• ८ साउन २०८१, मङ्गलबार

जानकी आँखा अस्पतालमा सेवा अवरुद्ध : बिरामीलाई सास्ती

blog

जानकी आँखा अस्पताल प्राङ्गणमा मङ्गलबार देखिएको दृश्य । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, साउन ८ गते । जनकपुरधामको जानकी आँखा अस्पतालको सेवा अवरुद्ध भएपछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित उक्त अस्पतालका सञ्चालन समितिका सभापति नरेशप्रसाद सिंह तथा अस्पतालका निर्देशक डाक्टर आषिश बोहराले एकलौटी गरेको भन्दै सर्वदलीय तथा सर्वपक्षिय संघर्ष समितिले शनिबारदेखि तालाबन्दी गरेपछि अस्पतालको  सेवा अवरुद्ध भएको हो ।

संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिँदै छ बुँदे माग समेत राखेको छ । मागमा तलब तथा भत्ता पाउनुपर्ने र पुनर्बहाली हुनुपर्ने, अस्पतालको बेतिथिको मुख्य कारण सभापति सिंह र निर्देशक डा. बोहोरालाई बर्खास्त गर्नुपर्ने, अस्पताल तथा रेडक्रस धनुषा शाखाले गरेको भ्रष्टाचार छानवीन गर्न समिति गठन गर्नुपर्ने, अस्पताललाई रेडक्रस मातहतबाट हटाई स्वायत्त संस्था बनाइनु पर्ने र अस्पतालको वर्तमान समिति विघटन गरी मधेश प्रदेश सरकारको मातहतमा अस्पताललाई सञ्चालन गरिनुपर्ने माग गरेको छ ।

डा. अमित यादवले विगत ५ वर्षदेखि अस्पतालमा काम गरे पनि विरामीले पाउनुपर्ने सेवा सुविधा नपाइरहेको हुँदा उक्त सुविधा पाउने वातावरण निर्माण गर्न खोज्दा मेडिकल डाइरेक्टरले जबरजस्ती विभिन्न बहाना बनाई आफूलाई अस्पतालबट निकाल्न खोजेको आरोप लगाउनुभएको छ । 

अस्पतालमा सेवा थप सेवा सुविधा थप्नका लागि पहल गर्दा अस्पतालका सभापति र डाइरेक्टरले बाधा पुर्याएको आरोप लगाउँदै आफूलगायत अन्य डाक्टरहरुलाई पनि निकाल्न खोजेको डा. अमितको भनाइ छ । 

यस्तै, अन्दोलनरत डा.सन्तोषकुमार साहले अस्पतालका मेडिकल डाइरेक्टर आषिश बोहराले तलब रोक्का मात्र नभई आफूलाई ठगी गरेको आरोप लगाउनु भएको छ । आफू भरतपुरको आँखा अस्पतलामा कार्यरत हुँदा यहाँ बोलाएर नियुक्ति समेत नदिएको र सुरुमा तोकेको तलबलाई घटाउँदै गएको बताउनुभयो । डा. अमित यादवलाई निकाल्न आफू र डा. रञ्जना ठाकुरलाई आफने निजी निवासमा छलफलका लागि बोलाइएको समेत आरोप लगाउनुभयो । 


सोही विवादलाई सुल्झाउन नेपाल चिकित्सक संघ धनुषाले बिहिबार जनकपुरधाममा सर्वपक्षीय बैठक समेत बोलाएको थियो भने आँखा अस्पतालमा कार्यरत चिकित्सकहरु डा. अमित यादव, डा. सन्तोष कुमार साह र डा. रञ्जना ठाकुरको पक्षमा उनीहरुको नियुक्ति र बाँकी रहेको तलब सन्दर्भमा बुधबार संघका पदाधिकारीहरु अस्पताल पुगेका थिए । 

आँखा अस्पतालको सञ्चालक समिति र व्यवस्थापकले सुरुमा तिनजना डाक्टरहरुप्रति भइरहेको अन्यायका बारेमा बुझ्ने र आफुहरुको कुरा नसुने तालाबन्दी गर्ने समेतको तयारीका साथ त्यहाँ पुगेका रहेछन् । संघका महासचिव डा. रामज्ञान यादवले आफुहरु प्रति अस्पतालका मेडिकल डाइरेक्टरसहित त्यहाँका गलत तत्व जाइलाग्ने गरी प्रस्तुत हुँदा धक्कामुक्का समेत भएको बताउनुभयो ।

छलफलमा बोलेका सबैले आँखा अस्पताल नेपाल रेडक्रसले चलाइरहेको देखिए पनि केही व्यक्ति र परिवारवाद हावी भइरहेको आरोप समेत लगाए थिए । 

