• १५ मंसिर २०८१, शनिबार

कामपाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २६ गते । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । राष्ट्रिय सभागृहमा मङ्गलबार बसेको महानगरपालिकाको नगर सभाको १५ औँ अधिवेशनको पाँचौँ बैठकले महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम संशोधनसहित सर्वसम्मत पारित भएको हो । महानगर प्रमुख शाहले जेठ ३२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

महानगर प्रमुख शाहले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा वडा नं. १७ का वडाध्यक्ष नवीन मानन्धर, वडा नं. ३२ वडाध्यक्ष नवराज पराजुली र वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले संशोधन प्रस्ताव तयार गर्नुभएको थियो । उहाँहरूले प्रस्तुत गर्नुभएको संशोधन प्रस्तावमाथि छलफल गरी नीति तथा कार्यव्रmम पारित गरिएकोे थियो । यसैबिच महानगरपालिकाको न्यायिक समिति र लेखा समितिको प्रतिवेदनसमेत पारित भएको छ ।

यसैबिच ललितपुर महानगरपालिकाले आगामी आव २०८१/८२ देखि महानगर क्षेत्रलाई प्रदूषणरहित महानगर बनाउने नीति लिएको छ । महानगरपालिकाको आगामी आवको नीति, कार्यक्रम र बजेटबारे जानकारी दिन मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । 

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रदूषणरहित महानगरपालिका निर्माण गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग समन्वय गरिने जानकारी दिनुभयो । उहाँका अनुसार सुक्खा मौसममा काठमाडौँ उपत्यकामा प्रदूषण तीव्र गतिमा बढ्दै गएपछि प्रदूषण न्यूनीकरण गर्नका लागि महानगरपालिकाले प्रदूषणरहित महानगर बनाउने नीति लिएको छ । उहाँले भन्नुभयो, “महानगरपालिकाले बनाएको नीति एवं योजना पूर्ण रूपमा कार्यान्वयन गर्न सबै जनप्रतिनिधि र कर्मचारीले उच्च प्राथमिकताका साथ काम गर्ने छन् ।” उहाँले उक्त नीति तथा योजना कार्यान्वयन गर्न महानगरपालिकाले आगामी आवका लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपियाँको बजेट निर्माण गरेको बताउनुभयो । 

महानगरपालिका क्षेत्रभित्र ४० माइक्रोनभन्दा कम प्लास्टिकका झोला निषेध गर्ने, महानगरपालिकाभित्र टिप्पर सञ्चालनलाई व्यवस्थित गर्ने र टिप्परको चक्कामा रहेको फोहोर सफा गर्ने प्रविधि सञ्चालनमा ल्याउने नीति महानगरपालिकाले बनाएको छ । महानगरपालिकाले सबै नगरवासीलाई स्वास्थ्य बिमा गर्न प्रेरित गर्न स्वास्थ्य बिमा नवीकरणबापतको ४० प्रतिशत रकम महानगरपालिकाले बेहोर्ने नीति महानगरपालिकाले बनाएको पत्रकार सम्मेलनमा जनाइएको छ । 

ऐतिहासिक सम्पत्तिका रूपमा रहेको खोकना, बुङ्मती, हरिसिद्धि र सुनाकोठी क्षेत्रलाई सांस्कृतिक एवं पर्यटकीय क्षेत्र घोषणा गर्ने, सामुदायिक विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षकसँग महानगरपालिकाले कार्यसम्पादन करार गरी शैक्षिक गुणस्तर सुधार गर्ने गरी महानगरपालिकाले यसअघि आगामी वर्षका लागि नीति नगर सभाबाट पारित गरेको थियो ।