• १६ भदौ २०८१, आइतबार

स्थानीय तह निर्वाचन

चुनावी चर्चाको केन्द्र भरतपुर महानगरपालिका

blog

भरतपुर, वैशाख १९ गते । स्थानीय तहको निर्वाचनका सन्दर्भमा चितवनको भरतपुर महानगरपालिका यतिबेला सर्वाधिक चर्चामा छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेनु दाहाल, नेपाली काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल र प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको उम्मेदवारीले यस महानगरपालिकाप्रति सबैको ध्यान र चासो बढेको हो । महानगरपालिका प्रमुखका लागि विभिन्न दल र स्वतन्त्र गरी २७ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन कार्यालय चितवनका अनुसार यस पटक भरतपुरमा ९६ हजार ८६७ महिला र ८८ हजार ८८४ पुरुष गरी कुल एक लाख ८५ हजार ७५२ मतदाता रहेका छन् । उपप्रमुखमा सत्ता गठबन्धनका तर्फबाट काँग्रेसका चित्रसेन अधिकारी, एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी विमला गुरुङलगायत चुनावी प्रतिस्पर्धामा रहनुभएको छ । महानगरप्रमुखका लागि प्रतिस्पर्धी मुख्य तीन उम्मेदवारसँग गाेरखापत्रबाट गरिएको कुराकानी प्रस्तुत छ:

नमुना सहर बनाइनेछ

रेनु दाहाल, सत्ता गठबन्धनका उम्मेदवार

गठबन्धनका तर्फबाट जित्ने धेरै आधार छन् । हामी टेस्टेट उम्मेदवार हौँ । हामीले पहिलो पाँच वर्ष राम्रो काम गरेका छौँ । महानगरमा धेरै पूर्वाधार बन्दै छन् । यी पूर्वाधारलाई पूरा गर्न पनि दोस्रो पटक प्रमुखको जिम्मेवारी लिनुपर्ने अवस्था बनेको हो । 

महानगरमा सडक निर्माणमा ठूलो उपलब्धि हासिल गरेका छौँ । ६२२ किलोमिटर सडक कालोपत्रे गर्यौँ । मुख्य–मुख्य सडक, लिङ्क सडक, राजमार्ग, हुलाकी सडक बनाएका छौँ । सभा गृहको निर्माणको काम अगाडि बढेको छ । अन्तर्राष्ट्रियस्तरको खेलमैदान गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणको काममा सरकारले स्वमित्व लिएर अगाडि बढाउँदै छ । 

भरतपुरलाई एसियाली मापदण्डको नमुना सहर बनाई देशकै हेर्न लायक महानगर बनाउने योजनामा छौँ । नारायणीमा समुद्री किनारको झल्को दिनेगरी विकासको योजना महानगरले अगाडि सारेको छ । यसलाई पूर्णता दिनु छ । महानगरको विकासका लागि गुरुयोजना बनेको छ ।

सहरी योजना तयार गर्नेछौँ

विजय सुवेदी, एमालेका उम्मेदवार 

चुनावी माहोल राम्रो छ । विकासको एजेन्डामा विजय सुवेदीको खोजी हरेक दलका नेता कार्यकर्तामा छ । त्यसैले मैले चुनाव जित्ने आधार नै त्यही हो । मतदाताले व्यवस्थित सहरी योजना बनाउन सक्ने क्षमतावान् नेताका रूपमा मलाई देख्नुभएको छ । 

हरेक आन्दोलनमा चितवनले नेतृत्व गरेको छ । हरेक नयाँ कुराको सुरुवात चितवनबाटै हुन्छ । चितवनले चहिँ सबै राजनीतिक दलहरू मिलेर सबै नागरिक मिलेर भरतपुर महानगर समृद्ध महानगर बनाउने सपना चितवन वासीको छ । त्यो पूरा हुन्छ । त्यसका लागि हामीलाई मतदान गर्नुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छौँ । 

महानगर, राप्ती र नारायणी नदी तथा समथर भूमि छन् । यहीभित्र हामीले सहरी योजना तयार गर्नेछौँ । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सहर बनाउने मेरो अवधारणा छ । सबै नागरिकको अभिलेखीकरण गरेर गरिब अपाङ्गता भएका नागरिकको जिम्मा महानगरले लिनेछ । गरिबीको रेखामुनि भएका नागरिकको जिम्मा महानगरले लिन्छ । ज्येष्ठ नागरिक र बालबालिकाको संरक्षण गर्नेछ । काम गर्न योग्य सक्षम प्रत्येक नागरिकलाई भरतपुर महानगरको विकास निर्माणमा गुरुयोजनाअनुसार परिचालन गरिनेछ । स्वच्छ हरियाली समृद्ध मानवीय महानगर भरतपुर बनाइनेछ ।  

सुशासनको प्रत्याभूति गराउँछु

जगन्नाथ पौडेल, स्वतन्त्र उम्मेदवार

चुनाव जित्ने आधार बन्दै छ । नेपाली काँग्रेसको मत काँग्रेसको भावना बोकेको मान्छेलाई नआए कहाँ आउँछ ? आज काँग्रेसले बाटो बिराएको छ । नेपाली काँग्रेसको विधानमा तीनवटा कुरा छ । काँग्रेस विधानले रुख चिह्न चिन्छ, काँग्रेस विधानले चार तारे झन्डा जान्दछ । नेपाली काँग्रेसको विधान हरेक तहका नेता कार्यकर्ताले पालना गर्छ भन्छ । नेपाली काँग्रेसको विधानमा कहाँ छ काँग्रेसको केन्द्रीय समितिले हँसिया हथौडामा भोट हाल्न पर्छ भन्ने निर्णय गर्ने अधिकार ? 

आमजनताले मेरो पक्षमा मतदान गर्ने आधार देखिएको छ । सुशासनको प्रत्याभूति गराउने र अस्तव्यस्त भरतपुर महानगरका भ्रष्टाचारका हरेक नाकाहरू म बन्द गराउँछु । करको सस्तो दरमा अधिकतम सुविधा दिने कार्य गरिनेछ । भरतपुरभित्र आउने नागरिकलाई सामाजिक न्याय दिइनेछ । पक्षपात गर्दिनँ । 

Author

वसन्त पराजुली