• ८ साउन २०८१, मङ्गलबार

एसइई ग्रेड वृद्धिका लागि परीक्षा केन्द्र तोकियो

blog

रमेश विश्वकर्मा

गुल्मी, साउन ८ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि गुल्मीमा छ परीक्षा केन्द्र तोकिएको छ । यही साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि यस जिल्लाका विभिन्न चार विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।

एकाइ प्रमुख मरासिनीका अनुसार जिल्ला विभिन्न चार विद्यालयमा छ परीक्षा केन्द्र तोकिएको छ । रुरुक्षेत्र गाउँपालिकाको रिडीस्थित रिडी माध्यमिक विद्यालय र रेसुङ्गा नगरपालिकाको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा दुई वटा परीक्षा केन्द्र तोकिएको छ । तम्घासकै महेन्द्र माध्यमिक विद्यालय र रेसुङ्गा माध्यमिक विद्यालयमा दुई वटा परीक्षा केन्द्र तोकिएको उहाँले बताउनुभयो ।

यस जिल्लाका १३८ विद्यालयका दुई हजार ६६३ जना परीक्षार्थी सहभागी हुने भएका छन् । रिडी माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा २२ विद्यालयका ३९३ जना परीक्षार्थी सहभागी हुनेछन् । सिद्धबाबा माध्यमिक विद्यालयमा रहेका दुई परीक्षा केन्द्रमा ५५ विद्यालयका ८५१ जना परीक्षार्थी सहभागी हुनेछन् । महेन्द्र माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा १४ विद्यालयका ५५४ जना र रेसुङ्गा माध्यमिक विद्यालयमा रहेका दुई परीक्षा केन्द्रमा ४७ विद्यालयका ८६५ परीक्षार्थी सहभागी हुनेछन् ।

त्यस्तै, ग्रेड वृद्धि परीक्षामा सबैभन्दा बढी परीक्षार्थी गणित विषयमा सहभागी हुने उहाँले बताउनुभयो । गणित विषयको ग्रेडवृद्धिका लागि दुई हजार ११९ जना परीक्षार्थी सहभागी हुनेछन् । विज्ञान विषयको ग्रेडवृद्धिका लागि एक हजार ९१९ जना, अङ्ग्रेजी विषयको ग्रेडवृद्धिका लागि ८८१ जना परीक्षार्थी सहभागी हुने बताइएको छ ।

ऐच्छिक प्रथम विषयमा ग्रेडवृद्धिका लागि ८७३ जना, सामाजिक विषयमा ग्रेडवृद्धिका लागि ५७१ जना, ऐच्छिक दोस्रो विषयमा ग्रेडवृद्धिका लागि ४६० जना, नेपाली विषयमा ग्रेडवृद्धिका लागि २३७ जना र प्राविधिक धारतर्फका ३६ जना परीक्षार्थी सहभागी हुनेभएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा बिहान ११ : ०० बजेदेखि दिउँसो २:०० बजेसम्म हुने एकाइ प्रमुख मरासिनीले बताउनुभयो ।