• ९ साउन २०८१, बुधबार

एघार वर्षपछि पुल निर्माणले गति लियो

blog

चितवन समाचारदाता

चितवन, साउन ९ गते  । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेबाट तनहुँ जोड्ने पुल निर्माण कार्यले ११ वर्षपछि गति लिन थालेको छ । घुमाउनेबाट दमौली जान छोटो मार्ग हुने भएकाले यो सडक निर्माणको काम सुरु भएको थियो । दमौलीबाट दक्षिण पूर्व हुँदै मुग्लिङ नारायणगढ सडकको घुमाउनेमा जोडिन्छ । मुग्लिङबाट दमौली जानुभन्दा घुमाउनेबाट जाँदा १० किलोमिटर सडक छोटो दुरी पर्दछ । 

पहाडी क्षेत्रका बस्तीलाई सडक सञ्जालसँग जोड्न र वैकल्पिक राजमार्ग निर्माणको काम सुरु गरिएको थियो । वैकल्पिक राजमार्ग अन्तर्गत यो सडकलाई जोड्न घुमाउनेमा २०७० असार २८ गते पुल निर्माण गर्न ठेक्का सम्झौता भएकोमा सम्झौता अनुसार काम नभएपछि म्याद थप गर्दै आएको कम्पनीले अहिलेकामलाई अगाडि बढाएको छ । 

सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले लामो समयपछि निर्माणले गति लिएको बताउनुभयो । “दुई वटा पिल्लर बनिसकेका छन् अब छिटो माथिको ढलान हुने छ । निर्माण कम्पनीलाई ताकेता गरेर काम गर्न लगाएका छौँ,” ज्ञवालीले भन्नुभयो । सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी वविता शर्माले पछिल्लो पटक थपिएको म्याद चालु आर्थिक वर्षको चैत २२ गते सकिन्छ । “भौतिक प्रगति चालिस प्रतिशत सकिएको पाएका छाँै,” शर्माले भन्नुभयो “सुरुमा ठेक्का सम्झौता भएपछि काम हुन सकेन, पछि डिजाइन परिवर्तन भएपछि काम सुरु भएको छ ।” त्रिशूली नदीमाथि निर्माण हुने १०५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको अहिले दुवैतर्फ पिल्लर निर्माण भएको छ । 

मुग्लिङबाट पोखरा जान निर्माण गरिएको जस्तै यहाँ पुल बन्न लागेको हो । बर्सात सकिएपछि काम सुरु हुने सूचना अधिकारी शर्माले बताउनुभयो ।  दोहोरो सवारीसाधन चलाउन पुलको बिचको भागमा फलामको फर्मा बनाउन ठेक्का भइसकेको र त्यसले काम थालनी गरिसकेको कार्यालयले जानकारी दिएको छ । १० करोड २१ लाख ८६ हजार ५५१ रुपियाँको लागतमा निर्माण गर्ने गरी सम्झौता भएको पुल निर्माणपछि वुद्धसिंह मार्ग भएर दमौली जान सकिन्छ ।