• १५ मंसिर २०८१, शनिबार

विपश्यनाले सिकाएको पाठ

blog

ज्ञानीहरूको ज्ञान भूमि हो नेपाल–भारत । ध्यानीहरूको ध्यान भूमि हो नेपाल–भारत । नेपाल–भारतबिच भाषा, संस्कृति र सभ्यताको हजारौँ वर्ष लामो सम्बन्ध छ । समयको त्यो कालखण्डमा हाम्रा साझा महर्षि वेदव्यासले विश्वलाई ज्ञानको पहिलो पुस्तक दिनुभयो । नेपाल आमाका होनाहार सन्तान गौतम बुद्धले बोधी वृक्षमुनि बसेर प्राणी मात्रको हितका खातिर समर्पित हुने सङ्कल्प लिनुभयो । केही मानिस यस्ता हुन्छन् जो परिवारका निम्ति बाँच्छन् । केही मानिस परिवार, समाज र राष्ट्रको सीमाबाट बाहिर निस्केर सम्पूर्ण मानवजातिका निम्ति बाँच्छन् । गौतम बुद्ध एक त्यस्तै व्यक्ति हुनुहुन्थ्यो, जो व्यक्ति, समाज र राष्ट्रको सीमामा बाँधिएर रहन चाहनुभएन । व्यक्ति, समाज र राष्ट्रभन्दा माथि उठेर मानवजातिको साझा सम्पत्ति बन्नुभयो । 

बुद्ध ती मानिस हुनुहुन्थ्यो, जसले धर्मलाई जाति, समूह, सम्प्रदाय वा पन्थ विशेषबाट बाहिर निकालेर सार्वजनिक बनाउने प्रयास गर्नुभयो । धर्मलाई हिन्दु, मुस्लिम, बौद्ध, शिख, इसाई आदि–इत्यादिको सङ्कीर्ण मान्यताबाट मुक्त गरेर मानवजातिको साझा चासोको विषय बनाउनुभयो । बुद्ध जातपात, पन्थ, सम्प्रदायभन्दा पर हुनुहुन्थ्यो । बुद्ध धर्मले जातपात, छुवाछुतबाट प्रताडित लाखौँ– करोडौँलाई आश्रय दियो । बुद्ध कर्मकाण्डको विरोधी हुनुहुन्थ्यो । त्यसैले सम्प्रदायवादीले बुद्धलाई नास्तिकको संज्ञा दिए । श्रीमती र परिवारप्रति गैरजिम्मेवार, निर्मोही व्यक्तिका रूपमा चित्रित गरे । 

बुद्ध दर्शन सार्वजनिक प्राकृतिक धर्मसँग मिल्दोजुल्दो छ । प्रकृति सार्वजनिक छ । प्रकृतिले सम्पूर्ण प्राणीलाई एकछत्र मायाँ बाँड्छ । हावा यो भन्दैन कि म हिन्दुलाई मात्र प्राणवायु दिन्छु । सूर्य यो भन्दैन, म इसाईको आङमा मात्र ताप दिन्छु । पानी यो सोच्दैन म केवल इस्लामको धारामा प्रवाहित हुन्छु । धर्म त्यो होइन, जसले मानव जातिलाई खण्ड–खण्डमा विभक्त गर्छ र एकअर्काविरुद्ध लड्न उत्प्रेरित गर्छ । जुन धर्म सार्वजनिक हुन सक्दैन त्यो कुनै पन्थ विशेषको आध्यात्मिक अहम् हो । त्यसैले के काला, के गोरा, सबै वर्ण, सबै लिङ्ग, सबै जातिका मानिस बुद्धद्वारा प्रवाहित ज्ञानगङ्गामा नुहाएर आफूमा शुद्धीकरण ल्याउन चाहन्छन् । 

