• ८ साउन २०८१, मङ्गलबार

सवारी दुर्घटनामा कमी

blog

ढल्केबर समाचारदाता

ढल्केबर, साउन ८ गते  । धनुषामा विगतका तुलनामा आर्थिक वर्ष २०८०/८१ मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरी कार्यालय धनुषाको तथ्याङ्क अनुसार आव २०७८/७९ मा ९७४ सवारी दुर्घटना हुँदा १०५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी ५४० जना गम्भीर घाइते भएका थिए । आव २०७९/८० मा एक हजार १६ सवारी दुर्घटनामा परेर ८४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी ४५६ गम्भीर घाइते भएका थिए । यस्तै आव २०८०/८१ मा एक हजार ९१ सवारीसाधन दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक हरिबहादुर वलीले ट्राफिक सचेतना कार्यव्रmम र प्रहरी कारबाहीको प्रभावकारिताका कारण सवारी दुर्घटना तथा मानवीय क्षति कम भएको दाबी गर्नुभयो ।

त्यस्तै सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्दा राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ । आव २०८०/८१ मा २९ हजार ६५ सवारीलाई कारबाही गर्दा दुई करोड ३४ लाख ५१ हजार ५०१ रुपियाँ राजस्व सङ्कलन भएको छ । 

आव २०७९/८० मा ३८ हजार ४४९ वटा सवारीसाधनलाई कारबाही गर्दा दुई करोड ६० लाख एक हजार रुपियाँ सङ्कलन भएको थियो । यसै गरी आव २०७८/७९ मा २४ हजार ७८८ वटा सवारीसाधनलाई कारबाही गर्दा एक करोड ९७ लाख ५६ हजार रुपियाँ राजस्व सङ्कल भएको थियो । 

प्रहरी निरीक्षक वलीले सवारीसाधनलाई कारबाही गरी बढी राजस्व सङ्कलन गर्नेभन्दा पनि सवारी दुर्घटनामा कमी, मानवीय क्षति र सावरीसाधनको क्षति कमी गराउने मुख्य उद्देश्य रहेको बताउनुभयो । सवारी दुर्घटना न्यूनीकरण गर्न पैदलयात्रु, चालक, विद्यार्थीलगायत सर्वसाधारणमाझ जनचेतना कार्यक्रम गरिँदै आएको बताउनुभयो । उहाँले आव २०८०/८१ मा मात्र दुई हजार ३३८ वटा सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिनुभयो । 

सवारी दुर्घटना हुनुमा यातायातका साधनमा हुने यान्त्रिक गडबडी, तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सडकको अवस्था नहेरी ओभरटेक गर्ने, पुलमा जबरजस्ती दुवैतर्फबाट गाडी हुल्ने, रातको समयमा लाइट डिम नगर्ने, जथाभाबी सडक पार गर्न खोज्ने जस्ता लापर्बाहीले दुर्घटना हुने गरेको प्रहरी निरीक्षक वलीको भनाइ छ ।