• ९ साउन २०८१, बुधबार

सुविधासम्पन्न बन्यो सौराहा सभाहल

blog

शालिग्राम नेपाल 

चितवन, साउन ९ गते  । चितवनको पर्यटकीय नगरी सौराहामा एक हजार जना अट्ने सभा हल निर्माण कार्य सकिएको छ ।  सङ्घ सरकारको लगानीमा पाँच वर्षअगाडि निर्माण कार्य सुरु गरेको सभा हल अहिले निर्माण सकिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । पूर्वी चितवनमा ठुलो सुविधासम्पन्न हलको अभाव भएकाले पर्यटकीय नगरी सौराहामा निर्माण कार्य थालिएको थियो । ३५ करोड २२ लाख ७० हजार ८१४ रुपियाँको लागतमा निर्माण भएको हल अहिले हस्तान्तरणको प्रव्रिmयामा छ । 

एक हजार जना सजिलै अट्न सक्ने गरी निर्माण गरिएको सभा हलमा आधुनिक उपकरण जडान गरिएको छ । २०७६ वैशाख २२ गते सम्झौता भएको हल निर्माण ढिला भएपछि म्याद थप गर्दै वैशाखमा सम्पन्न भएको हो । सम्झौता भए पनि जग्गाको विवादका कारण पाँच महिनापछि मात्र काम थालनी भएको थियो । कोभिड र निर्माण नै ढिला भएकाले म्याद थप गरिएको कार्यालयले जानकारी दिएको छ । 

ठुलो सभा हलसँगै अन्य तीन वटा बैठक कक्ष पनि निर्माण गरिएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्यक्रम हुने भए पनि सौराहामा व्यवस्थित हलको अभाव हँुदै आएको थियो । हल निर्माणपछि सौराहामा पर्यटकीय गतिविधि वृद्धि हुनेमा पर्यटन व्यवसायी विश्वस्त रहेको क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो । “यहाँका होटेलमा साना सभा हलहरू छन् तर यति ठुलो सुविधा भएको हल छैन,” उहाँले भन्नुभयो, “अब जस्तोसुकै कार्यक्रम गर्नका लागि समस्या हुने छैन ।” सभा हल सञ्चालनका लागि स्थानीय सरकारलाई दिने तयारी सहरी तथा भवन निर्माण आयोजना कार्यालयले गरेको छ । एउटा भव्य उद्घाटनको कार्यक्रम आयोजना गरेर हस्तान्तरण गर्ने तयारी रहेको थापाले बताउनुभयो । सभा हल स्थानीय पालिकाले सञ्चालन गर्न निजी क्षेत्रलाई दिए आयआर्जनको माध्यम हुने क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष गिरीले बताउनुभयो । “हामीले हरेक दिन कार्यव्रmम आयोजना गरेर यसलाई आयआर्जनको माध्यम बनाउने छौँ,” उहाले भन्नुभयो, “सञ्चालन गरेबापत पालिकालाई कर तिर्ने छौँ ।” 

पर्यटकीय क्षेत्र भनेर प्रचार गरेर मात्र हुँदैन यहाँ आएर कार्यक्रम गर्नका लागि सम्मेलन केन्द्रको आवश्यकता पर्दछ । त्यसैले निर्माणका लागि पहल गरेर योजना पारेको यसै क्षेत्रका पूर्वसांसद सुरेन्द्र पाण्डेले बताउनुभयो । “विदेशी पर्यटकलाई आकर्षित बनाउनका लागि सुविधा दिन सक्नु पर्छ,” उहाँले भन्नुभयो, “सभा हल निर्माणपछि ठुला कार्यक्रम आयोजना भएमा यहीँको पर्यटकीय क्षेत्रको विकास हुन्छ ।” एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेको चितवनमा सुविधा सम्पन्न सम्मेलन केन्द्र एउटा पनि छैनन् । यो हल निर्माणपछि ठुला गतिविधि गर्न समस्या नहुने सेभेन स्टार होटेलका सञ्चालक माधव दवाडीले भन्नुभयो ।  

चितवनमा आयोजना हुने राजनीतिक दलका सम्मेलन, सामाजिक सङ्घ संस्थाले आयोजना गर्ने सम्मेलन तथा सेमिनारहरू होटेलका साँघुरा हलमा आयोजना हुने गरेको थियो । सरकारी तहबाट सम्मेलन केन्द्र निर्माण भएपछि चितवनमा पर्यटकीय गतिविधि वृद्धि हुने व्यवसायीले बताएका छन् ।