असमानता कुनै व्यक्तिको व्यक्तिगत समस्या मात्र नभएर, यो समाजको साझा चुनौती हो । यसले समाजका केही व्यक्ति वा वर्गलाई मात्र विशेषाधिकार दिन्छ । धेरैलाई अवसर, स्रोत, र अधिकारबाट वञ्चित गर्छ । यसको प्रभाव व्यक्तिगत स्तरदेखि राष्ट्रिय प्रगति र सामूहिक नवप्रवर्तनसम्म चरम देखिन्छ । प्रणालीगत असमानता जारी रहँदा समाजले आफ्नो पूर्ण सम्भावना कहिल्यै हासिल गर्न सक्दैन ।
नेपाल जस्ता विकासोन्मुख मुलुकमा स्रोतको अभाव र संरचनागत कमजोरीले यो समस्या झन् जटिल बन्दै गएको छ । शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र सामाजिक अधिकारमा समान पहुँचको अभावले व्यक्तिलाई मात्र होइन, समग्र राष्ट्रको प्रगतिलाई अवरोध गरेको छ । यहाँ प्रणालीगत असमानताको जरा, यसले समाजको प्रगतिमा पार्ने प्रभाव, यसको समाधानका सम्भावनालाई केलाउने प्रयास गरेका छौँ ।
प्रणालीगत असमानताको जरा
प्रणालीगत असमानता कुनै आकस्मिक अवस्था होइन । यो समाजको आर्थिक, सामाजिक, र सांस्कृतिक संरचनामा गहिरो जरा गाडेर बसेको समस्या हो । इतिहासमा उपनिवेशवाद र साम्राज्यवाद जस्ता विभेदकारी व्यवस्थाहरूले समाजलाई जात, धर्म र क्षेत्रीय आधारमा विभाजित गरे । यी संरचनाले स्रोत र अधिकार केही वर्गमा सीमित राखेर अन्यलाई वञ्चित गरे ।
आज, पुँजीवादी प्रणालीले यो असमानतालाई झन् बलियो बनाएको छ । धनी वर्गले सम्पत्ति र उत्पादनका साधनमाथि नियन्त्रण कायम राख्दा श्रमिक वर्ग अन्याय र शोषणको चक्रमा फसिरहेको छ । आजको डिजिटल युगमा समेत गिग अर्थतन्त्र जस्ता नयाँ प्रणालीले अस्थिर र असुरक्षित रोजगारीलाई प्रोत्साहन गर्दै गरिब वर्गलाई थप दबाबमा पारेका छन् ।
शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा पनि असमानता स्पष्ट देखिन्छ । ग्रामीण विद्यालयमा आधारभूत स्रोत र संरचनाको अभावले बालबालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्न अवरोध गर्छ । विपरीत, सम्पन्न वर्गका बालबालिकालाई निजी विद्यालय र अन्तर्राष्ट्रिय पाठ्यव्रmमको फाइदा सहजै उपलब्ध हुन्छ । यो विभाजनले केवल व्यक्तिगत प्रगतिलाई मात्र होइन, समाजको नवप्रवर्तनशील क्षमतालाई पनि कुण्ठित गरेको छ ।
स्वास्थ्य सेवाको पहुँचमा पनि यस्तै विभेद छ । दुर्गम क्षेत्रका मानिस आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन् । निजीकरणको कारणले स्वास्थ्य सेवा महँगो बन्न पुगेको छ, जसले गरिब वर्गलाई जीवन रक्षा सेवाबाट टाढा राखेको छ ।
नवप्रवर्तन र सामूहिक प्रगतिमा असर
समाजको प्रगतिका लागि समान पहुँच अनिवार्य छ । जब स्रोतहरू केवल केही वर्गसम्म सीमित रहन्छन्, बाँकी वर्गले आफ्नो सम्पूर्ण सम्भावना उपयोग गर्न पाउँदैन । शिक्षा र स्वास्थ्य सेवामा असमानताको कारणले नवप्रवर्तनमा गहिरो असर पर्छ ।
