात्मक भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ । साथै प्रेस जगत्ले पनि कलिलो लोकतन्त्रलाई फक्रने वातावरण निर्माण महत्त्वपूर्ण योगदानको सिलसिलालाई निरन्तरता दिइराख्नुपर्छ । यस अर्थमा सरकार तथा प्रेस दुवैको हातेमालोबाट प्रेस स्वतन्त्रताका क्षेत्रमा रचनात्मक कार्य अगाडि बढाउन सकिने अवस्था देखिन्छ । राज्यको चौथो अङ्ग प्रभावकारी हुँदा नै लोकतन्त्र बलियो हुन्छ भन्ने कुरामा कसैको विमति हुँदैन ।