• ३० असार २०८२, सोमबार

इजरायली आक्रमणका क्रममा इरानी राष्ट्रपति पेजेस्कियानलाई चोट लागेको दावी

blog

इरानका राष्ट्रपति मसूद पेजेशकियान ।

तेहरान, असार ३० गते । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकलाई लक्षित गरी गत जुन १५ मा तेहरानमा भएको इजरायली हवाई आक्रमणका क्रममा इरानका राष्ट्रपति मसूद पेजेशकियान सामान्य घाइते भएको अलजजिराले जनाएको छ । 

आक्रमणका क्रममा पेजेस्कियानको खुट्टामा सामान्य चोट लागेको थियो र उहाँलाई आपतकालीन निकासबाट भाग्न बाध्य पारिएको थियो । “इजरायलले यो आक्रमणका  लागि मूल्य चुकाउनुपर्नेछ,” आक्रमणपछिको पहिलो प्रतिक्रियामा उहाँले भन्नुभयो । आक्रमणमा सरकारका तीन शाखाका प्रमुखहरूलाई लक्षित गरी उनीहरूलाई अपदस्थ गर्ने प्रयास गरिएको थियो । 

अल जजिराका अनुसार पश्चिमी तेहरानमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को उच्चस्तरीय बैठकलाई लक्षित गरी इजरायली आक्रमण गरिएको थियो, जहाँ राष्ट्रपति मसूद पेजेस्कियान र सरकारका कार्यकारी, विधायिका र न्यायिक शाखाका प्रमुखहरूसहित अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए । इजरायली आक्रमणमा भवनको प्रवेशद्वार र निकासमा छ वटा क्षेप्यास्त्र प्रहार गरी भाग्ने मार्गलाई अवरुद्ध गर्नुका साथै हावाको बहावसमेत बन्द गरिएको थियो । 

विस्फाेटपछि बिजुली काटिएको थियो, तर राष्ट्रपतिसहितका इरानी अधिकारीहरू पूर्व निर्धारित आपतकालीन प्वाल (ढोका) बाट भाग्न सफल हुनुभएको थियो । इजरायली स्राेतले राष्ट्रपतिलाई ढोकाबाट बाहिर निकाल्ने क्रममा खुट्टामा सामान्य चोट लागेको बताएको छ । अल जजीरा सञ्चार नेटवर्कका अनुसार अधिकारीहरूले ‘शत्रु’ सँग भएको गुप्तचर सूचनाको सटीकतालाई ध्यानमा राख्दै इजरायली जासुसहरूको सम्भावित उपस्थितिको बारेमा अनुसन्धान सुरु गरेका छन् ।

यसैबिच गत साता अमेरिकी सञ्चारमाध्यमका सदस्य टकर कार्लसनलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले इजरायलले उहाँको हत्या गर्न खोजेको बताउनुभएको थियो । के इजरायली सेनाले आक्रमण गरेको हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “ हो, तिनीहरूले प्रयास गरे तर तिनीहरू असफल भए ।” उहाँले अगाडि भन्नुभयो, “मेरो जीवनमाथिको आक्रमण प्रयासको पछाडि संयुक्त राज्य अमेरिकाको हात थिएन । त्यो इज्रायल थियो । हामीले सभा गरिरहेको ठाउँमा तिनीहरूले बमबारी गर्ने कोसिस गरे । आक्रमणका समय म बैठकमा थिएँ ।” 

इजरायलले जुन १३ मा इरानविरुद्ध एक्कासि बमबारी अभियान चलाएको र शीर्ष सैन्य कमाण्डर र आणविक वैज्ञानिकको मृत्यु भएको एक महिना पुग्नै लाग्दा राष्ट्रपति घाइते भएको खबर बाहिरिएको हो । इरानको फाउन्डेसन अफ मार्टर एन्ड भेट्रान्स अफेयर्सका अनुसार द्वन्द्वका क्रममा इरानमा कम्तीमा एक हजार ६० जनाको मृत्यु भएको थियो । 

इजरायली आक्रमणमा प्रतिशोधात्मक ड्रोन र क्षेप्यास्त्र प्रहार भएको र इजरायलमा २८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकाले युद्धविरामको मध्यस्थता गर्नुअघि इरानले इजरायली सेना र गुप्तचर मुख्यालयलाई ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोनद्वारा निशाना बनाएको थियो । रासस/एएनआई