सिद्धार्थनगर समाचारदाता
सिद्धार्थनगर, मङ्सिर १५ गते । बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम तीव्र पारिएको छ । आठ वर्षदेखि अलपत्र रहेको उक्त सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले सडक निर्माणको काम धमाधम गरिरहेको छ ।
साढे तीन किलोमिटरको छ लेन सडक विस्तार गर्नका लागि भ्याटसहित ३३ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । बुटवल बेलहियादेखि चिडियाखोलासम्म पर्ने छ लेन सडक अहिले भैरहवादेखि बुटवल चौराहासम्म भने निर्माण सम्पन्न भइसकेको छ ।
बावुल दर्शन मालिका जेभी भैरहवाका प्रतिनिधि नपिस अहमद खानले सडक निर्माणको काम राति र दिउँसो दुई सिफ्टमा गरिरहेको बताउनुभयो । साथै उहाँले जनशक्ति थप गरी एक वर्षभित्रै काम सक्ने गरी तीव्र गतिमा निर्माण गरिरहेको बताउनुभयो । चौराहाबाट मिलनचोकसम्म खानेपानी पाइपका कारण सात स्थानमा केही असहज भइरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “अहिले हामीले इलाका प्रशासन कार्यालयनजिकबाट निर्माणको काम सुरु गरेका छौँ । जनशक्ति थप गरेर दिउँसो र राति गरी दुई चरणमा काम गरी तोकिएको समयसीमाभित्रै सडक निर्माणको काम सम्पन्न गर्ने छौँ ।”
सुरुमा खाली रहेको ठाउँमा निर्माणको काम गर्ने र त्यसपछि अन्य ठाउँको काम गर्ने उहाँले जानकारी दिनुभयो । सडक निर्माण गर्दा धुलो हुने भएकाले धुलो उड्न नदिन पानी राख्ने बावुल दर्शन मालिका जेभी भैरहवाका सञ्चालक खानले बताउनुभयो ।
ठेक्का रद्द भएपछि बावुल दर्शन मालिका जेभी भैरहवासँग असोज १८ गते एक वर्षभित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले बताउनुभयो ।
फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने सूचना अधिकारी लम्सालको भनाइ छ । सडकमै नाइट स्टल राख्न मिल्ने गरी बनाइने ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयका प्रमुख जीवेन्द्र मिश्राले बताउनुभयो । बुटवल उपमहानगरपालिका, खानेपानी, दुरसञ्चार र विद्युत्सँग समन्वय गरेर काम गरिएको मिश्राको भनाइ छ ।
कञ्चनजङ्घा बिरुवा जेभीसँग विसं २०७३ चैत १७ गते २०७६ सालसम्ममा सडक विस्तार सक्ने गरी ५३ करोड ९७ लाख ९९ हजार चार सय रुपियाँमा ठेक्का सम्झौता भएको थियो तर आठ वर्षसम्म पटक पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत वैशाखमा सडक डिभिजन कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो ।