• २ साउन २०८१, बुधबार

सिमलताल पहिराे : नारायणीमा हराइरहेका यात्रु खाेज्न सेना परिचालन

blog

मीना कँडेल

कावासोती, साउन २ गते । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा बेपत्ता भएका यात्रुको खोजी गर्न नवलपुरमा सेना परिचालन गरिएको छ । कावासोतीमा रहेको सेनाको वन तथा पर्यावरण निर्देशनालय अन्तर्गतको कमाण्डमा चितवन निकुञ्ज र नवलपुरको अमलटारीमा रहेको सेनालाई प्राविधिक जनशक्तिसहित परिचालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गत शुक्रबार पहिराेमा परी त्रिशूली नदीमा बेपत्ता भएका यात्रीहरु नवलपुरको नारायणी नदीसहित त्रिवेणीसम्म पनि नभेटिएकाले नारायणी नदीमा बगेका शव खोज्न मोटरबोटसहित  सेना परिचालन गरिएकोे बताउनुभयो । उहाँले भन्नुभयो, "नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने बोटे, माझी समेतलाई शव खोज्नका लागि भनिएको छ, बस्तीभन्दा अहिले जङ्गल क्षेत्रमा पनि खोजी कार्यलाइ तीव्रता दिँदै सैनिक टोली परिचालन गरिएको छ । मोटरबाेट र पैदल समेत सैनिक टोलीले काम गर्नेछ ।" 

चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती र नवलपुरबाट सेनाको वन तथा पर्यावरण निर्देशनालयबाट सेना खटाइएको उहाँले बताउनुभयो । चितवनको सिमलतालबाट बगेका शव नारायणीमा आउने भएकाले खोजतलास प्रभावकारी बनाउन सेना खटाइएको हो । 

नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा बेस प्रगतिनगरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा खटाइएको छ । सशस्त्र प्रहरी नम्बर ३१ गुल्म नवलपुरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैँडाकोट नगरपालिका–१० को इलाकामा परिचालित भएका छन् ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिवेणीबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक ब्यारेज इलाका, सुरक्षा बेस चोरमाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली छ । सशस्त्र प्रहरी नम्बर २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक ब्यारेज इलाकामा खटाइएको छ ।   

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसका यात्रुमध्ये हालसम्म १८ वटा शव भेटिएको छ । त्यसमध्ये १३ वटा नवलपुरमा, एउटा पश्चिम नवलपरासीमा र बाँकी चितवनमा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । अन्य शव र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । 

खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न सकेका छैनन् । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।