• ९ भदौ २०८२, सोमबार

सप्तरीमा जेठानी–देवरानीबिच कुटपिट हुँदा पाँच महिनाको गर्भ खेर

blog

फाइल तस्बिर

विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ९ गते ।
सप्तरीको खडक नगरपालिका–७ स्थित कल्याणपुरमा बाटोमा इँटा राख्ने विवादले दुई महिलाबिच झगडा र कुटपिट हुँदा एक महिलाको पाँच महिनाको गर्भ खेर गएको छ ।

भदौ ४ गते बिहीबार बिहान १० बजे ४० वर्षीया जिबछी देवी साह र उहाँका देवरानी ३५ वर्षीया ललिता देवी साहबिच बाटोमा इँटा राख्ने विषयलाई लिएर झगडा भएको थियो । झगडा बढ्दै जाँदा कुटपिटसम्म पुगेको र सो क्रममा गर्भवती रहेको ललिताको पेटमा चोट लागेर उहाँको गर्भ खेर गएको हो ।

कुटपिटबाट ललिता साहको पेटमा चोट लागि घाइते भएको र तत्काल अवस्था सामान्य रहेकाले घरमा नै बसेको तर एक्कासि पेट दुःखी बिरमी भएर उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएकोमा आइतबार पाँच महिनाको गर्भ खेर गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

“उपचारका क्रममा चिकित्सकले उनको गर्भपतन भएको पुष्टि गरेका छन्’’ बस्नेतले भन्नुभयो ।

कुटपिटका आरोपी जिबछी देवी साह फरार रहेको र उनको खोजतलास जारी रहेको र घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।