• ४ वैशाख २०८१, मङ्गलबार

दस महिनामा एकान्नब्बे जना पक्राउ

blog

कल्याणपुर समाचारदाता/वीरगञ्ज समाचारदाता

कल्याणपुर, वैशाख १९ गते । नेपाल प्रहरीका अनुसार दस महिनाको अवधिमा लागूऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता भएका छन् । यस अवधिमा ९१ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा आर्थिक वर्ष ०७८/७९ देखि हालसम्ममा दर्ता भएका उजुरीका पाँच जना आरोपित फरार छन् । पछिल्लो समय घरमै भण्डारण गरी लागूऔषध बिक्री गर्दै आएका एक युवालाई प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बोदेबर्साइन नगरपालिका–९, देउरीस्थित घरबाट लागूऔषधसहित पक्राउ परेका १९ वर्षीय शङ्कर यादवलाई सार्वजनिक गरेको छ । 

सप्तरी प्रहरीले आर्थिक वर्ष ०७६/७७ मा लागूऔषधसम्बन्धी ५१ उजुरी दर्ता गरी ७१ जनालाई पक्राउ गरेको थियो । जसमा तीन जना फरार छन् । यस्तै आर्थिक वर्ष ०७७/७८ मा ८८ वटा उजुरी दर्ता गरी १५३ जनालाई पक्राउ गरेको थियो । जसमा नौ जना फरार छन् ।

घरबाट लागूऔषध बिक्री–वितरण गर्दै आएको सूचना पाएर पुगेको इलाका प्रहरी कार्यालय कडरबोना र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले लागूऔषध बरामद गरी यादवलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार यादवको घरबाट एक हजार २५० ट्याब्लेट नाइट्रोभेट–१० तथा ७५०/७५० एम्पुल डाइजेपाम, फेनारगन र नुफिन बरामद गरिएको छ । 

पक्राउ परेका यादवलाई लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको प्रनाउ माधवप्रसाद काफ्लेले बताउनुभयो । लागूऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार लागूऔषध दुव्र्यसनीलाई दुई महिनासम्म कैद र दुई हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

गाँजासहित दुई जना पक्राउ

पर्साको परवानीपुर प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलीले ५३ किलो लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पछिल्लो समय घरमै भण्डारण गरी लागूऔषध बिक्री गर्दै आएका एक युवालाई प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ ।

गएराति वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० लालपर्सातर्फ गइरहेको ना ३ ख ६३८४ नम्बरको मिनी ट्रकमा छवटा पोकामा रहेको ५३ किलोग्राम लागूऔषध गाँजा बरामद भएपछि पर्सा प्रहरीले ट्रकसहित ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका ११ निवासी ४५ वर्षीय पूर्णबहादुर मोक्तान र ट्रकका सहचालक मकवानपुरकै गढी गाउँपालिका ४ निवासी २६ वर्षीय राज भुलन रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार शनिबार राति ११ः३० बजे लालपर्सातर्फ गइरहेको उक्त मिनी ट्रकलाई लिटिल फ्लावर बोर्डिङ स्कुल अगाडि चेक जाँच गर्दा उक्त परिमाणको लागूऔषध गाँजा बरामद भएको थियो । पक्राउ परेका दुई जनाउपर लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।