• ८ साउन २०८१, मङ्गलबार

ह्युमपाइप राखेर ओहोरदोहोर

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, साउन ८ गते   । अविरल वर्षाका कारण बाढीपहिरोले अरनिको लोकमार्ग, कोदारी लोकमार्ग र ग्रामीण सडकका संरचना बिगार्ने, भत्काउने भइरहेको छ । कतिपय सडकखण्डमा बाढीपहिरोले बगाएको ठाउँमा ह्युमपाइप राखेर सडक सुचारु गर्न थालिएको छ । ह्युमपाइप राखेर सडक सञ्चालन गरिए पनि केही घण्टाको भारी वर्षाले ह्युमपाइपसहित सडक बगाएको छ । बगाएको सडकमा पुनः ह्युमपाइप हालेर फेरि सडक सुचारु गरिने क्रम निरन्तर चलिरहेको छ । 

यस्तै गत असार ३१ गते राति बाह्रबिसे नगरपालिका–३ स्थित खाग्दल खोलाको भीषण बाढीले बाह्रबिसे–कोदारी खण्ड खाग्दलको बेलिब्रिजसहित सडक बगाएको थियो । उक्त खण्डमा बाह्रबिसे नगरपालिकाको विशेष सक्रियतामा ह्युमपाइप हालेर सडक सुचारु गरिएको थियो तर दुई घण्टा नबित्दै बाढीले सडक र ह्युमपाइप बगायो । बाढीपहिरोबाट जनतालाई सुरक्षित राख्न र अवरुद्ध सडक खुलाउन नगरपालिका चौबिसै घण्टा तयारी हालतमा रहेको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । 

यस्तै कोदारी खण्डको लिपिङ खण्ड, १० किलो, डाक्लाङ, कोदारी, झिर्पु, सिरिचौरलगायत खण्डमा भोटेकोशी नदीले तान्ने र ठाडोखोलाले सडक बगाउने भएपछि दैनिक रूपमा सडक अवरुद्ध हँुदै आएको छ । कोदारी लोकमार्ग अवरुद्ध हुँदा तातोपानी भन्सार कार्यालयबाट राजस्व सङ्कलनमा बाधा हुँदै आएको छ । अविरल वर्षाले अहिले पनि उक्त सडकखण्डमा माथिबाट पहिरो झर्ने र तलबाट नदीले तान्ने भइरहेको छ । त्यसकारण मालवाहक कन्टेनर, यात्रुवाहक सवारीसाधन रोकिँदै आएका छन् । सडक अवरुद्ध हुँदा तातोपानी भन्सारबाट दैनिकी सवा अर्ब रुपियाँ राजस्व सङ्कलनमा अवरोध पुग्दै आएको छ । 

यस्तै मेलम्चीको काफ्ले र खाल्डेखोलाले सडक कटान गर्ने क्रम रोकिएको छैन । पाँचपोखरी थाङपाल गाउँपालिकाका अधिकांश सडक बाढीले बगाएको छ । याङ्ग्री र लार्के नदीको बाढीले चिन्डे, बरुवा, धाप जोड्ने बेलिब्रिजसहित त्यहाँका चार वटा झोलुङ्गे पुल बगाएको छ । निर्माणाधीन पक्की पुलमा समेत बाढीले क्षति पु-याएको छ । 

बाढीका कारण १६ घरपरिवार विस्थापित भएका छन् । मेलम्ची–तिपेनी–भोताङ मोटरबाटो खण्डहर बनेका छन् । बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति पु-याएको छ । बाढीको बहाव बढ्न थालेपछि मेलम्ची बाढीका तटीय क्षेत्र, भोटेकोशी, सुनकोशी नदीका तटीय क्षेत्र, ब्रह्मायणी, इन्द्रावती नदी तटीय क्षेत्रका स्थानीय त्रासमा बस्न बाध्य छन् ।