विपश्यना बुद्धको दार्शनिक मान्यतामा आधारित आध्यामिक विधा हो । यो दुई हजार पाँच सय वर्षअघि बुद्धले तपस्याका क्रममा प्राप्त गरेको अनुभवमा आधारित छ । यसले सिद्धान्तभन्दा व्यवहारमा जोड दिन्छ । यो ढोँगी, आडम्बरपूर्ण कर्मकाण्डको खिलाफमा छ । विपश्वीको चर्चा ऋग्वेदमा पनि भएको बताइन्छ । विपश्यनाको अर्थ आफूभित्र तटस्थ र सचेतभावले हेर्नु हो । विपश्यना ध्यान विधिलाई आमजनसमुदायमाझ पु¥याउने श्रेय चाहिँ बर्मामा जन्मिएका भारतीय मूलका व्यक्ति सत्यनारायण गोयन्कालाई जान्छ । उहाँले सन् १९६९ बाट भारतलगायत विश्वका विभिन्न मुलुकमा विपश्यना ध्यान प्रशिक्षण सुरु गर्नुभएको थियो । सन् १९२४ जनवरी ३० मा जन्मनुभएका गोयन्का सन् २०१३ मा यस संसारबाट बिदा हुनुभयो । 

उमेरले ६० पार गरिसक्दा यो वर्ष मलाई पनि विपश्यना अध्यात्मिक गङ्गामा नुहाउने रहर जाग्यो । ममा विपश्यना ध्यानको रहर जगाउने श्रेय चाहिँ नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘बुद्ध दर्शन र शान्ति क्षेत्र नेपाल’ विषयक विचार गोष्ठीलाई जान्छ । उक्त विचार गोष्ठीमा सहभागी भएपछि नै म विपश्यना ध्यान शिविरमा जाने निर्णयमा पुगेको हुँ । म विपश्यना ध्यान शिविरमा जाँदा र रहँदाको समय सारा नेपाल २०८१ सालको वडा दसैँ हर्षोल्लासका साथ मनाइरहेको थियो । मानिसहरू बाढी पहिरोले ध्वस्त सडकको परवाह नगरी आआफ्नो घर पुगिरहेका थिए । घर घरमा महाअष्टमी, रामनवमीको बलि दिइँदै थियो । मानिसहरू मान्यजनका हातबाट विजयादशमीको टीका–जमरा ग्रहण गरिरहेका थिए । म भने ती यावत् कुरालाई भुल्दै दैनिक १२ घण्टा ध्यान साधनामा लीन थिएँ । त्यो पनि लगातार ११ दिनसम्म । त्यसो त दसैँमा मासुभात खाने, टीका जमरा लगाउने कुरा विगत ६० वर्षदेखि गरिआएकै विषय थियो । त्यसैले सोचाइ आयो, ‘यो वर्ष मांसाहार र टीका जमराबिनाको दसैँ मनाउँदा के फरक पर्छ !’ 

विपश्यना ध्यान साधनाले यतिखेर विश्वका सचेत नागरिकको ध्यान आकर्षण गरिरहेको छ । विश्वभर यो साधना एउटै विधिबाट गरिन्छ । विपश्यनाको लक्ष्य मानिसलाई विचार शून्य होइन विकार शून्य बनाउनु हो । भारतको तिहाड जेलमा किरण वेदी नामी महिला जेल प्रमुख रहेको बेला सत्यनारायण गोयन्काको सहयोगमा विपश्यना ध्यान शिविर चलाइएको थियो । जसले कैदीहरूको अपराध मनोवृत्तिमा आमूल परिवर्तन ल्याउन सफलता प्राप्त ग¥यो । कतिपय कैदीले विपश्यना ध्यानको फलस्वरूप अपराधकर्मप्रति पश्चाताप गरे । पीडितलाई भेटेर माफी मागे । 