गरिब समुदायका विद्यार्थीले गुणस्तरीय शिक्षाको अभावमा आफ्नो क्षमताको पूर्ण उपयोग गर्न सक्दैनन् । यस्तै आर्थिक असमानताका कारण धेरै साना व्यावसायिक योजना वा आविष्कारका विचार कहिल्यै अघि बढ्न सक्दैनन् । यसको विपरीत, ठुलो व्यावसायिक समूह, जसले पुँजी र बजारको सहज पहुँच पाउँछन्, नवप्रवर्तन र प्रगतिमा हाबी रहन्छन् ।
महिलामा देखिएको लैङ्गिक असमानताले पनि समाजको नवप्रवर्तनशील क्षमतालाई सीमित बनाएको छ । विज्ञान, प्रविधि र गणित जस्ता क्षेत्रमा महिलाको सहभागिता न्यून छ । ग्रामीण क्षेत्रमा महिला उच्च शिक्षा प्राप्त गर्न सक्दैनन्, जसले उनीहरूको सिर्जनात्मकता र योगदानलाई अवरुद्ध गरेको छ । यसरी समानताको अभावले केवल व्यक्तिगत प्रगतिलाई मात्र होइन, समाजको नवप्रवर्तनशील र प्राविधिक प्रगतिलाई पनि रोक लगाउँछ । समान अवसर र स्रोतहरूको सुनिश्चितताबिना समाजले आफ्नो
समग्र सम्भावनाको केवल सानो अंश मात्र उपयोग गर्न सक्छ ।
असमानता र सामाजिक अस्थिरता
प्रणालीगत असमानता केवल अवसरको अभावमा सीमित हुँदैन; यसले सामाजिक स्थिरता र सहकार्यलाई पनि कमजोर बनाउँछ । जब स्रोत र अवसरको असमान वितरणले सामाजिक विभाजनलाई गहिरो बनाउँछ, समुदायबिच विश्वास र सहकार्यको स्थिति हराउँदै जान्छ ।
इतिहासले देखाएको छ कि प्रणालीगत असमानताले ठुला आन्दोलन र विद्रोहलाई जन्म दिएको छ । फ्रान्सेली क्रान्तिदेखि ब्ल्याक लाइभ्स म्याटर आन्दोलनसम्म, यी घटनाले असमानताको गहिराइ र त्यसको सामाजिक प्रभाव उजागर गरेका छन् ।
कोभिड–१९ महामारीले पनि असमानताका दुष्प्रभावलाई सतहमा ल्यायो । कमजोर वर्ग स्वास्थ्य सेवा, रोजगारी, आवासबाट वञ्चित हुँदा उनीहरू झन् गरिबीको चक्रमा फसे । महामारीले देखायो कि असमानताले समाजको सङ्कट व्यवस्थापन क्षमतालाई समेत कमजोर बनाउँछ ।
त्यस्तै सामाजिक धु्रवीकरण र नीतिगत पक्षपात प्रणालीगत असमानताका थप दुष्परिणाम हुन् । सम्पन्न वर्गले स्रोत र नीतिमाथि नियन्त्रण जमाउँदा, कमजोर वर्गलाई झन् पछाडि धकेल्ने परिस्थिति बन्छ । यस्तो अवस्थामा, समाजको सामूहिक प्रगतिको लक्ष्य कहिल्यै हासिल हुन सक्दैन ।
समाधानका सम्भावना
प्रणालीगत असमानता अन्त्यका लागि दीर्घकालीन र ठोस सुधार अनिवार्य छन् । शिक्षामा समान पहुँच सुनिश्चित गर्दै, ग्रामीण विद्यालयको स्तर सुधार गर्नु पर्छ । स्वास्थ्य सेवामा सबै वर्गलाई समान पहुँच दिन दुर्गम क्षेत्रहरूमा पर्याप्त स्रोत र संरचना उपलब्ध गराउन आवश्यक छ । आर्थिक पुनर्वितरणका लागि प्रगतिशील कर प्रणाली र सम्पत्ति कर जस्ता उपाय प्रभावकारी साबित हुन सक्छन् । यी उपायले धनी वर्गबाट सङ्कलित करलाई सामाजिक सेवामा लगानी हुन सक्छ । न्यूनतम ज्याला र श्रमिकको अधिकार सुनिश्चित गर्दै, उनीहरूको आर्थिक सुरक्षालाई बलियो बनाउनु पर्छ ।
