प्युठान समाचारदाता
प्युठान, मङ्सिर १५ गते । विभिन्न मेला, पर्व, विवाह, पूजाआजामा बज्ने पन्चैबाजा पछिल्लो समय हराउँदै गएको छ तर प्युठानका महिला पन्चैबाजा संरक्षण गर्न अग्रसर देखिएका छन् । पन्चैबाजा संरक्षणसँगै बाजा बजाउने सिप सिकेर आयआर्जनसमेत गर्न सकिने भएपछि महिला यसतर्फ आर्कषित भएका हुन् ।
मल्लरानी गाउँपालिका–२ का महिला यतिबेला पन्चैबाजाको तालिम लिन व्यस्त छन् । उनीहरूले विभिन्न बाजाका बारेमा जानकारी लिई बाजा बजाउन सिकिरहेका छन् । वडाले महिला सशक्तीकरणका लागि पन्चैबाजाको तालिम नै राखेपछि गाउँका महिला उत्साहित भएर तालिममा सहभागी भएका हुन् ।
१० दिने तालिममा महिलालाई बाजाका विभिन्न तालका बारेमा सिकाइएको प्रशिक्षक डिलबहादुर नेपालीले जानकारी दिनुभयो । “१५ वटा बाजाका तालबारे सिकाइरहेको छु,” उहाँले भन्नुभयो, “महिलाले ध्यान दिएर सिकिरहेका छन् ।” विशेष गरी विवाह र पूजामा प्रयोग हुने बाजाका तालबारे बढी जोड दिइएको छ । पन्चैबाजा बजाउन जाने गाउँघरदेखि सहरबजारसम्म प्रशस्त अवसर रहेको उहाँको भनाइ छ ।
जिल्लामा स्थानीय तहले पन्चैबाजा बजाउनका लागि विभिन्न समूहलाई तालिम दिने गरेका छन् । कतिपय स्थानमा महिला समूहले तालिम लिएपछि विवाह, पूजाआजालगायतका कार्यक्रममा पन्चैबाजा बजाएर आयआर्जनसमेत गर्न सकिने भएर तालिम लिन थालेको सहभागी निर्मला पौडेलले बताउनुभयो । तालिम लिएपछि गाउँमा समूह बनाएर पन्चैबाजा बजाउने पेसा सुरु गर्ने उहाँको भनाइ छ ।
स्थानीय तहले पन्चैबाजाको संरक्षण र महिलालाई सिप सिकाउन चासो देखाएका छन् । महिला सशक्तीकरणका लागि पन्चैबाजा तालिम आयोजना गरिएको मल्लरानी गाउँपालिका–२ का वडाध्यक्ष लेखबहादुर थापाले बताउनुभयो ।
जिल्लामा पुरानो लोकबाजा संरक्षणका लागि गरिएको प्रयास सराहनीय रहेको छ । स्थानीय तहले थालेको पन्चैबाजा संरक्षण अभियानमा महिलालाई आयआर्जनमा जोड्नसमेत टेवा पु¥याएको छ ।