• ९ साउन २०८१, बुधबार

नियमअनुसार विद्युत बक्यौता उठाइने छ : प्रधानमन्त्री ओली

blog

प्रधानमन्त्री केपी शर्मा ओली ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नियमअनुसार विद्युत् बक्यौता उठाइने बताउनुभएको छ । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युतको बक्यौता पनि उठाउनु पर्ने उद्योग पनि चलाउनु पर्ने उल्लेख गर्दै सो कुरा बताउनुभएको हो । 

‘हामीलाई उद्योगहरूबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ’ प्रधानमन्त्री ओलीले लेख्नु भएको छ । 

यस विषयमा सरकार र विद्युत् प्राधिकरणबिचमा बाहिर आएजस्तो कुनै मतभेद नरहेको पनि प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभएको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगमा काटिएको विद्युत् लाइन अहिले जोडिएको उहाँले जानकारी दिनुभएको छ ।  

प्रधानमन्त्रीले बक्यौता रकम तिर्न बाँकी रहेका उद्योगमा कमिसन लिएर काटिएको लाइन जोड्न निर्देश दिएको भन्दै प्रतिनिधि सभा बैठकमा नै माओवादीका एक सांसदले भ्रम फैलाउने प्रयास गर्नुभएको उहाँको भनाइ छ । त्यसको जवाफ प्रधानमन्त्रीले सोमबार प्रतिनिधि सभा बैठकमा पनि दिनुभएको थियो । उहाँले सरकारी राजश्व एक पैसा पनि नछाड्ने तर कसैलाई कुरा मिलेन भन्दैमा नियम विपरीत रकम तिर भन्न पनि नमिल्ने जवाफ दिनुभएको थियो ।