• १५ मंसिर २०८१, शनिबार

‘प्राविधिक जनशक्तिको सम्मान गर्नु पर्छ’

blog

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक चरक इन्स्टिच्युट अफ हेल्थ साइन्सद्वारा आयोजित कार्यक्रममा ।

पोखरा समाचारदाता  

पोखरा, मङ्सिर १५ गते । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले प्राविधिक जनशक्त्लिाई सहज र सम्मानजनक व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । चरक इस्टिच्युट अफ हेल्थ साइन्सले बिहीबार आयोजना गरेको कार्यक्रममा उहाँले मेडिकल कलेजले उत्पादन गरेको दक्ष युवा शक्तिलाई स्वदेशमै व्यवस्थापन गरेर विदेश पलायन रोक्न नीतिगत सुधारको आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “आत्मसम्मानसहितको व्यवस्थापन युवाको माग हो भन्ने कुरा राज्यले बुझ्नु पर्छ ।” 

उहाँले निजी क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन आफूले ध्यान दिने बताउँदै निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको ठुलो लगानी भएको भन्दै उहाँले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । युवा शक्तिले पनि राष्ट्रिय भावनालाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । उहाँले युवालाई विदेश पलायन नहुन आग्रह गर्दै स्वदेशमै अवसरको सिर्जना गरी आफ्नै माटोमा सेवा गर्नुपर्ने बताउनुभयो । 

गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आवधिक योजनाका साथ अगाडि बढेको स्मरण गर्दै मन्त्री पाठकले नीतिगत, कानुनी र संरचनागत क्षेत्रमा सुधार गर्ने उद्देश्यका साथ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गरेको बताउनुभयो ।