• १२ पुस २०८१, शुक्रबार

वाम्बुले घरको वास्तुकला

blog

घर भन्नासाथ बसोबास गर्न मान्छेले बनाएको घर भनेर बुझ्छौँ । गाई, भैँसी राख्ने गोठ, बाख्रा राख्ने खोर, बाघ बस्ने ओढार, चरा बस्ने गुँड, माछा बस्ने कुर आदि भने जस्तै सामान्य शब्द हो घर । यसको मूल्य, मान्यता, महत्त्व आआफ्नै हुने गर्दछ । जसलाई टाढैबाट चिनिन्छ कि यो घर किरात राईको हो । त्यसमा पनि वाम्बुले राईहरूको घर यही हो भनेर चिन्ने, जान्ने आधार अर्थात् वास्तुबारेमा यहाँ सङ्क्षिप्त चर्चा गर्न लागिएको हो ।

नयाँ घर

घरपरिवारमा नयाँ घर विभिन्न कारणले बनाइन्छ । पहिलो, बाबुबाजेका पालामा बनाइएको घर पुरानो भयो भने नयाँ बनाइन्छ । दोस्रो, घरमा छोरा, नातिहरू हुर्के, बढेर बिहे गरेर छुट्टिँदा नयाँ घर बनाइन्छ । दाजुभाइले पैतृक सम्पत्तिको अंशबन्डा गर्दछन् । तेस्रो, दैवीघटनाहरू जस्तै– आगजनी, भूकम्प गएर भौतिक संरचना विनाश भएमा नयाँ घर बनाइन्छ । ढुङ्गा, माटो, काठ, बाँस, खर आदि प्रयोग गरेर परम्परागत घरहरू निर्माण गरिन्छ ।

वाम्बुले राईहरूको घर सिर्जना कार्य आफ्नै शैलीमा हुने गरेको पाइन्छ । मुन्धुमको उत्पत्तिसँगै घरको बनोट आधार निर्माण हुन्छ । घर बनाउने भइसकेपछि केही कुरामा ध्यान पु-याइन्छ । कुन ठाउँमा घर बनाउने हो, ठाउँ रोजिन्छ । त्यो ठाउँ के कस्तो छ । राम्रो छ कि छैन भनेर चार सुरको माटो लिएर धामीलाई जोखना हेराइन्छ । (वैज्ञानिक पद्धति अनुसार घडेरीको माटो जँचाउने काम भने अहिलेसम्म भएको छैन ।) जग खन्ने बेला मङ्गलबार पार्नु हुँदैन भन्ने छ । खरो बार भएकाले त्यत्ति राम्रो मानिँदैन । त्यसै गरी काठ, बाँस काट्नको निम्ति सरिवन बार्ने चलन छ । जग खन्ने बेलामा मूलखाँबो गाड्ने ठाउँमा एउटा कुखुराको बलि दिएर पूजा गर्ने गरिन्छ । यसलाई ‘वाइलिङ्मो’ भनिन्छ । मूलखाँबो महìवपूर्ण हुन्छ । मूलखाँबो, दैलो, दलिनको महìव मुन्दुमसँग जोडिएको हुन्छ । घरको मूलखाँबो जत्तिको अरू कुनै पनि खाँबो, बलो आदिको महìव दिइन्न । खाँबोबिनाको घर हुन्न । 

