• १३ साउन २०८१, आइतबार

आचारसंहिता पालना गर्न निर्देशन

blog

आचारसंहिता पढेर सुनाउँदै निर्वाचन अधिकृतको कार्यालय दमकका निर्वाचन अधिकृत केशवप्रसाद पन्त ।

दमक समाचारदाता 

दमक, वैशाख २० गते ।निर्वाचन अधिकृतको कार्यालय दमकले आचारसंहिता पालनाका लागि राजनीतिक दललाई सचेत गराएका छन् । राजनीतिक दलले नै आचारसंहिता बनाएकाले त्यसलाई पूर्ण पालना गर्न राजनीतिक दललाई निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ । झापाको दमकमा दलहरूबाट आचारसंहिता पालना नभएको मौखिक उजुरी परेपछि निर्वाचन अधिकृतका केशवप्रसाद पन्तले दलहरूसँग यस्तो आग्रह गर्नुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका स्थानीय प्रतिनिधिलाई बोलाएर आचारसंहिता पढेर सुनाउँदै सोहीअनुसार गर्न निर्वाचन अधिकृत पन्तले आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “आचारसंहिता पालना नगरेको भनेर गुनासो तथा उजुरी नपरोस भन्ने हाम्रो चाहना हो । आचारसंहिता पालना भएमा कानुुनअनुसार चल्न बाध्य हुनेछौँ ।”

उहाँले सवारी साधनमा धेरै झन्डाको प्रयोग, तोकिएको भन्दा फरक किसिमको प्रचार शैली अपनाएको, सार्वजनिक स्थलमा झन्डाको प्रयोगलगायत विषयमा निर्वाचन कार्यालयमा मौखिक उजुरी परेको जानकारी दिनुभयो । दमकमा ८० प्रतिशतभन्दा बढी आचारसंहिता पालना भएको छ तर २० प्रतिशत पनि पालना गर्न दललाई निर्वाचन अधिकृत पन्तले आग्रह गर्नुभयो ।

राजनीतिक दलका स्थानीय नेतृत्वले आफूूले आचारसंहिताको विषयमा जानकार रहेको र त्यसको पालनाप्रति प्रतिबद्धता जनाउनु भएको थियो । नेकपा (एमाले)का नेता होमबहादुर थापाले सार्वजनिक स्थलबाट झन्डा हटाउन एक दिनको समय माग गर्दै सार्वजनिक स्थलबाट आफैँ झन्डा हटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “हामी आफैँ झन्डा हटाउँछाँै र सवारी साधनमा पनि तोकिएअनुसार मात्र झन्डा राख्छाँै ।” नेकपा (माओवादी केन्द्र)का नेता शङ्कर बस्नेतले आचारसंहिता पालना गर्दा चुनाव प्रचारप्रसार भड्किलो र खर्चिलो नहुने भएकाले यसलाई सकारात्मक रूपमा लिएर पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन दलहरू आ–आफ्ना झन्डा राख्दा धेरै देखिएको हुनसक्छ । यस विषयमा हामी गम्भीर छौँ । गम्भीर बन्छौँ । आचारसंहिता पालना गर्छौ ।”

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले आचारसंहिता पालना नगर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर निर्वाचन नसकिएसम्म राखिने बताउनु भयो । दमकमा आचारसंहिता पालना भएन भनेर दैनिकजसो प्रमुख जिल्ला अधिकारीबाट फोन आइरहेको र अब यसलाई सामान्य रूपमा नलिइने प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

प्रशासन तथा प्रहरीले झन्डा झिक्यो वा तुल हटायो भनेर भन्ने अवस्था आउन नदिन आफँै आचारसंहिता पालना गर्न उहाँले आग्रह गर्नुभयो । भन्नुभयो, “हामीले सवारी साधनबाट झन्डा झिक्ने र सवारी साधन नियन्त्रणमा लिएर प्रहरी कार्यालयभित्र राख्ने अवस्था आउन नदिने वातावरण बनाउन मेरो आग्रह छ ।”