• ८ साउन २०८१, मङ्गलबार

मताने बेँसीमा बेठीको रमझम (फोटो फिचर)

blog

२९ वर्षपछि रोपाइँमा बेठी लगाइएपछि खेतमा देखिएको जमघट । तस्विरः राधा लुइँटेल

राधा लुइँटेल 

फिदिम, साउन ८ गते । नौमती बाजा, पाँच हल गोरु, २९ रोपाहार अनि १८ बाउसे छन् । फिदिम –५ को मताने बेसी मङ्गलबार घञ्चमञ्च देखियो । नौमती टोलीका सदस्यहरु खेतका गह्रामा पसेर बाजा बजाइरहेका छन् । रमितेहरु डिल र आलीबाट हेरिरहेका छन् । 

हिलोमा पसेर नौमती बाजाका तालमा सुर मिलाउँदै नाच्ने अनि बाउसे र रोपाहार हिलो छ्यापाछ्याप गर्दै हिलो आली गर्न र धान रोप्न व्यस्त छन् । स्थानीय पदमप्रसाद चापागाईंका अनुसार फिदिम र जोरसाल क्षेत्रमा २९ वर्षपछि बेठी लगाइएकाले रमितेहरुको राम्रै जमघट भएको हो ।

९३ वर्षीय चापागाईंले यो वर्ष बेठी लगाउनकै लागि कुम्मायक गाउँपालिकाको हात्ती पोखरीदेखि नौमती बाजासहित दमाई बोलाएको बताउनुभयो । उहाँका अनुसार २०५२–५३ सालसम्म यो फिदिम, जोरसाल, पल्लोटार, टाहारी र मतानेसहितका बेंसीमा ८ देखि १० हल गोरुसहित सयौं रोपाहार र बाउसेको उपस्थितिमा बेठी लगाउँदै रोपाइ गरिन्थ्यो । 

परम्परा हराउला कि ? भनेर यो वर्ष ३० हजार रुपियाँमा नौमती समूह बोलाउन गाउँभरका रोपाहार र बाउसेलाई निम्तो दिएर बेठीसहित रोपाइँ गरिएको उहाँले बताउनुभयो । ‘परम्परालाई निरन्तरता दिन यो वर्ष सामाजिक सुरक्षा भत्तावापत राज्यले उपलवब्ध गराएको पैसाले बेठी लगाएँ, अर्को वर्षदेखि छोराहरुलाई पालो बाँधिदिएको छु । अब वर्षैपिच्छे हाम्रा बेंसीमा बेठी लाग्छ’ चापागाईंले भन्नुभयो ।

मताने बेंसीमा यसरी बेठी लाग्दा रमिता हेर्न ज्येष्ठ नागरिक, प्रौढ, युवासँगै केटाकेटी पनि उत्साहसाथ सहभागी भएका छन् । आयोजक परिवारले रोपाहार र बाउसेलाई दोपहर खुवाएको स्थानीय विष्णुदेवी भट्टराईले बताउनुभयो ।

यहाँ भेला भएका युवा पुस्तामध्ये अधिकांशले पहिलो पटक बेठी लगाएर रोपाइँ गरेको हेर्ने अवसर पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । रोपाहारको भूमिकामा रहनुभएकी फिदिम –४ की माया घिमिरेले पहिले बेठीका बारे सुने पनि पहिलो पटक यस्तो कार्यक्रमसहित धान रोप्ने अवसर पाएको बताउनुभयो । 

बेठी लागिरहँदा मताने बेंसीमा जनप्रतिनिधि र पत्रकारको पनि बाक्लो उपस्थिति थियो । फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने र कार्यपालिका सदस्य शारदा आङदेम्बे पनि बेठीसहितको रोपाइँमा सहभागी भएर किसानलाई उर्जा दिन व्यस्त रहनुभएको थियो । चापागाई परिवारले लगाएको यो बेठीले किसानलाई एकताबद्ध भएर अघि बढ्न प्रेरणा मिलेको उहाँको भनाइ छ । हाते र घरेलु औजारसँगै गोरु जोत्दै नौमती बाजा बजाउँदै रोपाइँ गर्दा उत्पादन वृद्धि हुने विश्वास किसानहरुको छ ।