घरको सेरोफेरो

घरको बाहिरी भित्ता माथि सेतो कमेरो पोतिएको हुन्छ भने तलको भाग रातो माटोले लिपिएको हुन्छ । खरको छानो हालिएको हुन्छ । अगाडितर्फ दैलो र सिकुवा हुन्छ । भित्र उज्यालोका निम्ति जस्केलो र झ्याल जोडिएको हुन्छ । भित्ताको गारोमा सानो सानो खोपी बनाइएको हुन्छ । जसलाई फिकल भन्छन् । त्यसमा सामान राख्ने गर्छन् । कतिपयमा देउताकै थानका रूपमा उपयोग गरेका हुन्छन् । घरको गारोमा हावा छिर्नका लागि ससाना प्वाल पारेर राखिएको हुन्छ । ती प्वालमा माहुरीको डुँडघर मिलाएर राख्ने गरेको पनि पाइन्छ । घरभित्रको खाँबाको चोके वा किलामा दुध दुहुने धुनेरी, दही जमाउने चलने र ठेकी, मोही पार्ने त्वाल्वाङ, मन्दनी, घिउ राख्ने गरियो र हार्पे आदि झुन्ड्याइएको हुन्छ । जस्केलानेर जाँतो राखिएको हुन्छ । त्यसमा मकै, कोदो, दलहन पिँध्ने गरिन्छ । घरको भित्ता गारोको बाहिरतर्फ छानोमुनि हलो, जुवा आदि ओतलगाएर राखिएको हुन्छ । छानोको मुनि पेरुङ्गोमा कोसे अन्नको बिउपल राखेर झुन्ड्याइएको हुन्छ । त्यसै गरी बाँसको ढोक्से भकारीभित्र अन्न भन्डारण गरिएको हुन्छ । खोल्मातर्फ धान, कोदो आदि कुट्नका निम्ति ढिकीको व्यवस्था गरिएको हुन्छ । काठको सुम्लो, ठिड्ली (ओख्ली) या भुइँ ओख्ली पनि हुन्छ ।

पँधेरोबाट पानी ल्याउन तामाको गाग्री, माटोको घैला, लौकाजन्य लहराको चिन्डो, टुम्बा, काक्रोम आदि प्रयोग गर्छन् । गाग्रीलाई घरको सिकुवा या दैलोको भित्रतर्फ मिलाएर राखिएको हुन्छ । भारी बोक्न डोको, थुन्से, सोलीको प्रयोग गर्छन् । अलि उचाइ लेकमा रहेका घरआँगनमा मकैको थाँव्रmा राखिएको हुन्छ भने बेँसीतिर घरभित्र तलामाथि मकैको भुत्ता झुन्डाएर राख्छन् ।

तीनचुला अँगेनु, पिलुम्बा र भार

किरातीको घर मुन्दुम परम्परा अनुसार बाँचिरहेका घरपरिवारका सदस्यहरू बस्नका लागि हो । त्योभन्दा पनि पितृपुर्खाहरूको आत्मा बासस्थान पनि हो । घरको भित्री भागमा तीनचुला अँगेनु रहन्छ । तीनचुलाको महìवपूर्ण स्थान छ । तीनचुलामा पितृपूजा गरिन्छ । तीनचुला अग्निदेवस्थान हो । फुचल सामा (पाखाङमालु) भन्छन् । पितृचुला र भान्साचुला एउटै पनि हुन सक्छ । वर्तमानमा भान्साका निम्ति अर्को आधुनिक चुला बनाउने चलन बढेको छ । तीनचुला अँगेनासामु माथि चोयाले बुनेको चौकुने भार (कुम्सी) झुन्ड्याइएको हुन्छ । यो भार पनि पितृस्थान हो । यसलाई पारुउपो (पारुहाङ) पुर्खाको बासस्थानका रूपमा लिइन्छ । अँगेनुको उत्तर–पश्चिम कुनामा ङेबे (उमो सामा) को थान रहेको हुन्छ । यसै गरी अँगेनुको तल्लो भागमा पिलुम्बा रहन्छ । पिलुम्बो÷ पिलुम्बा पितृस्थान हो । घरपरिवारको कुनै पनि सदस्यको सहज मृत्युपछि जङ्गल निकाल्नुभन्दा पहिले पिलुम्बामा राख्नु पर्छ । पिलुम्बातर्फ बस्न मिल्छ । तर त्यहाँ सुत्न मिल्दैन । नयाँ बाली पाकेपछि वाम्ला (न्वाँगी) पितृलाई पिलुम्बामा बोलाएर मुन्दुम गरिन्छ । मङ्सिरभरि गरिने गरिने पितृकार्यलाई वाम्ला (न्वाँगी) भनिन्छ भने पुसमा गरिनेलाई पुसे भनिन्छ । पितृलाई भागभुरो खुवाइन्छ । त्यसै गरी पितृकार्यहरू खाउमो, ल्याक्रो/ड्याको गर्दा पनि पितृलाई पिलुम्बामै बोलाएर विधिवत् रूपमा मानमनितो गरिन्छ । 