आत्म अनुभूति गर्न प्रेरित गर्नु र अनुभूतिमा जे प्रकट हुन्छ त्यसैलाई सत्य मानेर ग्रहण गर्नु विपश्यना ध्यान साधनाको मूल चुरो हो । ‘अरूले भनेको कुराको पछि नलाग । हरेक कुरालाई मनले जाँच, पर्ख र हेर । त्यसबाट जे निष्कर्ष निस्कन्छ त्यो मात्र ग्रहण गर । जीवन क्षण भङ्गुर छ । यहाँ नित्य वा स्थायी केही छैन । ब्रह्माण्डमा अस्तित्वमा रहेका सबै चिज परिवर्तनशील र नाशवान छन् । धर्तीमा जन्म लिने सबैले एक न एक दिन मर्नु पर्छ । यसर्थ कुनै पनि चिजसँगको अत्यधिक आशक्ति व्यर्थ छ । मृत्यु सास्वत सत्य हो ।’ विपश्यना दर्शनको मूल सार यही हो । विपश्यना ध्यान साधना सजिलो भने छैन । किन्तु दृढ अठोटका साथ समर्पित हुनेलाई असम्भव पनि होइन । हरेक बिहान चार बजेको घण्टीसँगै उठ्नु । नुहाइधुवाइ, दिसापिसाबपछि साढे चार बजे सामूहिक ध्यान कक्षमा गएर साधनामा सहभागी हुनु । साधकले प्रत्येक दिन १२ घण्टा विपश्यना ध्यान साधनामा बस्नुपर्ने हुन्छ । त्यसबिचमा धेरै जसो एक घण्टाको अन्तरालमा पाँच–सात मिनेटको विश्राम समय दिइन्छ । ध्यानमा बस्दा सकेसम्म हलचल नगरी बस्नु पर्ने हुन्छ तर शारीरिक अशक्तता भएकाले शरीर चलाउनै नपाउने चाहिँ होइन । शारीरिक अशक्तता भएकालाई तदनुसारको आसन उपलब्ध गराइन्छ ।

साधक साधिकाहरूले शिविर अवधिभर पञ्चशीलको पालना गर्नुपर्ने हुन्छ । चोरी नगर्नु, हिंसा नगर्नु, ब्रह्मचार्यको पालना गर्नु, झुटो नबोल्नु र मादक पदार्थको सेवन नगर्नु पञ्चशीलका पाँच सिद्धान्त हुन् । शिविरमा रहँदा दस दिन लामो मौन व्रत लिनुपर्ने हुन्छ । त्यस अवधिमा एकआपसमा कुरा गर्न पाइँदैन । महिला साधिका र पुरुष साधकको निवासस्थान फरक हुन्छ । पुरुषहरू महिलाकोमा र महिलाहरू पुरुष बसेको ठाउँमा जान पाइँदैन । आवश्यक परेमा आचार्य र धर्म सेवकहरूसँग प्रश्न सोध्ने समय छुट्याइएको हुन्छ । शिविरको दसौँ दिनको १० बजे मात्र मौन व्रत खुल्छ । मौन व्रत खुलेर एक आपसमा बोल्दा वा परिचय गर्दा मन खुसीले पुलकित हुन्छ ।

साधक–साधिकाहरूलाई सुरुको तीन दिन आनापान क्रिया गराइन्छ । आनापानको अर्थ सास नाकको प्वालबाट स्वाभाविक किसिमले भित्र–बाहिर गरेको हेर्नु हो । चौथो दिनपछि मात्र विपश्यना ध्यान आरम्भ हुन्छ । विपश्यनाको मतलब साधकले शरीरभित्रका यावत् गतिविधि तटस्थ भाव या दृष्टिले अवलोकन गर्नु हो । यस विधिमा साधकलाई शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्मका शारीरिक संवेदनाहरू नियाल्न सिकाइन्छ । सुरुका दिनमा मन एकदमै चञ्चल भएको र चार दिनपछिको विपश्यना ध्यानका समयमा चाहिँ तीन–चार मिनेटसम्म मनलाई स्थिर राख्न सकेको मेरो अनुभव छ । 

विपश्यनामा सहभागी हुन चाहनेले तोकिएको अनलाइन पोर्टलमा गएर फाराम भर्नुपर्ने हुन्छ । फाराम भरेको केही दिनमा सोको जानकारी आउँछ । त्यसको केही दिनमा फाराम स्वीकार भए नभएको सूचना दिइन्छ । सोधपुछ र सूचना दिने क्रम विपश्यना शिविरमा जानु सात दिनअघिसम्म चलिरहन्छ । विपश्यना ध्यान साधनामा जानेहरूलाई पूरा शरीर छोपिने, चमकधमकविहीन खुकुला लुगा लगाउन भनिएको हुन्छ । साधक–साधिकाहरूलाई नियमित सेवन गर्ने औषधी नछुटाउन स्मरण गराइन्छ । शिविरमा डाक्टरको व्यवस्था पनि हुन्छ । साधक जुनसुकै मतको किन नहोस् शिविर अवधिभर उसले आफ्नो धार्मिक मतलाई स्थगित गर्नुपर्ने हुन्छ । साधकले विपश्यना अवधिभर शिविरसमक्ष एक किसिमको आत्मसमर्पण नै गरेको हुन्छ । 