समाजमा लैङ्गिक, जातीय, र क्षेत्रीय विभेद हटाउन शिक्षा र सञ्चार माध्यमबाट जनचेतना फैलाउनु पर्छ । महिला र वञ्चित समुदायका लागि छात्रवृत्ति र नेतृत्व विकासका कार्यक्रमले उनीहरूको सहभागिता बढाउन सक्छ । त्यस्तै समावेशी नीतिहरू, सुशासन र पारदर्शी प्रणालीले समानताको आधार निर्माण गर्न मद्दत पु¥याउँछ ।
निष्कर्ष
समाजमा प्रणालीगत असमानताको उपस्थिति केवल केही व्यक्तिका लागि समस्या होइन; यो समग्र सभ्यताको सामूहिक भविष्यका लागि गम्भीर चुनौती हो । जब अवसर र स्रोतहरू सीमित वर्गको हातमा मात्र रहन्छ, त्यसले प्रगतिका सम्भावनालाई अवरुद्ध गर्दै समाजभित्र अस्थिरता, विभाजन र असन्तुष्टिको बिउ रोप्छ । समानता र समावेशिताको सिद्धान्तलाई आत्मसात् नगर्ने हो भने, समाजले आफ्नो समग्र क्षमतालाई कहिल्यै उजागर गर्न सक्दैन ।
यस्ता समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य सेवा र रोजगारीमा समान पहुँचलाई सुनिश्चित गर्न संरचनागत सुधार र समावेशी नीति आवश्यक छन् । साथै, आर्थिक पुनर्वितरण, लैङ्गिक र जातीय विभेदविरुद्धको जनचेतना, र नीति निर्माणमा सबैका लागि समान प्रतिनिधित्वले मात्र दिगो परिवर्तन सम्भव बनाउन सक्छ । यी उपायले समाजलाई न्यायपूर्ण मात्र होइन, नवप्रवर्तनशील र समृद्ध पनि बनाउने छन् ।
प्रणालीगत असमानता अन्त्यको जिम्मेवारी केवल सरकारको मात्र होइन, समाजका हरेक व्यक्तिले यस प्रयासमा योगदान दिनु पर्छ । विभेदकारी सोच र प्रणालीको विरोध गर्दै, न्याय र समानताको संस्कृतिलाई आत्मसात् गर्नु हाम्रो साझा जिम्मेवारी हो । विशेष गरी निजी क्षेत्र र गैरसरकारी संस्थाहरूले वञ्चित वर्गलाई सशक्त बनाउन र उनीहरूको आवाजलाई मुख्य प्रवाहमा ल्याउन विशेष भूमिका खेल्नु पर्छ ।
समावेशितामा आधारित समाजले न केवल न्यायको प्रत्याभूति दिन्छ, यसले सामूहिक प्रगतिको आधार बनाउँछ । जब सबै वर्गले समान अवसर पाउँछन्, समाजको नवप्रवर्तन र सांस्कृतिक प्रगतिले नयाँ उचाइ हासिल गर्छ । यस्तो समाजमा प्रगति केहीको विशेषाधिकार नभई सबैको साझा उपलब्धि बन्छ । यस कारण प्रणालीगत असमानताको अन्त्य कुनै वैकल्पिक उपाय होइन; यो साझा भविष्य निर्माणको आधार हो । यो प्रक्रिया सजिलो नहुन सक्छ, प्रत्येक साना प्रयासले न्यायपूर्ण र स्थायी भविष्यतर्फको यात्रा सम्भव बनाउँछ । हामीले समानताको सिद्धान्तलाई व्यवहारमा उतार्दै, एक यस्तो समाज निर्माण गर्नुपर्ने छ, जहाँ हरेक व्यक्ति आफ्नो क्षमताको पूर्ण उपयोग गर्दै, साझा प्रगतिमा योगदान दिन सक्षम होस् ।