• २० चैत २०८२, शुक्रबार

मार्तडीमा बसपार्क नहुँदा पार्किङ समस्या

blog

बसपार्क नहुँदा सडकमै राखेको गाडी । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, चैत २० गते । बाजुराको सदरमुकाम मार्तडीमा लामो समयदेखि बसपार्क नहुँदा पार्किङको समस्या हुने गरेको छ ।  यहाँ दैनिक दर्जनौंभन्दा बढी लामो र सयौंको हाराहारीमा छोटो दूरीको गाडी दैनिक आउने जाने गरेका छन् । ती गाडी राख्न यहाँ बसपार्क नहुँदा पार्किङको समस्या हुने गरेको हो । 

गाडी साहु रामचन्द्र गिरीले, “मार्तडीमा बसपार्क नहुँदा सडकमा गाडी पार्किङ गर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौं, नेपालगन्ज, महेन्द्रनगर धनगढी, अत्तरियाबाट दुई दर्जन भन्दाबढी गाडी यहाँ आउने जाने गर्छन् । ती गाडी राख्ने यहाँ ठाउँ छैन् ।”

बसपार्कको समस्याका बारेमा यहाँ स्थानीय सरकारलाई धेरै पटक कुरा राखेको भए पनि अहिलेसम्म कतैदेखि केही सुनुवाई नगरेपछि गाडी सडकमै पार्किङ गर्नुपरेको गिरीले बताउनुभयो ।

बडिमालिका नगरपालिका–८ को पाल्त भन्ने स्थानमा बसपार्क बन्न लागेको झण्डै  सात वर्ष भयो । तर अहिलेसम्म त्यो बसपार्क निर्माणको काम सम्पन्न भएको छैन । अझैँ बसपार्क निर्माणको काम नहुँदा तलबाट आउने लामो दूरीको सवारी साधन तुफानडाँडादेखि कारागारसम्मको झण्डै पाँच सय मिटर सडकको छेउमै पार्किङ हुने गरेका छन् ।

बडिमालिका नगरपालिका प्रमुख अम्मर खड्काले, “पाल्तमा अघिल्लो नगरकमिटीले बसपार्क निर्माण गरेको छ । तर त्यसमा गाडी सबै नअट्ने भएकाले त्यसलाई कोल्टीसम्म चल्ने जिपहरूका लागि बसपार्क बनाउने र स्थायीरूपमा बाउलीमा बसपार्क निर्माण गर्ने बताउनुभयो ।