शिविरको अन्तिम दिन स्वैच्छिक दानको व्यवस्था मिलाइएको हुन्छ । यसमा साधक–साधिकाहरूले इच्छा अनुसारको रकम दान गर्छन् । दान यतिनै दिनु पर्छ भन्ने हुँदैन । खाना दिनको तीन पटक दिइन्छ र त्यो निकै गुणस्तरीय हुन्छ । दिनको अन्तिम खाना बेलुका पाँच बजे दिइन्छ । यो खाना हलुका प्रकारको  हुन्छ । नास्ता बिहान साढे ६ बजे दिइन्छ । नास्ता भने पनि मेरा लागि त्यो पेट भरिने खालकै थियो । बिहान ११ बजे दालभात, तरकारी, दही, मिठाईसहितको खाना (लन्च) दिइन्छ । ठाउँठाउँमा तातो चिसो पानीको व्यवस्था गरिनु । भाँडा माझ्ने स्थान अभावले कोही रोकिन नपर्नु । बाथरुमसहितको सुत्ने कोठा उपलब्ध गराइनु यसका प्रशंसनीय पक्ष हुन् ।  

शिविरमा निर्माणको काम चलिरहेकाले बेलाबेलामा आउने आवाजले ध्यानमा बाधा पु¥याएको अनुभव पनि भयो । कतिपय मानिसले ध्यानका कारण राति निद्रा नपरेको पनि बताए । मलाई भने त्यस्तो खासै भएन । सुरुका तीन/चार दिन त अघिपछिभन्दा पनि राम्रो निद्रा प¥यो । त्यसपछिका दिनमा चाहिँ निद्रा केही कम परेको अनुभव भयो । एक जना साधक ध्यानमा बस्दा झाँक्री झैँ कामेको पनि देखियो । कतिपय मानिस ध्यान गर्न नसकेर शिविर छोडेर बिचमै भागेको पनि सुनिन्थ्यो । शिविरमा २५ देखि ४० वर्ष समूहका शिक्षित युवाको सहभागिता अत्यधिक थियो । विपश्यना जानुपूर्व म त्यहाँ उमेर ढल्केका मानिसहरूको बढी सहभागिता हुन्छ होला भन्ने सोच्थेँ । जुन गलत रहेछ । 

हरेक दिन शिविरको अन्त्यको समयमा सत्यनारायण गोयन्काको प्रवचन आउँछ । प्रवचनमा विपश्यनाको व्यावहारिक पक्ष सम्झाइन्छ । उहाँको प्रवचनले विपश्यनालाई गहिराइमा पुगेर बुझ्न मद्दत पु¥याउँछ । गोयन्का भन्छन्–‘विपश्यना मनको अपरेसन हो । यसर्थ शारीरिक अपरेसनमा जस्तै यसमा पनि व्यक्तिलाई बाह्य सङ्क्रमणबाट बचाउन निश्चित सीमाभित्र राख्नुपर्ने हुन्छ ।’ त्यही कारण साधक साधिकाहरूलाई शिविर अवधिभर बाहिरी सम्पर्क र भेटघाटमा पूर्ण बन्देज लगाइन्छ । मोबाइल र नगद पुगेकै दिन शिविर प्रशासनमा बुझाउनु पर्छ । त्यो शिविरको समापनसँगै फिर्ता पाइन्छ ।   

सारमा भन्नुपर्दा मनलाई कजाउने विधि हो विपश्यना । मनमा लगाम लगाउने विद्या हो यो । मान्छे मनको वशमा हुन्छ । मनले जता कुदायो उतै कुद्छ । मन अति चञ्चल हुन्छ । संसारमा काबुमा राख्न गाह्रो चिज भनेकै मन हो । जङ्गली जनावरलाई पक्रेर थुन्न सजिलो होला, मनलाई नियन्त्रणमा लिन मुस्किल हुन्छ । हिन्दु धर्म ग्रन्थमा अप्सराको छलमा पर्दा ठुला–ठुला ऋषिमुनिहरूको ध्यान भङ्ग भएको कथा आउँछ ।