• १६ चैत २०८०, शुक्रबार

विविधता नै नेपाली समाजको पहिचान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सबैलाई समान अवसर प्रदान गरेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद उल फित्र)का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्य रहिआएको बताउनुभयो । 

उहाँले अनेकौँ जातजाति, भाषा, धर्म र संस्कृतिलाई आत्मसात् गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्नु सबैको साझा कर्तव्य रहेको सन्देशमा बताउनुभएको छ । इद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पु-याएको शुभकामना सन्देशमा उल्लेख छ ।  

राष्ट्रपति भण्डारीले इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै इदका अवसरमा मान्यजनबाट आशीर्वाद लिने एवं आपसमा खुसी आदानप्रदान गर्ने प्रचलनले मानवीय पक्षलाई प्रतिविम्बित गर्ने चर्चा गर्नुभएको छ । इद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने उहाँले उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय एकता थप मजबुत बनाउने

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले इद पर्वले नेपाली राष्ट्रिय एकता र अखण्डता थप मजबुत बनाउने उल्लेख गर्नुभएको छ । इद (इद उल फित्र)का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले इद पर्वले समुदायहरूबीच आपसी सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको बताउनुभएको छ । 

यस अवसरमा शुभकामना सन्देश दिँदै उहाँले “धर्म, संस्कार र संस्कृतिहरू हाम्रा अमूल्य निधि हुन्, यस्ता अमूल्य निधिको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व हो” भन्नुभएको छ । उहाँले राज्यले पनि यस्ता अमूल्य निधिको संरक्षण, विकास र प्रवद्र्धनको नीति लिएको स्पष्ट पार्दै हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र संवद्र्धन गर्न यस पर्वले सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । यसैबीच आज सरकारले सार्वजनिक बिदा दिएको छ ।