• २८ वैशाख २०८१, शुक्रबार

बेलबटमको पुरानो फेसन नयाँ लुक्स

blog

यलु जोशी 

काठमाडौँ, वैशाख २० गते  । समय फेसनको छ, समयअनुसारको फेसन फलो गर्नेहरू दिनानुदिन बढेको पाइन्छ । समयको माग र बजारमा चलेको ट्रेन्डलाई फरक तरिकाले फेसन गर्नेहरूमा सहरिया युवापुस्ता निकै अगाडि छन् । साना नानीदेखि पाकाहरूसम्मलाई फेसनले निकै प्रभाव पारेको देखिन्छ ।

९० को दशकमा निकै लोकप्रिय गरेको बेलबटम फेसन यो वर्ष युवापुस्ताको रोजाइमा परेको छ । जिन्स पनि त्यस्तै छ । बढ्दो मागसँगै यसमा प्रयोग हुने स्टाइल क्रमिक रूपले परिवर्तन भइरहेको पाइन्छ । वर्षैपिच्छे डिजाइन फेरिनु नै जिन्सको विशेषता हो ।हलिउडका चर्चित कलाकारहरू बेलबटम डिजाइनमा सजिएर अवार्ड कार्यक्रमको रेड कार्पेटमा ओर्लिएका थिए । अहिले पनि बेलबटमले युवापुस्ताको मन छोएको छ । फेसन डिजाइनर रुवि महर्जनले भन्नुहुन्छ, “कुनै बेला ‘बुटकट’ र ‘बेलबटम’ जिन्स सर्वाधिक चलेका बेला ‘स्किनी’ जिन्सले तिनलाई प्रतिस्थापन गर्यो । तर दस–पन्ध्र वर्षको अन्तरालमै ती दुवै जिन्स फेरि फेसनमा छाउन थालेका छन् ।

उहाँको अनुसार कुनै समय लोकप्रिय रङ्गीन जिन्स पनि बीचमा केही समय हराएर फेरि ट्रेन्डमा आएको छ । त्यस्तै पहिले पुरुषले खुकुलो र महिलाले टाइट जिन्स लगाउने चलन थियो । अहिले त्यो उल्टिएको छ । विदेशमा आउने नयाँ ट्रेन्ड सिनेमा, टेलिशृङ्खला, म्युजिक भिडियो र पछिल्लो समय फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरूबाट तुरुन्तै नेपालमा फैलिन्छ । त्यही अनुरूप फेसन पनि आउने र जाने गर्ने महर्जनको भनाइ छ ।

सङ्गीतकर्मीहरूले पुराना गीतमा नयाँ धुन भरेर रिमिक्स बनाएजस्तै पुराना डिजाइनको लुगामा हल्का परिवर्तन गरेर नयाँ शैली दिनु फेसन ट्रेन्ड नै हो, अर्का फेसन डिजाइनर आस्तिक शेरचनले भन्नुभयो । मान्छेको यही चाहनाले समयक्रममा पुराना डिजाइन फर्किने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार लुगाको डिजाइन कहिल्यै हराएर जाँदैन, एक न एक दिन फर्केर आउँछ । 

जसरी जिन्सका डिजाइन घरिघरि फर्केर ट्रेन्डमा आउँछन्, अन्य लुगामा पनि त्यही लागू हुने उहाँको भनाइ छ । फेसन पारखीहरूको रुचि र बजारको लहर पक्रेर आफूलाई त्यसमा ढाल्नु डिजानरहरूका निम्ति सधैँ चुनौतीपूर्ण हुने शेरचनले बताउनुभयो । 

“फेसन भनेको यो आयो, गयो भन्ने हुँदैन, फेसन सधैँ एउटै नै हो; मात्र त्यसमा केही फेरबदल हुन्छ । त्यही नै फेसन हो ।” सोन्दर्यविज्ञ कमला श्रेष्ठ भन्नुहुन्छ । पुरानो फेसनमा केही परिवर्तन गरेर बजारमा ल्याइएको नयाँ स्टाइल नै फेसन हो । उहाँले आफू युवती हँुदा पनि बेलबटम पाइन्ट लगाएको सम्झँदै अहिले पनि यसको ट्रेन्ड छ भन्नुभयो । 

शारीरिक बनोटका आधारमा फेसन गर्नुपर्छ, हामी सबैको शारीरिक बनोट, रङ्ग, आकार फरक हुने भएकाले कस्तो फेसनको लगाउने भनी ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । यसले सुन्दरतामा निखार ल्याउने उहाँले बताउनुभयो । फेसनको सेन्स भए सुन्दर देखिन सकिने धारणा उहाँको छ । पहिलेभन्दा अलि फरकमा फेसन आइरहेने र अफू तन्नेरी हुँदा गरिएको फेसन अहिले पनि चल्दै आएको उहाँले बताउनुभयो  ।