• १७ असार २०८१, सोमबार

मतपत्र आइपुग्यो, निर्वाचन सामग्री पठाउने तयारी

blog

दार्चुलाका लागि आएका मतपत्र बुझ्दै सरोकारवालाहरू ।तस्बिर :लोकेन्द्र जोशी

दार्चुला समाचारदाता

दार्चुला, वैशाख २० गते । स्थानीय तह निर्वाचनमा दार्चुलाका लागि आवश्यक पर्ने मतपत्र जिल्ला सदरमुकाम खलङ्गा आइपुगेको छ । दार्चुलाका नौवटै स्थानीय तहका लागि ९० हजार नौ सय मतपत्र आइपुगेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।दार्चुलामा मतपेटिकालगायत सामग्री यसअघि नै आइपुगेका छन् । जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीका अनुसार निर्वाचन सामग्री गाउँ पठाउने तयारी भइरहेको छ, धामीले भन्नुभयो । उहाँले निर्वाचनका लागि चाहिने आवश्यक सामग्री दार्चुला आइपुगेको र सबै सामग्री चेकजाँच गरेर प्याकिङको काम भइरहेको जानकारी दिनुभयो ।

वैशाख २७ गतेभित्र सबै स्थानीय तहका निर्वाचन स्थल र मतदान केन्द्रमा आवश्यक सामग्री पु-याइसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार दार्चुलामा यो पटक एक सय नयाँ मतपेटिका ल्याइएको छ । यसअघिका पाँच सय बढी मतपेटिका सुरक्षित छन् । 

मतपेटिका, मतपत्र, मतदाता परिचय पत्रसहित छेकवार, स्वस्तिक छाप, मसिदानी, मतदाता नामावलीको सूचीलगायत सामग्री दार्चुला पुगेका छन् । ८८ हजार २८५ मतदाता रहेको दार्चुलामा ११० वटा मतदान स्थल र १३९ वटा मतदान केन्द्र रहेका छन् । 

एक हजारभन्दा बढी कर्मचारी खटिने

स्थानीय तह निर्वाचनका लागि दार्चुलामा एक हजार ८१ जना कर्मचारी खटिने भएका हुन् । नौवटै स्थानीय तहका ११० मतदान स्थल र १३९ मतदान केन्द्रमा एक हजार ८१ कर्मचारी खटाउने तयारी छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदीपसिंह धामीका अनुसार जिल्लामा १३९ जना मतदान अधिकृत, १३९ जना सहायक मतदान अधिकृत, २४७ जना सहायक कर्मचारी, १३९ जना सहयोगी र ४१७ जना स्वयंसेवक निर्वाचनमा खटिनेछन् । 

निर्वाचनमा खटिने कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको छ, धामीले भन्नुभयो, कुन क्षेत्रबाट कर्मचारी खटाउने मुख्य निर्वाचन अधिकृतको अधिकार हो । यो पटक सबैभन्दा बढी मतदान केन्द्र दुहुँ गाउँपालिकाको गोरीलमाण्डौँ मावि हिकिलामा छ । हिकिलामा तीनवटा मतदान केन्द्र छन् । 

निर्वाचन सुरक्षाका लागि सशस्त्र परिचालन

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि दार्चुलामा ३६० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । निर्वाचन अधिकृत कार्यालयको सुरक्षा, मतदान स्थल, मतगणना स्थल र मतदान केन्द्रको सुरक्षाका लागि दार्चुलामा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्टले जानकारी दिनुभयो । 

निर्वाचन सुरक्षाका लागि प्रत्येक गाउँपालिकामा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २३ जना तथा नगरपालिकामा २८ जनाको टोली परिचालन गरिएको उहाँले बताउनुभयो । मतदानको दिन सशस्त्र प्रहरी बलको टोलीले दोस्रो घेरामा बसेर सुरक्षा दिने छ । राष्ट्रिय सुरक्षा नीतिअनुसार सशस्त्र प्रहरीलाई निर्वाचनमा दोस्रो घेरामा परिचालन गर्ने योजना बनाएको छ । निर्वाचनको सुरक्षाकै लागि दार्चुलाबाट बैतडी र डडेल्धुरा जिल्लामा समेत सशस्त्र प्रहरी परिचालन भएका छन् । 

एक निर्वाचन अधिकृतको कार्यालय सुरक्षामा वरिष्ठ हवलदारको कमान्डमा चार जनाको टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।जिल्ला सुरक्षा समितिले संवेदनशील क्षेत्रका पमा पहिचान गरेका मतदान स्थलमा सशस्त्र प्रहरीले निर्वाचन अवधिभर अस्थायी बेस क्याम्प स्थापना गरेर सुरक्षा दिने बताइएको छ । सुरक्षाका लागि मोबाइल स्ट्राइकिङ टोली तयारी अवस्थामा रहेको गणपति विष्टले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिले जिल्लाका ११ अति संवेदनशील, ११ संवेदनशील र ८८ वटा स्थल सामान्यमा राखेको छ । म्यादी प्रहरीलाई तालिम दिएर स्थानीय प्रहरी चौकीमा पठाइएको छ । जिल्लाभरि ७५८ जना म्यादी प्रहरी सम्बन्धित स्थानीय चौकीहरूमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।