• ९ साउन २०८१, बुधबार

एक अर्ब एघार करोडको आलु आयात

blog

सिराज खान 

नेपालगन्ज, साउन ९ गते । बाँके पश्चिम नेपालका विभिन्न जिल्लामा तरकारी खेती गर्ने किसान र उत्पादन दुवै बढ्दै गए पनि भारतबाट हुँदै आएको आलुको आयात भने घट्नुको साटो बर्सेनि बढ्दै गएको पाइएको छ । 

नेपालगन्ज नाकाबाट मात्रै गत आव २०८०-८१ मा एक अर्ब ११ करोड बढीको आलु भारतबाट आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । 

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आव २०८०-८१ मा नेपालगन्ज नाकाबाट मात्रै एक अर्ब ११ करोड ६१ लाख पाँच हजार रुपियाँको चार करोड ४९ लाख ८४ हजार ६६९ किलो आलु भारतबाट आयात गरिएको छ । 

भन्सार कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आव २०७९-८० भन्दा गत आवमा १८ करोड रुपियाँको आलु आयात वृद्धि भएको हो । आव २०७९-८० मा ९३ करोड ६० लाख ६९ हजार मूल्य बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले आलु आयातबाट नेपालगन्ज भन्सारले आव २०७९-८० मा १४ करोड ७७ लाख २२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो भने गत आव २०८०-८१ मा २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन गरेको बताउनुभयो । 

आलुको आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि अघिल्लो आवको तुलनामा गत आवमा १३ करोड रुपियाँ वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । 

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमद खाँले केही वर्षयता बाँके, बर्दिया, दाङ र सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा हुँदै आए पनि भारतबाट पनि आयात नघट्नुले माग अझै धेरै रहेको प्रमाणित भएको बताउनुभयो । 

उहाँले आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यव्रmम सञ्चालन गरिरहेको जनाउँदै अझै पनि यति ठुलो परिमाणमा आयात हुनुले चिन्ता बढाएको बताउनुभयो ।