• १ साउन २०८१, मङ्गलबार

नम्बरी सुनले सुनै उपहार दिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १ गते । चलचित्र ‘नम्बरी सुन’ ले १२ दर्शकलाई सुन उपहार दिने घोषणा गरेर प्रचारको नयाँ शैली अपनाएको छ । तथापि, सुनचाहिँ के, कस्तो, कति दिने हो ? त्यो खुलाइएको छैन । सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सो चलचित्र साउन तेस्रो साताबाट सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी थालिएको छ । ललितपुरस्थित झम्सिखेलमा सोमबार चलचित्र युनिटले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । 

सुन व्यवसायीसमेत रहेका चलचित्रका प्रस्तुतकर्ता नारायण खातीका अनुसार १२ जना दर्शकलाई सुन उपहार दिइने छ । खल्ती एपबाट चलचित्र ‘नम्बरी सुन’ को टिकट काट्ने पाँच जना र त्यसभन्दा बाहिरका सात जना दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गरिने छ । लक्की ड्रमार्फत भाग्यमानी उपहार विजेता सार्वजनिक गरिने जनाइएको छ । 

चलचित्र निर्देशक राजु गिरीले फिल्मले झन्डै ७० वर्ष अघि घर घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने जानकारी दिनुभयो । चलचित्रकी नायिका नम्रता सापकोटाले चलचित्रमा आफूले प्रेम प्राप्त गर्न सङ्घर्षरत ग्रामीण युवतीको भूमिका निर्वाह गरेको बताउनुभयो ।

चलचित्रमा विनोद न्यौपाने, गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कङ्गना गिरीलगायतको अभिनय छ । चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व र गौतमराज खड्काको सम्पादन रहेको छ ।