• ५ साउन २०८१, शनिबार

भक्तिधाराको लोकसाहित्य खैजेडी भजन

blog

नेपाली साहित्यलाई जसरी शास्त्रीय, परिष्कार, स्वच्छतावादी धाराले सिँगार्ने काम गरेको छ, त्यसरी नै भक्तिधाराले पनि सिँगारेको छ । नेपाली साहित्यमा भक्तिकालको छुट्टै स्थान छ । यसलाई स्वर्णकाल पनि मानिन्छ । यो कालमा सन्त कविहरूले आफ्ना अमृत वाणीले जनमानसलाई सिञ्चित गरेका छन् । ज्ञानको दीप जलाएका छन् । आफ्ना अमृत वाणीले पतन उन्मुख समाजमा नवचेतना जागृत गरेका छन् भने भक्तिधाराको साहित्य, सङ्गीतले मानिसलाई ईश्वरको भक्तिमा रमाउन सिकाएको छ । 

जसरी शिष्ट साहित्यलाई भक्ति धाराले सिँगार्ने काम ग‍¥यो, लोकसाहित्यलाई पनि सिँगार्ने काम ग‍¥यो । यही धारा अन्तर्गत बालन, धमारी, चुड्का, रोइला झैँ लोकसाहित्यका विधा जन्मियो । लोकसाहित्यको प्रमुख विधामध्येको एक विधा हो (लोक खैजेडी भजन) ।

लोकसाहित्यको इतिहास पनि मानव जातिको इतिहास जति नै पुरानो छ । सरल रूपमा भन्नु पर्दा लोकद्वारा लोकभाषामा रचित साहित्य नै लोकसाहित्य हो । साधारण जीवन विशिष्ट जीवनभन्दा फरक हुन्छ । यसैले पनि यसको आदर्श विशिष्ट साहित्यको भन्दा फरक हुन्छ । यसका भाषाहरू शिष्ट साहित्यका झैँ हुँदैनन् । साधारण जनताका भाषा हुन्छन् । यसमा वर्णन गरिने विषयवस्तु लोकजीवनमा गृहित चरित्र, भाव र प्रभावमा सीमित हुन्छ । यस्तो साहित्यमा सिङ्गो समाजको योगदान हुन्छ । व्यक्ति नभएर समग्र लोकको छाप हुन्छ ।

भक्ति धारा अन्तर्गतको लोक खैजेडी भजनलाई पनि यही कसीमा राखेर हेर्नु आवश्यक छ । लोकलयमा आधारित लोक खैजेडी भजन लोक गाथाको कथात्मक गीत हो । यसमा लोकको व्यापक अनुभव र अनुभूति भेटिन्छ । यसलाई लोकको महाकाव्यका रूप पनि मानिन्छ । यो अतितको परम्पराको संवाहक पनि हो । यसका तìवहरू ऋग्वेदका स्तुतिमा पनि पढ्न पाइन्छ । लोकखैजेडी भजनमा पनि पुराण, भागवत, रामायण, महाभारत कृष्ण चरित्र आदिका कथात्मक गीतका सिलसिलाहरू देख्न र सुन्न पाइन्छ । 

खैजेडी नामको लोकबाजाको तालमा गाइने भजन भएको हुनाले यसलाई खैजेडी भजन भनिन्छ । यो डम्फुभन्दा केही सानो हुन्छ । केही सानो काठको घेरामा मुजुरा जोडिएको हुन्छ । रामायण, महाभारत आदि ग्रन्थमा यो बाजाको प्रयोगको पर्याप्त उल्लेख पाइन्छ । यो आदिकालदेखिको लोकबाजा हो । सालाखाला दुईदेखि चार इन्चसम्म गहिरो यो बाजाको व्यास भने सातदेखि नौ इन्चसम्म हुन्छ । कहीँ कहीँ चार वटा प्वाल पारेर मुजुरा पनि जडान गरिएको हुन्छ । झुलुक्क हेर्दा यो बाजा डम्फु, डफा, ढ्याङ्ग्रो झँै देखिन्छ ।

खैजेडी भजन वैदिक सनातनी आर्यहरूमा अधिक प्रचलनमा रहेको पाइन्छ । आर्यहरू जहाँ जहाँ पुगेका छैन, त्यहीँ त्यहीँ सभ्याता विकास गरेका छन् । हिमालको धुरीदेखि त्यसका थोपाहरू पुग्ने विशाल हिन्द महासागरसम्मका क्षेत्रमा बसोबास गर्ने हिन्दुहरूको सभ्यताभित्रको ज्वलन्त उदाहरण हो, लोकखैजेडी भजन । यो भजन वैदिक सनातनी हिन्दु धर्ममा आस्था राख्ने सबैले उत्तिकै श्रद्धाका साथ गाएको नाचेको पाइन्छ । यो भजन पूजाआजा, सत्यनारायण पूजा, ठुलो एकादशी, लाखबत्ती प्रज्वलन, सप्ताह, नवाह, चौमास, तिहार, ग्राम देवी, देवताको उत्सव आदिमा लोकवाजाका साथ गाएको नाचेको पाइन्छ ।

