• ९ भदौ २०८२, सोमबार

थारू समुदायले मनाए अट्वारी

blog

घोराही उपमहानगरपालिका १७ गुलरिया गाउँका युवाहरूले सामूहिकमा अट्वारी मनाउँदै ।

सन्तोष दहित

दाङ, भदौ ९ गते । थारू समुदायले उल्लासमय बातावरणमा अट्वारी मनाएका छन् । हरेक वर्ष थारू समुदायले अस्टिम्की पर्व (जन्माअष्टिमी) पछिको दोस्रो आइतबारका दिन अट्वारी मनाउने गर्छन् ।

थारू समुदायले अट्वारीको पहिलोदिन विभिन्न थरीका रोटी, फलफूल र सोमवार पाँचदेखि ७ थरीको तरकारी बनाएर घरपरिवारसँगै खानपिन गर्दै  दुईदिनसम्म धुमधामका साथ अट्वारी मनाएका हुन् । 

आइतबारदेखि सुरू भएको अट्वारी सोमबार बिहान समापन गर्ने गरेको थारू घोराही उपमहानगरपालिका–१७ गुलरियाका थारू अगुवा प्रेम चौधरीले बताउनुभयो । उहाँले यस वर्षको अट्वारी उत्सव विगतका वर्षभन्दा धेरै उल्लासपूर्ण र भव्य भएको  “गतवर्षसम्म हामीले घर–घरमै सीमित भएर अट्वारी पर्व मनाउँदै आएका थियौं", उहाँले भन्नुभयो, "तर यसपटक गाउँका दाजुभाइहरुसँग एउटै स्थानमा भेला भएर सामूहिक रूपमा पर्व मनाउँदा छुट्टै उत्साह र रमाइलोपन अनुभव भयो ।" "सामूहिकताको कारणले गर्दा अट्वारीमा झनै रौनक थपियो", उहाँले भन्नुभयो, "यसले हाम्रा पर्वको महत्त्व र मौलिकताप्रति अझ नजिकबाट सिक्ने अवसर पनि मिल्यो ।” गाउँका बुढापाका, युवाहरूसँग एकै स्थानमा भेला भई मिठा मिठा परिकार बनाई र आपसी आत्मीयताका साथ अट्वारी मनाउँदा आपसी एकता र सद्भाव अझ प्रगाढ महसुस भएको उहाँको भनाइ थियो । 

यस्तै सोही ठाउँकै अशाेक चौधरी विगतको वर्षका दिनहरूमा भन्दा यस वर्षको अट्वारी उत्सवमय भएको बताउनुभयो । वर्षदिनमा एक पटक आउने पर्व गाउँका दाजुभाइहरुसँग सामूहिक रुपमा मनाउँदा सुखदुःखका कुराहरु साटासाट गर्ने र युवा पुस्तालाई अट्वारीको बारेमा बुझाउने अवसर मिलेको बताउनुभयो ।

थारू समुदायले घर घरमा अट्वारी मनाउने चलन भए पनि घोराही उपमहानगरपालिका १७ गुलरियाका युवाहरू भने सामूहिक रुपमा अट्वारी मनाएर फरक सन्देश दिन खोजेको सोही ठाउँकै युवा चूर्णसिंह थारूले बताउनुभयो । "घरमा एक्लै रोटी पकाउने, गन्यारीबाट आगो निकाल्ने समस्या हुने भएकोले सामूहिकमा मनाउन अभ्यास गरेका हौं", उहाँले भन्नुभयो, "यसले सकारात्मक सन्देश दिएको छ ।"

यस्तै तुलसीपुर उपमहानगरपालिका ११ का सन्तोष चौधरीले यस वर्षको अट्वारी उत्सवमय भएको बताउनुभयो । "हामीले देखासिकीभन्दा पनि परम्परागत शैलीमा र मौलिकतालाई ध्यानमा दिएर अट्वारी मनायौं," उहाँले भन्नुभयो, यसरी मनाउँदा खर्चबर्च पनि कम हुने र हाम्रा मौलिक चाडपर्वको पनि संरक्षण र प्रवर्द्धन सहयोग पुग्छ ।"

थारू समुदायका पुरुषहरुले अट्वारीको अगाडिको दिन शनिबार राती भिन्सर्या (दर) खाएर आइतबारको दिनभरी अट्वारीको  व्रत बसेर बेलुका भ्याँवा (भीम)को नाममा पूजापाठ गरेर थारू समुदायले अट्वारी मनाउँदै आएकाछन् । "व्रतालुले रोटी पकाइसकेपछि व्रत बसेका सबैजना ब्रही कोन्टी (बैठक कोठा)मा बसेर भ्याँवक (पाँच पाण्डवमध्ये भीम) को नाममा पूजापाठ गरेर आफ्नो भागमा रहेको केही रोटी फलफूल, दही आफ्ना दिदीबहिनीहरुको नाममा निकालेर खाने चलन छ", दंगीशरण ३ हेकुलीका भीमबहादुर चौधरीले भन्नुभयो, "अट्वारीको दिन त्यही रोटी र फलफूलबाहेक माछामासु खान मिल्दैन,  रोटी र फलफूल मात्रै खान्छौं ।"

अट्वारीको दोस्रो दिन अर्थात् फह्रारको दिन पनि यसैगरी बिहानै नुहाइधुवाइ गरेर भात तरकारी पकाउँछौं,’’ उहाँले भन्नुभयो, ‘‘फह्रारको दिन पनि पाँचदेखि सात थरीको तरकारी हुन्छ, मास र पवै साग अनिवार्य हुनुपर्छ, यसरी सबै परिकार पकाएसकेपछि बह्री कोन्टीमा भ्याँवालाई पूजापाठ गरेर आफ्नो भागमा रहेको भात, तरकारी दिदीबहिनीहरुको नाममा निकालेर खान्छौँ । यसरी दिदीबहिनीको नाममा निकालेको खानेकुरालाई थारू भाषामा अग्रासन (कोसेली) भन्ने गरिन्छ ।’’ त्यही अग्रासन अट्वारीको दोस्रो दिन विवाहित चेलिबेटीलाई दिन जाने चलन रहेको उहाँले बताउनुभयो । 

अट्वारीमा भ्याँवालाई पूजापाठ गरेपछि पाँच पाण्डवमध्ये भीम जस्तै बलियो भइन्छ, भन्ने थारू समुदायमा जनविश्वास भएकोले अहिले पनि अट्वारीमा भ्याँवाको नाममा अग्निमा अट्वारीमा खाने परिकारहरु चढाएर चल र मोहीले पूजापाठ गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।