आँगनमा सुरिम

वाम्बुले घरको आफ्नै पहिचान छ । वाम्बुले राईहरूको आँगन महत्त्वपूर्ण हुन्छ । आँगनबिनाको घरको कल्पना गर्न सकिँदैन । घरको आँगनमा जोडी वा बिजोडी सुरिम (सालको मुड्का) गाडिएको हुन्छ । कुनै अपरिचित व्यक्तिले यो सुरिमको बारेमा नबुझ्दा समस्या आउने गरेको छ । वास्तवमा यसलाई किरातीबाहेक अन्य जातकाले हुँदैन भन्ने मान्यता छ । यसरी वाम्बुले राईहरूको घरको आँगनमा देखिने मुख्य सांस्कृतिक चिह्न हो, सुरिम । प्रमुख विशेषता पनि हो । 

यो सुरिम रहर गरेर आँगनमा काठको मुड्का गाडिएको होइन । तीन दिन दुई रातभरि मुन्दुम विधि पु-याएर पितृसंस्कार खाउमो गरेर मुन्दुमी नाक्सो (कुलगुरु), ङाबुचो (सहायक कुलगुरु), घरमुली, मूलदानी (जाउमो), हाँगादानी (ख्लिउमो), दाजुभाइहरू सबै जुटेर सामग्री जुटाएर खाउमा सम्पन्न गरिएको हुन्छ । खाउमोमा एउटा राँगा, एउटा ज्याँली सुँगुर, एउटा बुचो सुँगुर, चार जोडी कुखुराको भालेपोथीको बलि चढाइन्छ । धनुवाणले बलि दिइएको राँगाको दुवै सिङसहितको आधा टाउटो घरको दैलो सँघारमा टाँगिएको हुन्छ । राँगा र ज्यॉली ढालेसँगै झ्याम्टा बजाएर आँगनमा खाउमो सिली (नाच) विधिवत् प्रदर्शन गरिन्छ । यसरी कुलपितृ, पितृपुर्खालाई विधिवत् मुन्दुम स्थानमा राखेर सुरिमलाई आँगनमा गाडिएको हुन्छ । त्यसैले जोकसैले छुन मिल्दैन । 

देउदेउता 

वाम्बुले राईहरू घरभित्र अनेक देउदेउता हुन्छन् । जसलाई थान लगाएर चोखोनितो गरी सजाएर राखिका हुन्छन् । अनेक नामका हुन्छन् । थानमा सानो चिन्डो ठड्याएर राखिएको हुन्छ । बाँसले बारेर राखिएका हुन्छ । घरभित्र भुइँतलाको कुनामा हुन्छ । माथ्लो तलामाको कुनामा हुन्छ । माथि छानोमुनि पर्खालका आडमा झुन्ड्याएर राखिएको हुन्छ । घरको सँगै मटान वा खोल्मा बनाइएको हुन्छ । खोल्मालाई ग्वाली पनि भन्ने गरिन्छ । ग्वालीमा पनि देउदेउताको थान रहन सक्छ । गाई, भैँसीको बासस्थानमा पनि देउता लाग्न सक्छ ।

वाम्बुले राईहरू सुँगुर, बाख्रा, भेडा पाल्छन् । कुखुरा, हाँस पाल्छन् । सुँगुरले पूजा गर्नुपर्ने देउता छन् । बाख्राको बलि दिनुपर्ने देउता छन् । भेडाले पूजा गर्नुपर्ने देउता छ । कुखुरा या हाँस चढाउनु पर्ने, अण्डा चलाउनुपर्ने देउता छन् । यद्यपि बान्तावा, लुङखिम, साङपाङ, दुमी, कोयीलगायत राईहरूले बाख्रा पाल्दैनन् । बाख्राको मासु सेवन गर्दैनन् पनि । वाम्बुले राई समुदायमा बाखा पालिन्छ । बाख्राको मासु सेवन गरिन्छ । बाख्राको बोका या पाठीले देउताको पूजा पनि गर्छन् । अन्तरजातीय विवाहको कारण बाख्रा पाल्ने चलन चलको भन्ने छ । यद्यपि वाम्बुले समुदायमा पनि फेली, न्वाँगी, खाउमोका लागि जाँड पकाएको दिनदेखि घरभित्र बाख्राको मासु लान हुँदैन । र नाक्सोले पनि बाख्राको मासु सेवन गर्न नहुने मान्यता अझै कायम छ ।

