• ३० असार २०८२, सोमबार

धरान चतरा सडक खण्डका तीन पुल निर्माण

blog

मदन भण्डारी राजमार्ग अन्तर्गत धरान चतरा सडक खण्डमा निमार्ण गरिएको पुल । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की  

वराहक्षेत्र, असार ३० गते । धरान–चतरा सडक खण्डमा पर्ने तीन वटा पुल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको सडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा पुल निर्माणा गरिएको हो । 

निर्माणाधीन तीन वटा मोटरेबल पुलको ९५ प्रतिशत काम सकिएको भए पनि बाटोको काम बाँकी रहेको बताइएको छ । 

बहुवर्षीय योजना अन्तर्गत झापाको बाहुनडाँगीदेखि खुर्कोट हुँदै महाकालीसम्म १ हजार २ सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माणको काम अन्तर्गत पुलहरु निर्माण भइरहेको बताइएको छ । पुल निर्माणमा खटिएको ‘सूर्य एण्ड सन्स निमार्ण कम्पनीका इन्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । 

वर्षामा धरान चतरा सडक खण्डको बाघखोला तर्दा मानवीय क्षति हुँदै आएको थियो । पुल निर्माण भएसँगै भोजपुर, खेटाङ, उदयपुरका स्थानीयहरु स्वाथ्य, शिक्षा र कृषि उपज बिक्री वितरण गर्न धरान बजार जाने सडक सहज हुने भएको स्थानीय सन्तोष गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, पहिला पुल नहुँदा यात्रुहरुले वर्षौंदेखि वर्षामा सास्ती खेप्दै आएको सम्झना आउँछ । 

सूर्य एण्ड सन्स निर्माण कम्पनीका इन्जिनियर उमेश श्रेष्ठका  अनुसार लामो बाघ खोला पुलको काम ९५ प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ । रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएको कारण सुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम नहुँदा काम अगाडि बढ्न सकेको छैन । क्लियरेन्स भएपछि काम सुरु गरिने इन्जिनियर श्रेष्ठले भन्नुभयो । 

चार वटा मोटरेबल पुल निर्माणका लागि कम्पनीले भ्याटसहित रु. २१ करोड ७८ लाख ६३ हजार ७५० ठेक्का परेर २०७९ साल जेठ महिनामा निर्माण कार्य सुरु गरिएको थियो । पुलको छेउछेउमा फिनिसिङको काम मात्रै बाँकी रहे पनि अहिले तीनै वटा पुल सञ्चालनमा आइसकेका छन् । 

सडकको छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ कार्य रोकिएको छ । रुख व्यवस्थापन भएपछि बाँकी काम पनि छिट्टै सम्पन्न गरिने बताइएको छ ।