• ४ जेठ २०८१, शुक्रबार

आचारसंहिताविरुद्ध जानेलाई कारबाही हुन्छ : अध्यक्ष बस्नेत

blog

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत ।

दीपा चौधरी 

काठमाडौँ, वैशाख १९ गते । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले पत्रकार आचारसंहिता लागू गरेको छ । निर्वाचनका लागि पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न भन्दै आयोगले आचारसंहिता लागू गरेको हो । 

पत्रकारले आचारसंहिताको सहि सदुपयोग गर्नुपर्ने भन्दै पत्रकारका लागि निर्वाचनको समयमा मात्र आचारसंहिता लागू नभई सधैँ लागू हुने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभयो । पत्रकारका लागि सधैँ आचारसंहिता लागू हुन्छ, निर्वाचन आचारसंहिता, २०७८ को प्रतिकूल हुने गरी कसैले कुनै पनि काम गर्न नहुने भनाइ अध्यक्ष बस्नेतको छ ।

प्रेस काउन्सिलले सबै मिडिया तथा पत्रकारलाई तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरेको छ । ‘यसको गरिमा, साख र चरित्र बचाउन हरेक पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ,’अध्यक्ष बस्नेतले भन्नुभयो,‘पत्रकार सधैँ आचारसंहिताभित्र बस्नुपर्छ, आचारसंहिताभित्र नबस्नेलाई काउन्सिलले कारबाही गर्छ ।’

पत्रकार निर्वाचनका बेला झन् बढी सचेत, सजग र निष्पक्ष हुनुपर्छ । ‘पत्रकार चुनवामा अझ गम्भीर हुनुपर्छ, किनभने, पत्रकारले कसैको पक्ष लिएर, ढल्केर, समाचार सम्प्रेषण गरेमा खास कुरा जनतामा नपुग्ने हुन्छ,’ यो समयमा सबै सञ्चारकर्मीहरुले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहितालाई विशेष ख्याल गर्न उहाँले आग्रह गर्नुभयो । 

निर्वाचन आचारसंहितामा सञ्चार पत्रकारले कसैको पनि पक्ष वा विपक्षमा लेख्नु हुँदैन । फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव, इन्स्टाग्रामजस्ता माध्यमको प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न र सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने पनि उहाँको भनाइ छ । 

अध्यक्ष बस्नेतका अनुसार, गलत, भ्रामक चरित्रहत्या हुने लाञ्छनालगाउने मानहानि हुने वा निर्वाचनलाई प्रभाव पार्ने सामग्री सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामासमेत आँच पुग्ने हुन्छ । यस्ता कार्य नगर्न नगराउ आयोगले पनि आग्रह गरेको छ ।

केही चुनावको सामग्री, विचार, एकपक्षीय, पूर्वग्राही, द्वेषपूर्ण, एक–अर्कालाई गाली गर्ने, अस्वस्थ पत्रकारिता भएको कुरा काउन्सिलको अनुगमनमा देखिएको भन्दै त्यसता मिडियालाई काउन्सिलले ध्यानाकर्षण गराउने, नदोहो¥याउनका लागि आग्रह गर्नेलगायतका कामहरु गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले आचारसंहिताको पालना गर्दै सत्यतथ्य, निष्पक्ष र तटस्थ सूचना सम्प्रेषण गर्नु पत्रकारको मूल दायित्व रहेकाले त्यतातिर ध्यान दिन सबै पत्रकारलाई आग्रह गर्नुभयो ।

यस्तै, राजनीतिक दल, दलका भ्रातृ सङ्गठनका लागि पनि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । आचारसंहिताको परिच्छेद–४ मा राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचारसंहिता तय गरिएको छ । 

जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरणका रुपमा गर्न हुने र नहुने विषय स्पष्ट पारिएको छ । निर्वाचनमा बढ्दो खर्च नियन्त्रण गर्न भड्किलो प्रचारशैलीलाई रोक पनि लगाइएको छ । 

सार्वजनिक स्थान तथा कसैको निजी घरमा अनुमति नलिई प्रचार सामग्री टाँस्नसमेत नपाइने छ । आयोगले यस्ता सामग्री सामाजिक सञ्जालमा फैलाउनेलाई निर्वाचन आचारसंहिता, निर्वाचन आयोग ऐन र निर्वाचन कसुर सजाय ऐनसहित प्रचलित कानूनअनुसार कानूनी कारबाहीको चेतावनी दिएको छ ।

आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन आयोग ऐनले एक लाख रुपियाँसम्म जरिवाना र उम्मेदवारबाट कसुर भएको अवस्थामा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने व्यवस्था छ । 

आयोगको ध्यानाकर्षण

यसैबीच, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७८ को उलङ्घन हुने गरी कतिपय सञ्चारमाध्यमले विभिन्न दल र उम्मेदवारका पक्ष र विपक्षमा तथा यो या त्यो पक्षले जित्ने वा हार्ने भन्ने जस्ता पूर्वानुमान गर्ने प्रकारका सामग्रीसमेत प्रकाशन र प्रसारण गरिरहेकामा आयोगको ध्यानाकर्षण भएको छ । 

आयोगले प्रेस काउन्सिल नेपालको सहयोगमा सञ्चारमाध्यमहरुका निर्वाचनसँग सम्बन्धित सबै सामग्रीको नियमित अनुगमन गरिरहेको र निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिता विपरीतका कुनै पनि साम्रग्री प्रकाशन तथा प्रसारण नगर्न नगराउन आयोग सबै सञ्चारमाध्यमलाई पुनः आग्रह गरेको छ । 

साथै आचारसंहिताविपरीत सामग्री दिने कुनै पनि सञ्चारमाध्यमबारे जुनसुकै माध्यमबाट आयोगमा उजुरी दिन सम्बन्धित सबै पक्षमा आयोग अनुरोध पनि गरेको छ ।