गुलेली र बन्दुक

बर्खामासमा खोरिया बारीमा लगाइएका बालीनाली वन तस्कर, चराचुरुङ्गीले विनाश गर्न सक्छन् । त्यसै धपाउन, तर्साउन, सिकार खेल्नका निम्ति धनुकाँड, मट्याङ्ग्र्रा, गुलेली, भरुवा बन्दुकको बन्दोबस्त गर्ने गरिन्छ । भरुवा बन्दुकको दुई किसिमले उपयोग गर्ने गरिन्छ । पहिलो सिकार खेल्न र दोस्रो दसैँ, तिहार जस्ता चाडवाड र बिहे कार्जेमा हर्षबढाइँ गर्न घरेलु बारुद बनाएर पड्काउने गरिन्छ । २०५२ फागुनदेखि करिब दस वर्ष मुलुकमा सशस्त्र द्वन्द्व चर्किएपछि सरकारले यस्ताखाले भरुवा बन्दुक प्रतिबन्ध लगाएकाले अहिले खुल्ला रूपमा चलाउन छाडिएको छ । यद्यपि किराती जातिको पुर्खा सिकारी युगबाट गुज्रिएको हुँदा यी र यस्ताखाले सिकारीजन्य हतियारहरू घरमा राख्ने गर्दछन् । 

पितृकार्य खाउमो, ल्याक्रो (ड्याक्रो) गर्दा राँगा र ज्याँली सुँगुर धनुवाणले हान्ने चलन अहिले पनि कायम छ । खुँडा, खुकुरी, धनुवाण जस्ता हतियारलाई पुख्यौली सम्पत्तिका रूपमा लिने गरिन्छ । खुँडा, नाक्सो मुन्धुमीको महìवपूर्ण हतियार हो । यसलाई मुन्धुमी भाषामा गिज्वाग्वाज्वा भनिन्छ । 

निचोड, आधुनिक परिवेशमा ग्रामीण भेगमा पनि सिमेन्ट, रोडा, इँटा, फलामे डन्डी आदि प्रयोग गरेर घर बनाउने चलन बढेको छ । आधुनिकताले परम्परालाई केही धक्का दिइरहेको अवस्था भए पनि आदिवासी जनजातिहरू परम्परालाई चटक्कै त्याग्ने स्थितिमा छैनन् । किनभने राजनीतिक रूपमा पहिचानको विषय उजागर भएको छ । पहिचानको मूल विषय भाषा र संस्कृतिलाई ठानिन्छ । वाम्बुले राई समुदाय पनि त्यही चेपुवामा गुज्रिँदै अघि बढेको छ । खाँचो चाहिँ यो छ कि पहिचान भनेको सामूहिक विषय हो । यसको संरक्षण, संवर्धन, प्रवर्धनलाई सामूहिक रूपमा छलफल, बहस, कुरीति वा अन्धविश्वासजन्य परम्परालाई परिमार्जन कार्य समयसापेक्ष हुन सक्नु पर्छ । त्यो भइरहेको छैन । व्यक्तिवादी चरित्रमै समाज अघि बढिरहँदा जुन विषयलाई यसको ठेट मौलिकपन ठानिएको हो त्यो बिटुलो बन्दै जाने निश्चित छ । समाजका मुन्दुमी नाक्सोहरू, ङाबुचोहरू, मुन्दुमबारे जानकारी राख्ने पुर्खाहरूको पाउ बिस्तारै मेटिँदैछ । नयाँ पाइलाहरू गाउँदेखि सहरतिर मात्र लम्किएका छैनन् । कोही अरब, मलेसिया, युरोप, अमेरिका, जापान, क्यानडा, समुद्रमुनिको देश स्विजरल्यान्ड लगायततिर बरालिएको अवस्था छ । वाम्बुले वास्तुशास्त्रलाई केही अक्षरमा मात्र सीमित हुने खतरा बढेको छ ।मधुपर्क