ललित बसेल
सुर्खेत, मङ्सिर १५ गते । कर्णाली प्रदेश योजना आयोगले कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मसौदा तयार पारेको छ । आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ का लागि सो मसौदा तयार पारी विभिन्न सरोकारवाला पक्षसँग सुझाव सङ्कलनसमेत गरिएको छ । आयोगले विभिन्न नौ वटा कार्यक्रमलाई प्रदेशको ‘गेम चेन्जर’ कार्यक्रमको नाम दिएको छ ।
जलविद्युत् उत्पादन, अर्गानिक तथा रैथाने कृषि उत्पादन, पर्यटन विकास (पर्यापर्यटन, धार्मिक पर्यटन, कृषि पर्यटन, साहसिक पर्यटन), उत्तर–दक्षिण रोड कोरिडोर (कर्णाली रेसममार्ग) लाई ‘गेम चेन्जर’ कार्यक्रम उल्लेख गरिएको छ । त्यसै गरी स्थानीय उत्पादनमा आधारित उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार, उद्यमशीलता तथा रोजगारी प्रवर्धन, नवप्रवर्तन र डिजिटल कर्णाली र युवा दक्ष, सक्षम, स्वस्थ र सबल मानव संसाधनलाई आयोगले ‘गेम चेन्जर’ कार्यक्रम मानेर काम गर्न सक्ने जनाइएको छ ।
मसौदामाथि सुझाव सङ्कलन गर्न आयोजित कार्यक्रममा मसौदा प्रस्तुत गर्दै प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले यी कार्यक्रमका लागि काम गर्ने प्रक्रिया पनि सार्वजनिक गर्नुभयो । यसमा प्रदेश सरकारको लगानी, प्रदेश तथा स्थानीय तह साझेदारी, विकास साझेदार र वैदेशिक सहयोग, सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रको लगानी र सहकारी, गैरसरकारी र समुदायसँग साझेदारी गरेर कार्यक्रम गर्न सकिने उहाँले बताउनुभयो ।