जब कुनै स्थानमा धार्मिक अनुष्ठानको आयोजना हुन्छ । गाउँको भजन टोलीलाई निमन्त्रणा गरिन्छ । टोली नाइकेले सबै चाँजोपाँजो मिलाउँछ । उसले खैजेडी बजाउन, नाच्न निपुण आठ नौ जनाको समूह गठन गर्छ । भट्याउने व्यक्ति आकर्षक र धार्मिक ग्रन्थहरूको व्यापक अध्यन गरेको हुनु पर्छ । भट्याउँदा मूल कथालाई तोडमोड गर्न भने पाउँदैन ।

जब टोली धार्मिक अनुष्ठान भएको स्थानमा आउँछन् । दही अक्षताको टीका लगाएर फूलमाला पहि¥याएर स्वागत गरिन्छ । भट्याउने व्यक्तिसहित समूह वृत्ताकार भएर वरिपरि बस्छन् । भट्याउनेले पौराणिक ग्रन्थका गाथाहरूका कुनै पात्रलाई उठाएर टुव्रmा झिकी त्यस टुव्रmालाई लम्ब्याउँदै भजन गाउँछ । सुरुमा कथानकको अंशलाई गद्यात्मक रूपमा प्रस्तुत गरिन्छ । त्यसपछि पद्यात्मक भजन सुरु हुन्छ ।

यो भजनको थेगोमा भने राम र नारायणको नाम आउँछ । 

रमेण, कणे कणे इतिरामस्य

रमन्ते सर्बेजन गुणहिन अश्विन रामु । 

अर्थात् जो कणकणमा छन् जो सबै गुणमा रम्छन्, तिनै राम हुन् । हाम्रो आर्यव्रतमा सधैँ राम रमण गर्छन् । हाम्रो आर्यव्रत सधँै राममा रमण गर्छ । उनी हाम्रा वरिपरि छन् । आकाशमा राम धनुष भएर देखा पर्छन् । नदीमा रामगङ्गा भएर बग्छन् । पहाडमा रामगिरि भएर चुलिन्छन् । वृक्षहरूमा रामपिपल भएर शीतल हावा प्रवाहित गर्छन् । शिष्टाचारमा आपसमा राम राम चल्छ । हर्षमा धन्य राम राम चल्छ । विस्मातमा हे राम चल्छ । जीवनको अन्त्यमा राम नाम सत्य चल्छ । अद्भुत बेदाग चरित्र, अतुलनीय सादगी, उल्लेखनीय त्याग, सहारनीय आत्मबलिदानले भरिएका राम सनातनीहरूका अप्रतिम भगवान् हुन्छ । खैजेडी भजनमा सुरुदेखि अन्तसम्म उनै अप्रतिम भगवान् र नारायण प्रत्येक गेडाका थेगो, रहनी, ठक्कनमा जोडिइ नै रहन्छ । जस्तो कि भट्याउनेले सुरु गर्दा 

राम राम राम हरि राम

 रामचन्द्रलाई दैव लाग्दा बनै जानु प‍-यो 

सीताजीलाई दैव लाग्दा 

रावणले ह‍-यो 

यति भनिसकेपछि खैजेडी मुसार्दै नारायण भन्छ । समूहले हरि हरि भन्छन् । भट्याउनेले भन्छ,

हे रुन्छिन् सीतामाई ।

समूहले त्यसलाई पछ्याउँछ ।

हो हो रुन्छिन् सीतामाई ।

भट्याउनेले फुँदा र टुक्का गाँस्छ । 

अशोकको वनमा 

पीडा बोकी मनमा 

रुन्छिन् सीतामाई 

समूहले उफ्रिँदै, बस्दै, भुइँ ढोग्दै, कम्मर मर्काई दुई जना खैजेडी बजाउँदै दायाँबायाँ घुमेर नाच्दै भट्याउनेका फुँदा, टुक्का गेडा पछ्याउँदै गाइरहन्छ । 

हो हो रुन्छिन् सीतामाई ।

हो हो रुन्छिन् सीतामाई ।

यस्तो ढाँचाबाट सुरु हुने भजनमा सुरुमा सन्जे जगाइन्छ । कुलपितृ देउतालाई जुहारिन्छ । दियो कलशको मन्त्र जप गरिन्छ । विध्न हर्ता गणेशको आरधना गरिन्छ । 