अस्तापलमा शुक्रबार पूर्वमन्त्रीसहितको टोलीबीचको घम्साघम्सी सुरु भएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले छलफलको लागि दुवै पक्षलाई बोलाउनुभएको थियो । 

यता आँखा अस्पतालका प्रमुख डा.आशिष बोहराले अस्पताल जस्तो संवेदनशील ठाउँको सेवा अवरुद्ध गनु नहुने बताउनुभयो । उहाँले नेपाल तथा भारतका गरेर दैनिक सात सय बढीले यहाँबाट सेवा सुविधा लिइरहेको अवस्थामा यसरी तालाबन्दी गरेर सेवा अवरुद्ध गर्नु हातपात गर्नु उचित नरहेको हुँदा विवाद सुल्झाउने तर्फ लागेको बताउनुभयो । 

उहाँले प्रशासनमा ताला लगाए भने सेवाग्राही मार्कामा पर्ने हुँदा अस्पतालको सबै सेवा खुला राख्नुपर्ने हुन्छ तर, यहाँ प्रशासनमा ताला लगाउने चिकित्सकको कार्यकक्षमै गएर हातपात गर्ने, ढोका फुटाउने जस्ता क्रियाकलाप हुँदा चिकित्सको ज्यान जोखिममा राखेर सेवा दिन नसकिने बताउनुभयो । 

उहाँले संघर्ष समितिले राखेका माग र लगाएको आरोप निराधार छन् । अस्पतालको सामान टेण्डर प्रक्रियाबाट खरिद भएको हुँदा भ्रष्टाचार गर्ने ठाउँ नै नरहेको बताउनुभयो । जुन विषयलाई लिएर यहाँ विवाद भएको छ, त्यसको कुनै आधार नै छैन, सबै बलजस्ती आरोप र हातपातसम्म गर्न उत्रेका छन्, उहाँले भन्नुभयो ।

अस्पतालका प्रमुख डा. बोहराले संक्रमणकालीन अवस्थामा अति आवश्यक परेका बेला डा.अमितलाई करारमा खटाइएको र करार अवधि सकिएपछि छ महिना पहिले विदाई पत्र समेत दिइएको बताउनुभयो । 

उहाँले भन्नुभयो,“ डा. अमितले यस अघि पनि अस्पतालमा यसरी हुलदंगा गर्नुभएको थियो, उहाँ जबरस्ती काम गरी रहनु भएको छ, यस्तै डा. सन्तोष साहलाई हामीले बोलाएका होइन, उहाँको बुवा जानकी आँखा अस्पतालमा काम गर्ने हुँदा अभ्यासका लागि यहाँ ल्याउनु भएको हो, डा. रञ्जना ठाकुरलाई पनि मन्त्रालयले काजमा पठाएको थियो र उहाँलाई पनि मन्त्रालयले पारिश्रमिक दिएको थियो । त्यसकारण जति पनि आरोप लगाएका छन् सबै निराधार छन्, आवश्यक परे प्रमाण पनि दिन सकिन्छ ।” 

अस्पतालमा हातपात भएपछि अहिले डा. बोहरा काठमाडौं जानु भएको छ । उहाँले भन्नुभयो,“ज्यान सुरक्षित हुने अवस्था नदेखेपछि काठमाडौं आएको हुँ, त्यहाँको समस्यालाई समाधान गर्ने पहल पनि भइरहेको छ । त्यसका लागि सोमबार बैठक बस्ने कुरा थियो तर, त्यसैबिचमा पार्टीका कार्यकर्ता बोकेर कार्यकक्षमै आएर हातपात गरियो ।” 

डा. बोहराले भन्नुभयो,“अस्पतालमा कर्मचारीको कमी छ, हामीले विज्ञापनबाट कर्मचारी आह्वान गर्ने प्रबन्ध मिलाइरहेका छौं, त्यसमा योग्यता अनुसार आवेदन दिन सकिन्छ, यसरी जबरजस्ती कसैले जागीरमा नियुक्ती गर भनेर गर्नु कुनै नियम कानुमा छैन, अस्पताललाई अस्पताल जस्तो रहन दिनुपर्छ, कुनै राजनीतिक दल वा परिवारवाद हावी हुनु हुँदैन ।”

मंलबारसम्म पनि अस्तपतालको सेवा अवरुद्ध हुँदा विभिन्न स्थानबाट आए पनि पनि सेवा नपाउँदा सेवाग्राही आक्रोशित बनेका थिए । सेवा नदिए अस्पताल किन खोल्नु भन्दै आक्रोशित भएका थिए ।  

डा. अमित र डा. सन्तोषले रुखको छहारी र टेन्ट लगाएर अस्पताल प्रांगणमा सेवाग्राहीलाई सेवा दिँदै आएका छन् ।