भट्याउने ः जय गुरु गणेश 

समूह ः हो हो जय गुरु गणेश

भट्याउने ः शिरमा आई 

बास गरिदेऊ, जय गुरु गणेश

समूह ः हो हो जय गुरु गणेश 

एवं रीतले आफ्ना गाउँठाउँका सिमेभुमे नागनागिनीका पुकारा गरिन्छ । घरका चारै सुरका देउता, पाञ्चायन देउता साथै पशुपतिनाथको आराधना गरिन्छ ।

भट्याउने ः यतैबाट नमस्कार 

समूह ः हरे राम यतैबाट नमस्कार 

भट्याउने ः पशुपतिनाथलाई गुह्य आर्यघाटलाई 

यतैबाट नमस्कार 

समूह ः हो हो यतैबाट नमस्कार 

यस्ता भजनलाई गहिरिएर अध्ययन गर्ने हो भने मूलतः यसमा लोकजीवनका धार्मिक भावना विश्वासको अभिव्यक्ति पाइन्छ । यस्ता भजनहरूमा रहस्य भावना, साम्य भावना, जीवनको क्षणभङ्गुरता, ज्ञान, वैराग्य साधुसन्तको आत्माको विस्मृति आदिलाई लयात्मक रूपमा प्रस्तुत गरिन्छ । पुराना भजन गायक भरत भण्डारीको स्वरमा रहेको यी गेडाहरूमा यस्तै भाव झल्किन्छ । 

भट्याउने ः व्यर्थै जन्मेछु

समूह ः हो हो व्यर्थै जन्मेछु

भट्याउने ः पृथ्वीलाई भारी 

त्यसै फूले दाह्री, व्यर्थै जन्मेछु 


भट्याउने ः के रहेछ संसारमा

समूह ः हो हो के रहेछ संसारमा

भट्याउने ः चलचित्र नाटक 

गजबको चटक 

के रहेछ संसारमा 

यस्ता भजनमा भगवान्प्रतिको असिम प्रेम, भक्ति दर्साइएको हुन्छ । 

भट्याउने ः सब लीला तिम्रै छ

समूह ः सब लीला तिम्रै छ

भट्याउने ः मुजुर कल्की माथमा

वंशी बाजा हातमा 

सब लीला तिम्रै छ

समूह ः हो हो सब लीला तिम्रै छ । 

यस्ता भजनको उद्देश्य भनेको भक्ति भाव जगाउनु हो । खैजेडी भजनमा पुराणका सबै कथालाई उत्तिकै महìवका साथ गाइने भए पनि प्राय स् सगुण भक्ति धारा अन्तर्गतको भजन राम भक्ति र कृष्ण भक्तिमा अधिक केन्द्रित भएको पाइन्छ । 

भट्याउने (चले लङ्कामा) 

समूह ः हो हो चले लङ्कामा

भट्याउने ः रामको वाहन 

वीर हनुमान चले लङ्कामा

समूह ः चले लङ्कामा 

भट्याउने (कृष्ण अवतार)

समूह ः हो हो कृष्ण अवतार

भट्याउने ः मथुराको कारागारमा

कृष्ण अवतार 

समूह : हो हो कृष्ण अवतार ।

यस्ता भजनमा कतै कतै दर्शक, श्रोतालाई मनोरञ्जन प्रदान गर्न हातमा धनु लिएका राम, बन्चरो लिएका परशुराम, गधा लिएका हनुमान, मुजुरको कल्की पहिरिएका, बाँसुरी बजाइरहेका कृष्ण आदिका झाँकीहरू प्रस्तुत गरिन्छ । यस्ता गीतहरूमा दुई जाना खैजेडी बजाउँदै आपसमा कुम जुधाउँदै खुट्टा उचाल्दै नाचेको दृश्यले सबैलाई नाचौँ नाचौँ बनाइरहेको हुन्छ । जाग्राम सकिएपछि मादी सेलाउन लगिन्छ र धार्मिक अनुष्ठान समापन हुन्छ । भजन टोलीलाई यथोचित दक्षिणा दिने र आशिष भजन दिएपछि भजन विधिवत् रूपमा विसर्जन हुन्छ ।

मानवलाई आनन्दित पार्ने यी त्यस्ता साहित्य हुन् जसको माध्यमबाट युगौँयुगका आर्थिक, राजनीतिक, सांस्कृतिक परिस्थितिका जानकारी प्राप्त हुन्छ । अतितलाई वर्तमानसँग जोडेर परस्पर समन्वय कायम गर्न यसको महìवपूर्ण भूमिका हुन्छ । यस्ता लोकगाथा युग युगसम्म जीवित रहनु पर्छ ।  मधुपर्क